नेपाली समय: ०८:१२:५५ बिहान
वि.सं २०८३ साउन ५   मंगलवार

के हो टुँडीखेल वृहत्तर गुरुयोजना? नवरात्रको पाँचौंदिनबाट नयाँ जीवन पायो रानीपोखरी ऐतिहासिक सम्पदाले

निर्माण सञ्चार, ५ कात्तिक, काठमाडौं

भूकम्प पछिको पुनर्निर्माणबाट रानीपोखरीले नयाँ जीवन पाएको छ । नवरात्रको पाँचौंदिन यसको उद्घाटन भएसँगै रानीपोखरीले नयाँ युगमा आफूलाई नयाँ रुपमा उभ्याउन सकेको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण सम्पन्न ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन् । 
मल्लकालीन शैलीमा पुनर्निर्मित रानीपोखरी परिसरमा आयोजित एक औपचारिक कार्यक्रममा राष्ट्रपति भण्डारीले ताम्रपत्र अनावरण गरेर यसको उद्घाटन गरेकी हुन् । 

उद्घाटन क्रममा राष्ट्रपति भण्डारीले बालगोपालेश्वर मन्दिरमा प्राणप्रतिष्ठा पूजाको आरती पनि लिएकी थिइन् भने पोखरीमा जल अर्पण पनि गरेकी थिइन् । 

  • मंसिरभित्र सिंहदरबार र पुसभित्र २२ तले धरहरा बनिसक्ने

  • रानीपोखरी एवं बालगोपालेश्वर मन्दिर पुनर्निर्माणमा २८ करोड खर्च

रानीपोखरी उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल एवं अन्य मन्त्रीहरुले पनि विभिन्न तीर्थस्थल तथा पवित्र नदीहरुबाट ल्याइएको जल चढाएका थिए । 

उद्घाटनपछि शुभकामना मन्तव्य दिदै राष्ट्रपति भण्डारीले विभिन्न समस्या र परिस्थितिसँग पौठेजोरी खेल्दै पुनर्निर्माण महाअभियानले निरन्तर गति लिएको स्मरण गरेकी थिइन् । 

राष्ट्रपति भण्डारीले ऐतिहासिक रानीपोखरीको पुरानै शैली, स्वरुप र प्रविधिमा जीर्णोद्धार एवं पुनर्निर्माण सम्पन्न हुनुले मुलुकको सम्पाद पुनर्निर्माणको लिएको उचाइ स्पष्ट भएको बताइन् । 

के हो टुँडीखेल वृहत्तर गुरुयोजना ?

राष्ट्रपति भण्डारीले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको वृहत्तर गुरुयोजना सरोकारवाला पक्षसँग समन्वय गरी कार्यान्वयनमा लैजान शुभकामना दिएकी छन् ।

उनले ‘पुनर्निार्माण हुँदै गरेको धरहरा र यस गुरुयोजनाको कार्यान्वयनले काठमाडौँबासीलाई विशाल खुलाक्षेत्र उपलब्ध हुने’ बताएकी छन् । उनले भनिन्, ‘यसबाट साँस्कृतिक चाडपर्व मनाउन, खेल मैदानका रुपमा प्रयोग गर्न तथा स्वदेशी एवं विदेशी पर्यटकहरूका आकर्षणको केन्द्र बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ।’

मंसिरभित्र सिंहदरबार र पुसभित्र २२ तले धरहरा बनिसक्ने

कार्यक्रममा स्वागत मन्तव्य राख्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास, सम्पदालगायतका पुनर्निर्माणका विभिन्न क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । 

उनले भने, ‘यही मंसिरभित्र सिंहदरबारको मुख्य भागको पुनर्निर्माण सम्पन्न गरी प्रधानमन्त्री कार्यालय सार्ने लक्ष्यसहित काम गरिरहेका छौँ । यही पुसभित्र २२ तलासहित धरहराको मूल संरचना सम्पन्न गर्नेछौँ ।’

कार्यक्रममा उपस्थिति अन्य अथिति एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पदाधिकारी एवं कर्मचारीहरुले विभिन्न तीर्थस्थल तथा पवित्र नदीहरुबाट ल्याइएको जल पोखरीमा चढाएका थिए । 

त्यसअघि बालगोपालेश्वर मन्दिरको प्राणप्रतिष्ठा र क्षमा पूजा गरिएको थियो । 

कसरी बन्यो रानीपोखरी ?

रानीपोखरी निर्माण कार्य उपभोक्ता समितिमार्फत् तथा बालगोपालेश्वर मन्दिर, पुल र वरिपरिको सौन्दर्यकरण कार्य निर्माण व्यवसायीमार्फत् गरिएको हो । 

यस कार्यको डिजाइन तथा सुपरीवेक्षणका लागि विभिन्न विषयगत विज्ञहरुसहितका परामर्शदाता परिचालन गरिएको थियो । पुनर्निर्माणका लागि भक्तपुर नगरपालिका क्षेत्रबाट समेत कालिगढ ल्याइएको थियो । 

रानीपोखरी पुनर्निर्माणका सम्पूर्ण कार्यहरुको समन्वय, सहजीकरण एवं अनुगमनका निम्ति प्राधिकरणको नेतृत्वमा पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका, सम्पदाविद्हरु समेत रहेको समन्वय तथा अनुगमन समितिले गरेको थियो । 

रानीपोखरी एवं बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणमा करिब २८ करोड रुपियाँ खर्च भएको छ ।

प्राधिकरणले रानीपोखरीको पुनर्निर्माणलाई विस्तार गरेर यसलाई रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप, शहिदगेट र दशरथ रंगशालासँग एकीकृत गर्दै वृहत्तर गुरुयोजनाको खाका तयार पारेका छ जसलाई विभिन्न सरोकारवालाहरुको सुझावसहित अन्तिम चरणमा पुराएको छ । 

कुन कुन र कति कति समयमा बन्यो रानीपोखरी ?

    १७२६ – तत्कालीन कान्तिपुरका राजा प्रताप मल्लद्वारा निर्माण ।
    जंगबहादुर राणाद्वारा बेलायत भ्रमणपछि गुम्बज शैलीमा पुनर्निर्माण ।
    १९९० सालको भूकम्पबाटमन्दिरको गजुर भत्केपछि जुद्धशमशेर राणाद्वारा गुम्बज शैलीमै पुनर्निर्माण ।
    २०७२ बैशाख १२– गोरखाभूकम्पबाट क्षतिग्रस्त ।
    २०७२ माघ २ – भूकम्प सुरक्षा दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट रानीपोखरी पुनर्निर्माणको शिलान्यास ।
    २०७४ पुस १३ – काठमाडौं महानगरको कार्यपालिका बैठकद्वारा रानीपोखरीको पुनर्निर्माणबारे सुझाव दिन पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह गठन ।
    २०७४ माघ ७ –कार्की संयोजकत्वको समूहद्वाराबालगोपालेश्वर मन्दिरलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गर्नुपर्ने रायसहित प्रतिवेदन पेश । 
    २०७५ कार्तिक २० गते – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकद्वारा मल्लकालीन शिखर (ग्रन्थकुट) शैलीमा पुनर्निर्माण गर्ने निर्णय । 
    २०७५ माघ १४ –मन्त्रिपरिषद्द्वारा रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी ।
    २०७५ फागुन १५– रानीपोखरी लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्न रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन ।
    २०७५ फागुन १८ – रानीपोखरीको पिंध र पानी रहने वरिपरिको पर्खाल पुनर्निर्माणका लागि अजयरत्न स्थापितको संयोजकमा पाँच सदस्यीय उपभोक्ता समिति गठन ।
    २०७६ असार २४ – रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर र पुलको पुनर्निर्माण तथासौन्दर्यकरणका लागिसीए÷तुलसी कन्ट्रक्सन जेभीसँग ठेक्कासम्झौता ।
    २०७७असोज १५ –बालगोपालेश्वर मन्दिरको शीर्षमा१२३.७ केजी तामाबाट बनेको रसुनको जलप लगाइएको गजुर स्थापना ।
    २०७७ कात्तिक ५ – सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन ।

दरबार हाईस्कुल हस्तान्तरण

राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीसँगै रहेको दरबार हाइस्कुलको पुनर्निर्मित भवनको पनि उद्घाटन गरेकी छन् । राष्ट्रपति भण्डारीले भवनको मूल ढोकाछेउमा रहेको ताम्रपत्र अनावरण गरी विद्यालयको उद्घाटन गरेकी हुन् । 

भूकम्पबाट क्षतिग्रस्त विद्यालयको भवन पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पुर्याएकोमा राष्ट्रपति भण्डारीले चीन सरकारलाई धन्यवाद दिएकी छन् । 

कार्यक्रममा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल एवं अन्य विभिन्न मन्त्रीहरुको सहभागी थिए । विद्यालय उद्घाटन तथा हस्तान्तरण गर्न एक औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।

सो कार्यक्रममा विद्यालय भवन निर्माण गर्ने चिनिया कम्पनी सांघाई कन्सट्रक्सनका प्रतिनिधिले विद्यालयको साँचो पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हस्तान्तरण गरेका थिए । 

त्यसपछि उक्त साँचो काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरिएको थियो ।

चिनियाँ सरकारको ८५ करोड रुपियाँको सहयोगमा निर्माण भएको भव्य भवन चार तले छ । साढ ९ रोपनी क्षेत्रफलमा निर्मित नयाँ भवनमा ४५ वटा कोठा छन् ।

 

०००
 



प्रकाशित: २०७७ कार्तिक ५
October 21st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार