हुलाकी राजमार्गको ५७ प्रतिशत निर्माण सम्पन्न
निर्माण सञ्चार, १० मंसिर,काठमाडौँ । तराई– मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग विस्तारको काम ५७ प्रतिशत सम्पन्न भएको छ। निर्माण सम्पन्न भएका क्षेत्रमा यो सडक खण्डमा सवारीसाधनसमेत सञ्चालनमा आउन थालेका छन् । गत आर्थिक वर्षसम्म हुलाकी राजमार्गको भौतिक प्रगति ५५ प्रतिशत थियो। त्यसपछि ५७ प्रतिशत पुगेको निर्देशनालयका निर्देशक रोहित विसुराले जानकारी दिए। सरकारले १५ औं पञ्चवर्षीय योजनाअन्र्तगत आर्थिक वर्ष २०७९/८०मा सम्पन्न गर्ने लक्ष्य लिए पनि कोभिड–१९ र यस वर्षको वर्षाका कारण निर्माण सम्पन्न हुने समय पछि धकेलिएको छ ।
हुलाकी राजमार्गलाई स्तरोन्नति गरी पूर्व–पश्चिम जोड्ने वैकिल्पक मार्गका रूपमा विकास गर्ने उद्देश्य रहेको यो आयोजना आव २०६५र६६ मा सुरु गरिएको हो।
सरकारले हुलाकी राजमार्गलाई स्तरोन्नति गरी पूवपश्चिम जोड्ने वैकिल्पक राजमार्गको रूपमा निर्माण गर्ने लक्ष्यसहित ९ वर्ष अगाडि यो आयोजना सुरु गरेको थियो । हुलाकी राजमार्गलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा पनि समावेश गरेको छ ।
यो सडक खण्डमा निर्माण सम्पन्न भएर पूर्वमा झापा, मोरङ, हुँदै सुदूरपश्चिममा धनगढी, नेपालगञ्जका केही सडक खण्डमा समेत सवारी सञ्चालनमा आएको सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले जनाए । उनले भने, “आयोजनाको काम हुँदै छ, केही सडक खण्डमा सवारी समेत सञ्चालनमा आएका छन् । विगतमा आयोजनाले गति लिन नसके पनि पछिल्लो समयमा भने गति लिएको छ ।”
आर्थिक वर्ष २०७२/७३ मा हुलाकी राजमार्ग निर्देशनालय स्थानपना गरिएको थियो । आयोजनाको प्रारम्भिक अनुमानित लागत ४७ अर्ब २४ करोड रुपैयाँ थियो भने हाल संशोधित लागत ६५ अर्ब २० करोड पुगेको छ ।
तराई मधेसका २० जिल्ला भएर निर्माण हुने यो सडक खण्डमा तोकिएको समयमा निर्माण सम्पन्न गर्न हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत ६ वटा योजना कार्यालयहरू छन् । आयोजनाको यो अवधिमा ३४ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।
हुलाकी राजमार्गको कुल लम्बाई १ हजार ८५४ किमि र मुख्य सडक ९४५ किमि छ भने २१९ वटा पुल बन्नेछन् । ९५ वटा पुल निर्माण गर्न अझै बाँकी नै छ । आयोजनामा पुल निर्माणको काम अगाडि बढिरेहको जनाइएको छ ।
अहिले कामको गति बढेको छ’, विसुराल भन्छन्, ‘धेरै काम पछिल्लो पाँच वर्षमा भएका हुन्। विस्तार सम्पन्न गर्ने समय अवधि ०७९र८० तोकिएको छ। तराई मधेसका २० जिल्ला भएर बन्ने सडकबाट १ करोडभन्दा धेरै जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछ।
०००
प्रकाशित: २०७७ मंसिर १०
प्रकाशित: २०७७ मंसिर १०
November 25th 2020
प्रतिक्रिया दिनुहोस्