नेपाली समय: ०३:४३:५५ बिहान
वि.सं २०८३ आषाढ १६   मंगलवार

गणितमाथि प्रहार किन ?

निर्माण सञ्चार, १४ पुस, समाचार टिप्पणी । नेपाल नै यस्तो मुलुक हो जहाँ जहिले पनि शैक्षिाक पाठ्यक्रम तालमेल र पठन पाठन विषय विवादमा पर्दै आएको छ । यो नै यस्तो मुलुक हो जहाँ कहिले ‘भोकेसनल’ पाठ्यक्रम भनेर थपिने त कहिले त्यसैलाई झिकिने गरिन्छ । कहिले नैतिक शिक्षा आवश्यक ठानिन्छ त कहिले त्यो बेकारको ‘भार’ ठानेर हटाइने गरिन्छ ।

एउटा अनुसन्धानले देखाएको पनि छ, नेपालको नीति निर्माता तहमा आफ्नो दोस्रो पुस्तालाई के पढाउने, के नपढाउने, के सिकाउने, सिकाइको लक्ष्य के हो भन्नेबारे सधैँ अन्योल देखिन्छ । अर्थात् उनीहरु यसबारे जानकार छैनन् ।

यसका पछाडि या त शासक या त नीति निर्माता तह कतै न कतै चुक्ने गरेको आरोप पनि लाग्ने गरेको छ ।

त्यति मात्र हैन, माध्यमिक तहदेखि विश्वविद्यालय तहसम्म नै पाठ्यक्रमको सिलसिलेबार तालमेल छैन । भविष्यमा यो बन्छु भनेर पढ्न चाहनेले सोही अनुरुपको धागो तानेजस्तै सिधा जाने पाठ्यक्रम रोज्न आजका दिनमा पनि पाउँदैन ।

यो हुनुको अर्थ के होला ?

यतिसम्म कि त्रिभुवन विश्वविद्यालय नै यस्तो विश्वविद्यालय हो, जसले अन्तर्राष्ट्रिय ‘ग्र्यान्ड’ लिँदा दाता शक्तिराष्ट्रको ‘टम्र्स एन्ड कन्डिसन’मा अनावश्यक सम्झौता गर्ने गरेको छ । जसले आफ्नो मुलुकको इतिहास नपढाउने सर्तमा समेत ‘ग्र्यान्ड’ स्वीकार गर्ने गरेको दोष लागेको छ । जुन मुलुकमा आफ्नो इतिहास, संस्कृति र आफ्नो माटो चिनाउने शैक्षिक कार्यक्रम हुँदैन वा भए पनि अर्काको ‘इन्ट्रेस्ट’को तलुवा बनाइन्छ भने त्यही देशको भविष्य सधै धरमराइरहेको हुन्छ । 

दुखको कुरा, विश्वविद्यालयहरुमा आफूलाई चिनाउने पाठ्यक्रम हटाउने तर, राजनीति गर्ने चाहिँ जातिय ‘पहिचान’ खोज्ने मुलुक पनि यही नै बन्ने गरेको सबैलाई थाहै छ ।

यस्तो राजनीतिका पछाडि कसको के ‘इन्ट्रस्ट’ छ कमैलाई थाह हुन्छ । तर, त्यसको सबैभन्दा मार भविष्यको पुस्ता बन्ने गरेको छ । विद्यालय तह र विश्वविद्यालयलाई यसरी निसाना लगाउनबाट रोक्ने र आफ्नो भवी सन्ततीलाई मुलुक चिनाउने, सक्षम बनाउने र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी बनाउनेबारे नेपालका शिक्षाविद्हरु गम्भीर हुनु पर्ने धेरै अभिभावकहरुको पनि माग हुने गरेको छ ।

०००

पछिल्ला दिनमा गणित विषय पनि यस्तै यस्तै प्रकारको द्वन्द्वको शिकार भएको पाइन्छ । यस्तै शिकार केही वर्ष अघि नेपाली भाषामाथि पनि भएको थियो । बुज्रुक भनिनेहरु नेपाली भाषामाथि नियोजित आक्रमणमा लागेका थिए ।

यो समाचार टिप्पणी तयार गर्दै गर्दा हिसान अधिकारीहरुमाथि पनि निर्माण मिडियाले प्रश्न गरेको थियो, ‘शैक्षिक करिकुलममा एकरुपता, वैज्ञानिकता र गणित विषयको निरन्तरतामाथि हामीहरु गम्भीर छौं, कुरा भइरहेको छ,’ एक अधिकारीले बताए ।

आइतबार मात्रै नेपाल गणित समाजका सहसचिव तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय गणित विभाग उपप्राध्यापक डा जीवन काफ्ले उच्च शिक्षा परिषद्मा गएका थिए ।

गणित शिक्षा–शिक्षणबारे उनको नेतृत्वको टोलीले निर्देशक डा लेखनाथ पौडेलसँग छलफल गरेको बतायो । डा काफ्लेका अनुसार ऐच्छिक विषयका रुपमा माध्यमिक तहमा गणित लिन पाउनेबारे आएको बजार हल्ला निराधार भएको निर्देशक डा पौडेलले स्पष्ट पारेका थिए ।

तर, दशजोड २ मा भने ऐच्छिक विषयका रुपमा पठन पाठन हुँदै आइरहेको गणित विषय भने तलमाथि परेको छ । पछिल्ला दिनमा कक्षा ११ मा सामाजिक शिक्षा र १२ मा जीवनोपयोगी भन्ने प्राविधिक शिक्षा समेत थपिए पछि यतिबेला ऐच्छिक ३ वटा भएका छन् । यस अघि ४ वटा विषय रहेका थिए । २ वटा कक्षामा अनिवार्य नेपालीले दुइटै वर्षमा निरन्तरता पाएपछि गणितको ऐच्छिक रोजाइ घट्न गएको छ । 

यसले गर्दा भविष्यमा जीव विज्ञान, भौतिक शास्त्र र रासायनिक शास्त्र पढ्ने विद्यार्थीका लागि अतिरिक्त गणित पढ्न पाउने मौका चुकेको गणितज्ञहरुको भनाइ छ ।

हालको प्रावधान अनुसार वाणिज्य शास्त्रमा पनि आधारभूत गणित र बिजनेस गणित एउटै समूहमा रहेकाले रोजाइको अवसरबाट विद्यार्थी वञ्चित भएको उनीहरुको बुझाइ छ ।

यसबारे डा काफ्लेको सामाजिक सञ्जालमा टिप्पणी गर्दै रञ्जन कुमार दाहालले ‘ गणितलाई यति धेरै आक्रमण किन होला ?’ भनी प्रश्न गरेका छन् । 

त्यस्तै, गणितज्ञ प्राध्यापक नेपाल गणित समाजका सभापति चेतराज भट्टले पनि गणित शिक्षाबारे भइरहेका समस्याबारे सर्वपक्षीय छलफल चलाउने बताएका छन् ।

गणित विषयबारे हुने गरेका यस्ता आन्दोलन वा छलफलमाथि कहिले कहिँ ‘शिक्षकहरुले गणित पढाउन नपाउने भएर मात्रै आन्दोलित हुने गरेको’ भन्ने आरोप पनि छ ।

यो आरोपबाट बच्ने गरी विशेषज्ञ तथा सरोकारवालाहरु मौसमी भन्दा पनि निरन्तर प्रक्रियामा जुट्नु राम्रो देखिन्छ । एक पटक सुनियो अनि प्रतिक्रिया दियो जस्तो शैलीबाट भन्दा पनि मुलुक र भविष्य दुवैलाई हेरेर निरन्तर संवाद र पहलकदमी गरी शैक्षिक जगत्मा हुने गरेका यस्ता अन्योल चिर्न आवश्यक छ ।

किनकि, शिक्षा भविष्य हो, भविष्यका सन्ततीको पनि भविष्य हो । सडक भत्के आज पिर्छ, तर शिक्षा भत्कियो भने भविष्यभर सधैं सधैं पिरिरहन्छ ।

०००

 



प्रकाशित: २०७६ पौष १४
December 30th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार