नेपाली समय: १२:२०:२३ am
वि.सं २०८१ चैत्र ३   सोमवार

साँखुमा ठडियो प्रहरी भवन, ज्ञवालीले गरे उद्घाटन

निर्माण सञ्चार, काठमाडौं । महानगरीय प्रहरी प्रभाग साँखुको पुनर्निर्मित भवनको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गरेका छन् ।

प्राधिकरणको ३ करोड ४४ लाख ७४ हजार ३ सय ३० रुपियाँ आर्थिक सहयोगमा भवनको पुनर्निर्माण सम्पन्न भएको प्राधिकरण स्रोतले जानकारी दिएको हो ।

यस भवन निर्माण २०७४ असार २ गते आरम्भ भएको थियो । 

प्रहरी प्रभागको पुनर्निर्मित भवन परिसरमा आयोजित विशेष समारोहमा सोमबार अपरान्ह सिइओ ज्ञवालीले उद्घाटन गरेका हुन् ।

आफ्नो धारणा राख्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नागरिकको शान्ति सुरक्षाका अतिरिक्त भूकम्पलगायतका विपदहरुमा प्रहरीले गरेको उद्दार तथा राहतका कामहरु प्रशंसनीय रहेको बताए ।

यस्ता विपद व्यवस्थापनमा पनि प्रहरी निकाय अझै क्रियाशील हुनुपर्ने उनको भनाइ छ ।

शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले काठमाडौं उपत्यकको एउटा संवेदनशील नाका क्षेत्रमा रहेको प्रहरी कार्यालयले प्रभावकारी सेवा दिने कार्यमा पुनर्निर्मित भवन निकै सहयोगी हुने धारणा राखेका थिए ।

प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालय नक्सालका प्रहरी नायव महानिरीक्षक लोकेश चन्द्र सिंहले क्षतिग्रस्त प्रहरी कार्यालय निर्माणमा सहयोग गरेकामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई धन्यवाद दिएका थिए ।

उद्घाटन कार्यक्रममा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको पनि उपस्थिति थियो । महानगरीय प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार लामाले स्वागत मन्तव्य राखेका थिए ।

नेपाल प्रहरीका अनुसार पुनर्निर्माण गर्नुपर्ने १३९ भवन संरचनामध्ये ५१ वटा सम्पन्न भइसकेका छन् ।

 

 

...

मंगलबार, २६ चैत, ०७५

 



प्रकाशित: २०७५ चैत्र २५
April 8th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार