पीपीएलः ज्ञानेन्द्रको शतकीय पारीमा काठमाडौंले धनगढीलाई दियो १८६ रनको लक्ष्य
निर्माण सञ्चार, पौष २, काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लले विस्फोटक पारी खेल्दै सतक बनाएपछि पोखरा प्रिमियर लिग (पीपीएल)मा काठमाडौं गोल्डेन वारियर्सले धनगढी ब्लुजलाई १ सय ८६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
ओसका कारण १ घन्टा ढिला सुरु भएको खेल १७ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेटको क्षतिमा १ सय ८५ रनको योगफल बनाउँदा कप्तान ज्ञानेन्द्र एक्लैले सतक प्रहार गरे ।
कप्तान मल्लले फ्रेन्चाइज क्रिकेटमा आफ्नो पहिलो शतक हो भने नेपाली फ्रेन्चाइजमा तेस्रो हो । यसअघि सन् २०१६ को एभरेष्ट प्रिमियर लिग (इपीएल)मा आसिफ शेखले पन्चकन्या तेजका लागि तथा गत संस्करणको इपीएलमा रवि इन्दर सिंहले भैरहवा ग्ल्याडिएटर्सका लागि सतकीय पारी खेलेका थिए ।
पोखरा प्रिमियर लिग इतिहासमा भने यो पहिलो सतक हो । यसअघि पहिलो संस्करणमा काठमाडौं रोयल्सका लागि गौरव तोमले प्रहार गरेको ९५ रन नै सर्वाधिक थियो ।
चौथो नम्बरमा ब्याटिङमा आएका ज्ञानेन्द्रले कमल सिंह ऐरीको बलमा आउट हुनुअघि ३९ बल खेलेर ९ छक्का र ८ चौकाको सहयोगमा १ सय रन बनाए । उनले ३७ बलमा शतक प्रहार गरेका थिए ।
उनले जयकिसन कोल्सावालासँग मिलेर तेस्रो विकेटका लागि १ सय ३१ रनको सानदार शतकीय साझेदारी गरे । ओपनिङ गरेका कोल्सावालाले पनि ३७ बलमा ४६ रन बनाए ।
पहिलो ओभरमै ओपनर गौरव तोमर खाता नखोली आउट भएपछि आएका अमित श्रेष्ठसँग मिलेर कोल्सावालाले ५० रनको साझेदारी गरेका थिए । अमितले २१ बलमा ६ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए ।
धनगढीका कमल सिंह ऐरीले ४ विकेट झारे । उनले ४ ओभरमा ३९ रन खर्चिए । उनले अन्तिम ओभरमा कोल्सावाला, ज्ञानेन्द्र र सुवोध भाटीलाई आउट गरेका हुन् । सागर ढकालले १ विकेट लिए ।
०००
प्रकाशित: २०७६ पौष २
प्रकाशित: २०७६ पौष २
December 18th 2019
प्रतिक्रिया दिनुहोस्