नेपाली समय: ०८:१३:५२ बिहान
वि.सं २०८३ साउन ५   मंगलवार

तीनकुने पुल नयाँ ठेक्काबाट निर्माण हुने

निर्माण सञ्चार,३० मंसिर, काठमाडौँ । तीनकुनेस्थित वाग्मती पुल नयाँ ठेक्कामार्फत निर्माण हुने भएको छ । यसका लागि सरकारले तयारी अन्तिमचरणमा पु¥याएको छ । निर्माण व्यवसायीको लापरवाही कारण सो पुल धेरै वर्षसम्म अवरुद्ध बनेको थियो ।

यसअघि निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता अन्त्यगरेसँगै नयाँ प्रक्रियाबाट निर्माण गर्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले बताएको छ ।


अबको केही दिनमा नै सूचना प्रकाशित गरिने आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सो पुल ‘डिजाइन एण्ड बिल्ड’ ९निर्माण कम्पनी आफैँले डिजाइन गर्ने गरी भएको सम्झौता० का आधारमा निर्माण शुरु भएको थियो । पहिले कम्पनीले तयार गरेको ढाँचामा नै निर्माण गरिने अधिकारीले  बताए ।


गुरु अधिकारीले भने– “पहिलेको कम्पनीले निर्माण गरेको संरचनामध्ये एउटा जग मात्रै स्वीकार गर्न सकिने छ ।” यसअघि निर्माणको काम गरेको कम्पनीसँग ठेक्का अन्त्य गरेकाले नयाँ प्रक्रियामा जान बाटो खुलेको आयोजना प्रमुख अधिकारीले जानकारी दिए।

 सरकारले यसअघि नै कम्पनीले निर्माणका लागि लिएको दुई किसिमका बैंकको जमानत फिर्ता लिइसकेको छ । 


कार्यसम्पादन जमानतमार्फत राखिने पाँच प्रतिशत रकम सरकारको खातामा फिर्ता ल्याइएको अधिकारीले जानकारी दिए । मोबाइलाइजेसन काम गर्न आवश्यक रकम पेश्की पहिले  कम्पनीलाई उपलब्ध गराएकोमा त्यो पनि फिर्ता भइसकेको उनले जनाए । नयाँ ठेक्का सम्झौतामा गएपछि पनि निर्माणको लागि साढे दुईदेखि तीन वर्ष लाग्ने आयोजनाले जनाएको छ । 

यसअघि पुलको निर्माणमा ढिलाइ भएको र भएका काम गुणस्तरीय नभएर सरकारले गत आर्थिक वर्षमा ठेक्का तोडेको थियो । विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

आयोजनाले विसं २०७१ मा नै सो पुलसँगै बिजुलीबजारस्थित धोबीखोला पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । मुख्य सडकका दायाँबायाँ दुई–दुई पुल निर्माण गर्न एउटै निर्माण कम्पनीसँग सम्झौता भएको थियो । बिजुली बजारस्थित पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसके पनि यो पुल निर्माण अघि बढ्नसकेको थिएन । रु २१ करोड ३३ हजार बजेटमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का भएको थियो ।

नेपालमा पहिलो पटक नयाँ प्रविधि (आर्क एण्ड ब्रिज) प्रविधिबाट सो पुल निर्माण गरिने गरी सम्झौता भएको थियो । अरू सामान्य पुलमा तल्लो भागमा भार भए पनि यसमा भार माथिल्लो भागमा पर्ने विभागले जनाएको छ ।

 

 


०००



प्रकाशित: २०७७ मंसिर ३०
December 15th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार