गोरखामा जनप्रतिनिधि र कर्मचारी चढेको जिप दुर्घटना, वडा सचिवको मृत्यु, ७ घाइते
निर्माण सञ्चार, २२ फागुन, काठमाडौं । गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुमा बुधबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिपमा सवार अन्य सात जना घाइते भएका छन् ।
आरुघाटबाट धार्चे गाउँपालिका–६ काशीगाउँतर्फ जाँदै गरेको ग १ ज ५५०५ नम्बरको जिप मान्बुको धोरत जंगलमा दुर्घटना हुँदा लमजुङ बाहुनडाँडाका घर भएका धार्चे गाउँपालिका–६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक इन्चार्ज सुक बहादुर विकले बताए ।
घाइते हुनेहरुमा धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङ, निशा गुरुङ, बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, केयरसिङ गुरुङ, सुरज नेपाल र शर्मिला गुरुङ रहेको इन्चार्ज विकले जानकारी दिए ।
घाइतेमध्ये चालक बालचन्द्र गुरुङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।
मान्बुकै स्थानीय स्वास्थ्य चौकीमा घाइतेहरुको उपचार भइरहेको छ । धार्चे गाउँपालिका–६ काशीगाउँमा जेष्ठ नागरिक अपाङ्गता परिचय पत्र वितरण गर्न गाउँपालिका उपाध्यक्षसहित जनप्रतिनिधि र कर्मचारी टोली त्यसतर्फ लागेको थियो ।
०००
प्रकाशित: २०७६ फाल्गुण २२
प्रकाशित: २०७६ फाल्गुण २२
March 5th 2020
प्रतिक्रिया दिनुहोस्