नेपाली समय: ०१:३४:४५ अपरान्ह
वि.सं २०७६ मंसिर २७   शुक्रवार

आलम मुद्दा नम्बर– ९५ः आजीवन जेल सजायका लागि मुद्दा दर्ता, १० मध्ये कसलाई कस्तो कसुरमा कस्तो छ सजाय ?

निर्माण सञ्चार, १८ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका निलम्बित सांसद समेत रहेका रौतहट बमकाण्डका अभियुक्त मोहम्मद अफताब आलमलाई जन्मकैद माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । 

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनताका रौतहटको साबिक राजपुर गाविस–४ फरहदवामा बम बिस्फोट गराएको र त्यसक्रममा केहीलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको भेटिएपछि कांग्रेस सांसद आलमसहितका व्यक्तिमाथि १२ वर्ष पछि मुद्दा दायर भएको हो

जिल्ला अदालत रौतहटले सोमबार जन्मकैदको माग गर्दै मुद्दा दायर गरेको हो । आलमको मुद्दा ९५ नम्बरमा दर्ता गरिएको छ । समयअभावका कारण थुनछेक बहस भने सोमबार नभई मंगलबारबाट मात्रै हुने भएको जिल्ला अदालत स्रोत बताउँछ । 

१२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको उनीमाथि अभियोग छ । अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो । 

सोमबारै आलमलाई जिल्ला अदालत लगिएको छ । 

के भन्छ रौतहट बमकाण्डका मुख्य अभियुक्त आलमको अभियोग पत्र ?

रौतहट बमकाण्डका प्रमुख अभियुक्त मोहम्मद अफताब आलमसहित १० जनाविरूद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ।

आलमसहित १० जनालाई विभिन्न ३ वटा कसुरमा अलग–अलग सजाय र एक जनालाई मतियार कायम गरी सोमबार अदालतमा अभियोग पत्र दर्ता भउको हो।

स्रेस्तेदार गुणराज पराजुलीले दिएको जानकारी अनुसार आलमसहित १० जनालाई विस्फोटक पदार्थ ऐन २०१८, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानमुद्दामा सजाय माग गरिएको छ।

उनीहरूलाई विभिन्न तीन कसुरमा ३२ वर्ष सजाय माग गर्दै अभियोग पत्र दर्ता गरिएको हो ।
 
रौतहट बमकाण्डको कसूरमा आलमसहित शेख भदई, मोबिन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन् भन्ने शेख मलकार, गौरीशंकर साह र मुक्ति साहलाई प्रतिवादी बनाइएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले जनाए अनुसार विस्फोटक पदार्थमा २ वर्षसम्म कैद र २० हजार जरिवाना, ज्यान मार्ने कसुरमा जन्मकैद (२० वर्ष) र ज्यान मार्ने उद्योगमा दस वर्षसम्म कैद र एक लाख रुपियाँ जरिवाना माग गरी अभियोग पत्र दायर गरिएको छ।

अभियुक्त मध्ये मुक्ति साहलाई देखीदेखी, जानीजानी पनि घटना ढाकछोप गरेकोमा मतियार बनाइ अभियोग पत्र दर्ता गरिएको छ।

अभियोग पत्रमा दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टामा लगेर जिउँदै जलाई मारेको उल्लेख छ ।

अभियुक्तलार्ई कारबाही सहित सो कसुरमा पीडितलाई उचित क्षतिपूर्तिको माग दाबी पनि गरिएको छ। 

घटना के थियो ? कस्तो थियो ?

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनताका रौतहटको साबिक राजपुर गाविस–४ फरहदवामा बम बिस्फोट गराएको र त्यसक्रममा केहीलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको भेटिएपछि कांग्रेस सांसद आलमसहितका व्यक्तिमाथि १२ वर्ष पछि मुद्दा दायर भएको हो ।

आलमका काका शेख इद्रिसको गोठमा चैत २७ गते साँझ साढे ६ बजे बम विस्फोट भएको थियो। विस्फोटमा परी गोठमा भएका केही व्यक्तिको मृत्यु र झन्डै दुई दर्जन घाइते भएको आशंका थियो। 

मृतक र घाइतेलाई नजिकैको इँटाभट्टाको भुंग्रोमा हालेर जलाइएको आरोप आलममाथि लागेको थियो। त्यहाँ भएका कति मान्छेलाई जलाइयो र कति गायब पारिए, यकिन नभएकाले अभियोग पत्रमा दर्जन बढी उल्लेख गरिएको छ।

रौतहट बम काण्डमा रुक्सना खातुन र श्रीनारायणसिंह राजपुतले आलमसहितका व्यक्तिमाथि किटानी जाहेरी दिएका थिए। तिनै जाहेरी अस्तित्वमा रहेकाले रौतहट क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद आलम घटना भएको १२ वर्षपछि गत असोजमा पक्राउ परेका थिए।

रुक्सनाका २२ वर्षीय छोरा ओसी अख्तर र नारायणसिंहका २४ वर्षीय छोरा त्रिलोकप्रताप सिंह राजपुतलाई इँटाभट्टामा लगेर जलाएको अभियोग आलमसहितका व्यक्तिमाथि छ।

प्रत्यक्षदर्शी र पीडकसमेतको बयानका साथमा प्रहरीले दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टामा जलाएर मारिएको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गरेको छ ।


०००

पढौं यो पनि



प्रकाशित: २०७६ कार्तिक १८
November 4th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार