नेपाली समय: ०२:१३:३० बिहान
वि.सं २०७७ साउन २०   मंगलवार

गोरखामा जीप दुर्घटना: घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

निर्माण सञ्चार, २७ फागुन, काठमाडौं  । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ छहरेखोलास्थित सिम्बमा बलेरो जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

मंगलबार विहान सौरपानी रञ्चोकबाट स्वाँरा हुँदै गोरखा बजारका लागि छुटेको यात्रुबहाक जीप ब्रेक फेल भएर सडकबाट करिब एक सय मिटर तल खसेको हो।

बा१५च १०१६ नंको जीप उकालोमा पछाडि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शी सन्तबहादुर गुरुङले बताए। दुर्घटनामा घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर छ।

घाइतेहरूलाई घटनास्थलबाट उद्धार गरी सडकमा ल्याइएको छ। उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो।

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ की १९ वर्षीया विमला गुरुङ, ६० वर्षीय बुद्वबहादुर गुरुङ, २० वर्षीया रमा गुरुङ, ३३ वर्षीय श्रीमान् गुरुङ, २३ वर्षीय विनोद गुरुङ, ६० वर्षीया क्षेत्रकुमारी गुरुङ, ३७ वर्षीया टेकमाया गुरुङ, टेकमायाकी छोरी छ वर्षीया सुनिता गुरुङ र ७३ वर्षीया सुकमाया गुरुङ घाइते रहेको प्रहरीले जनाएको छ।  

सौरपानीकी ५२ वर्षीया राजकुमारी गुरुङ र चालक ४० वर्षीय आनन्दकुमार गुरुङ पनि घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुकबहादुर विकले बताए। घाइतेमध्ये विमला, रमा, क्षेत्रकुमारी र सुकमाया गुरुङको अवस्था गम्भीर छ।

घाइते सबैको टाउको, छाती र खुट्टामा चोट देखिएको प्रहरीले जानकारी दिएको छ। घाइतेलाई हेलिकोप्टरबाट  काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

 

०००



प्रकाशित: २०७६ फाल्गुण २७
March 10th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार