
प्रम ओलीले भने, ‘पानी जहाजका लागि रजिस्ट्रार नियुक्ति प्रक्रिया सुरु भयो’
निर्माण सञ्चार, काठमाडौं । रेल र पानी जहाजको एजेन्डा बोकेर अघिल्लो ९ महिने सरकारमा ‘लोकप्रिय’ छवि बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले यो सपना पूरा हुने ठोकुवा गरेका छन् ।
केही समय अघि ‘पुस महिनामा पानी जहाज चल्छ, टिकट लिएर बस्नुस्’ भन्ने भनाइको आलोचना व्यापक भएपछि प्रम ओलीले त्यसको पनि खण्डन गर्दै ‘केही समय धैर्य गर्न तर मजाक नगर्न’ अपिल गरेका हुन् ।
आइतबार संसद्मा बोल्दै प्रम ओलीले आफ्नो सरकारले नेपालको आफ्नो रेल चलाउनका लागि २ वटा रेल किन्ने प्रक्रिया सुरु गरिसकेको बताए ।
त्यस्तै, पानी जहाजबारे उनले भने, ‘नेपाल पानी जहाज कार्यालय सञ्चालनका लागि सरकारले पानी जहाज रजिस्ट्रारको नियुक्ति प्रक्रिया सुरु गरिसकेको छ ।’
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रमले रेल र पानीजहाजको काम अगाडि बढिसकेकाले धैर्य हुन पनि अनुरोध गरेका थिए ।
प्रतिपक्षी प्रति कटाक्ष गर्दै उनले भने, ‘केही मानिसले कागजको पानीजहाज र खेलौना रेल बनाएर मजाक उडाए, रेलको टिकट कहिले खुल्छ पानीजहाज कहिले चढ्न पाइन्छ भनेर पनि सोधे’, प्रम ओलीले भने, ‘रेलको टिकट खुल्छ, पानीजहाज पनि चड्न पाइन्छ ढुक्क हुनुस् ।’
आफ्नो नेतृत्वको सरकारले कुल वैदेशिक सहायता बढाउन सकेको उनको दाबी छ । साथै उद्योगहरू, बैंकिङ क्षेत्रमा पनि कूल निक्षेप बढेको र मुलुकमा नयाँ परियोजनाहरू पनि बढेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
सम्बोधनको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोस्
...
आइतबार, २२ पुस, ०७५
प्रकाशित: २०७५ पौष २१
January 5th 2019
प्रतिक्रिया दिनुहोस्