नेपाली समय: ०१:५०:२२ अपरान्ह
वि.सं २०८२ मंसिर २२   आइतबार

देशकै दोस्रो ठुलो पेट्रोलियम भण्डारण गृहको शिलान्यास

निर्माण सञ्चार,२८ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले मुलुककै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह गण्डकी प्रदेशको पोखरामा  निर्माण सुरु गरेको छ । निगमको गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखरा गगनगौंडामा बन्ने भण्डारण गृह अमलेखगञ्ज पछिको ठूलो डिपो हुनेछ ।

एक करोड लिटर पेटोलियम पदार्थ भण्डारण क्षमता भएको डिपोको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडास्थित निगमको प्रादेशिक कार्यालय परिसरमा अमलेखगञ्जपछिको दोस्रो ठूलो भण्डारण गृहको बिहीबार  लेखराज भट्टले शिलान्यास गरे।

पोखरा महानगरपालिका वडा नम्बर २९ र ३० मा रहेको साविककै डिपोलाई सुदृढ गरेर नयाँ भण्डाण गृह निर्माण थालिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

सरकारले लिएको पेट्रोलियम भण्डारण क्षमता अभिवृद्धिको लक्ष्यलाई पूरा गर्न निगमले गण्डकी प्रादेशिक कार्यालयबाट भण्डारण क्षमता विस्तारको सुरूआत गरेको हो।

हरेक प्रदेशमा ९० दिनका लागि इन्धन भण्डारण क्षमताको डिपो निर्माण गर्ने सरकारको नीतिअनुसार पहिलो परियोजनाको रुपमा पोखरामा भण्डारण गृह निर्माण थालिएको पौडेलको भनाई छ । हालकै डिपो हाताको ७७ रोपनी क्षेत्रफलमा नयाँ भण्डारण गृह बन्ने निगमको भनाई छ ।

ठेक्का प्रक्रिया टुङ्गिएको र साइट क्लियरिङ समेत भइसकेकाले डिपो निर्माणले तीव्रता पाउने निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । 

हाल प्रदेशमा सात दिनकालागि डिजेल र दुई दिनको लागि मात्रै पेट्रोलको मौज्दात हुने भण्डारण गृह छ । नयाँ भण्डारण गृह निर्माण सम्पन्न भए डिजेलको भण्डारण मागको तुलनामा एक महिना र पेटोलको खपत १२ दिनलाई पुग्ने निगमले जनाएको छ ।

२०५८ सालपछि निगमले भण्डारण क्षमता विस्तार गर्न सकेको थिएन। यो योजना २०५८ सालपछि निगमको आफ्नै लगानीमा भएको पहिलो योजनासमेत हो। 


प्रदेशमा नयाँ भण्डारण गृह निर्माणका लागि दुई अर्ब खर्च गरेर जग्गा खरिद गर्न प्रदेश सरकारले थालेको प्रक्रिया रोकेर निगमले यो परियोजना अघि बढाएको जनाएको छ । पुरानै जमिनमा भण्डार गृह बनाउने निर्णयबाट दुई अर्व रूपैयाँ जोगिएका निगमको दाबी छ ।

भण्डारण गृहको निर्माणका लागि सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार ठेक्का प्रक्रिया सम्पन्न भइसकेको छ।

निगम सञ्चालक समितिका अध्यक्ष एवं आपूर्ति सचिव डा बैकुण्ठ अर्यालले गण्डकी प्रदेशबाट पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तारको काम सुरू भएको बताए।

इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले प्राविधिक अध्ययन गरेको हो । भण्डारण गृहको कुल निर्माण लागत ७७ करोड नेपाली रुपैयाँ हुने बताइएको छ । परियोजना दुईवर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

 

 

 

०००

 

 

 



प्रकाशित: २०७७ कार्तिक २८
November 13th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार