सुख्खा पहिरोका कारण दुई हप्तासम्म पनि खुलेन डोल्पा जोड्ने मुख्य सडक
निर्माण सञ्चार, २३ कार्तिक,काठमाडौँ ।डोल्पा जोड्ने मुख्य सडक अन्तर्गत पर्ने जाजरकोट–डोल्पा सडकखण्डको खदाङ्ग–त्रिवेणी खण्ड दुई सातासम्म पनि खुल्न सकेको छैन् । जसले गर्दा दुई सातादेखि सडक अवरुद्ध बनेको छ ।
त्रिपुरासुन्दरी नगरपालिका ५ मा पर्ने कुच्ची भिर नजिकै दुई सय मीटर माथिबाट खसेको भिषण सुख्खा पहिरोका कारण अवरुद्ध भएको उक्त सडक दुई साता बितिसक्दा समेत खुल्न नसकेको हो । निरन्तर रूपमा माथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन कठिनाइ भएको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ ।
पहिरो पन्छाउन एक सातादेखि दुईवटा डोजर प्रयोग गरिएको छ । तर, पहिरो खस्ने क्रम नरोकिएकाले काम गर्न नसकिएको त्रिपुरासुन्दरी–६ का सदस्य अमृत सार्कीले जनाए । ‘डोजरले माटो पन्छाएपछि फेरि पहिरो खसिहाल्छ, केहीबेरमै पहिरो खसेर जस्ताको तस्तै हुन्छ । काम गर्न निकै समस्या भएको छ,’ वडा सदस्य सार्कीले भने ।
पहिरो पन्छाउँदा पन्छाउँदै नगरपालिकाको डोजर आंशिक रुपमा पुरिएको र अर्को डोजर प्रयोग गरि निकालिएको वडा सदस्य सार्कीले बताए । सुक्खा पहिरोले ५० मिटर सडकमा पूर्ण रूपमा क्षति पुगेको छ । पहिरोले सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान ढुवानी गर्न दुई सातादेखि रोकिएको छ ।
जसले गर्दा उपभोग्य सामानको अभाव हुन थालेको छ । सडक अवरुद्ध हुँदा सहुलियतको चामल ढुवानी रोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, डोल्पाले जनाएको छ । शुक्रबार जोखिम मोलेर तीनवटा ट्र्याक्टर र केही गाडी पास भए पनि पनि फेरि अवरुद्ध भएको उनले बताए । सुख्खा पहिरोले सडक आसपासको पचास मीटर सडक पुर्ण रुपमा क्षति पुत्याएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
०००
प्रकाशित: २०७७ कार्तिक २३
०००
प्रकाशित: २०७७ कार्तिक २३
November 8th 2020
प्रतिक्रिया दिनुहोस्