
‘जातिवादको अन्त्य, शान्तिको निर्माण’ ब्यानरमा स्काउटले ‘हेरिटेज साइक्लिङ’ र शान्ति पदयात्रा गर्दै
निर्माण सञ्चार, ०७ असोज, ०७९, काठमाडौं ।
नेपाल स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा ‘जातिवादको अन्त्य, शान्तिको निर्माण’ भन्ने ब्यानरमा Heritage Cycling and PEACE WALK गर्ने भएको छ । २०७९ असोज ८ गते शनिबारका दिन काठमाडौं उपत्यका भित्र रहेका विश्व सम्पदा सूची र राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत विभिन्न आठ स्थानबाट कार्यक्रमको सुरुवात हुने नेपाल स्काउट कार्यालयले जानकारी दिएको हो ।
उपत्यकाका धार्मिक तथा साँस्कृतिक सम्पदाहरु शान्तिपूर्ण रुपले भ्रमण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रचारात्मक प्रयोजनका लागि उक्त कार्यक्रम गर्नलागेको आयोजक नेपाल स्काउटको भनाइ छ । काठमाडौंमा रहेका सम्पदास्थलहरुको पर्यटकीय महत्त्व जनमानससम्म पुर्याउनका लागि यस कार्यक्रले सहयोग पुर्याउने आयोजक बताउँछ ।
उक्त शान्ति पदयात्रा तथा सम्पदा साइक्लिङ उपत्यकाका विभिन्न आठ ठाउँबाट शनिबार बिहान ७ बजे कार्यक्रमको सुरुवात हुने नेपाल स्काउटले जनाएको छ ।
कार्यक्रममा स्काउट तथा गैह्र स्काउट सबैले सहभागिता जनाउन सक्नेछन् । युनेस्कोमा सूचीकृत विभिन्न आठ स्थानबाट सुरु गरिएको साइक्लिङ तथा वाकाथनका सहभागी विहान आठ बजे बसन्तपुर पुग्नेछन् । बसन्तपुरमा कार्यक्रमको समापन समारोह हुनेछ ।
करिब १००० युवाको उपस्थिति रहने उक्त कार्यक्रमको समापन समारोहमा नेपाल स्काउटका तदर्थ समिति संयोजक लोकबहादुर भण्डारी लगायत विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तिको समेत प्रतिनिधित्व हुने नेपाल स्काउटले बताएको छ ।
सहभागिताका लागि नेपाल स्काउटले अनलाइन रजिस्ट्रेसनको व्यवस्था गरेको छ । इच्छुक स्काउट तथा गैह्रस्काउट विद्यार्थी, युवा वा अन्य व्यक्तिहरुले समेत स्काउट कार्यालय तथा स्काउटरसँग समन्वय गरी कार्यक्रममा सहभागी हुन सकिने प्रावधान रहेको नेपाल स्काउटका सम्पर्क अधिकृत प्रतीक सत्यालले निर्माण सञ्चारलाई बताए ।
OOO
प्रकाशित: २०७९ आश्विन ७
प्रकाशित: २०७९ आश्विन ७
September 23rd 2022
प्रतिक्रिया दिनुहोस्