निर्माण सञ्चार, २१ साउन, काठमाडौं ।
नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरद्वारा सञ्चालित चौथो डिप्लोमा तथा आठौँ सर्टिफिकेट तालिम सम्पन्न भएको छ ।
बूढानीलकण्ठ नगरपालिकास्थित पार्क भिलेजमा सञ्चालित उक्त तालिम साउन १३ गतेबाट सुरु भई १९ गते सम्पन्न भएको थियो । नेपाल स्काउट राष्ट्रिय वयस्क नीति अनुरूप सञ्चालित सो तालिम मूलतः महिला लक्षित विशेष तालिम रहेको नेपाल स्काउटले जनाएको छ ।
देशैभरबाट प्रतिनिधित्व भएको सो तालिममा ४८ स्काउट लिडर सहभागी भएका थिए । आयोजक अनुसार उक्त तालिमद्वारा सर्टिफाइड स्काउट लिडरले तालिमपछिको अनुसन्धान प्रतिवेदन समेत बुझाएर भविष्यमा हुने पिटिसी र एड्भान्स्ड तालिमका लागि काउन्सिलरको भूमिका निर्वाह गरेपछि उनीहरु सहायक प्रशिक्षकका रूपमा रहसक्ने छन् ।
तालिमबाट प्रशिक्षार्थीहरूले अन्य स्काउट लिडर उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने छन् । नेपाल स्काउटले ‘कम्पास—२०३२’ लक्ष्य लिएको छ । यसको अर्थ हो— सन् २०३२ सम्ममा ७ लाख स्काउटर ‘कम्पास’मा आबद्ध सदस्य रहने छन् ।
तालिमको समापन सत्रलाई सम्बोधन गर्दै नेपाल स्काउट तदर्थ समिति संयोजक लोकबहादुर भण्डारीले सञ्चालित तालिमले उक्त ‘कम्पास—२०३२’ लक्ष्य हासिल गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
नेपाल स्काउटको इतिहासमा देशैभर स्काउट संरचना विकास गर्ने सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्न सफल राष्ट्रिय संयोजकका रूपमा चिनिएका संयोजक भण्डारीले महिला स्काउट लिडरहरुलाई पुरुष स्काउट लिडर सरह प्रतिस्पर्धी बनेर अगाडि आउन आग्रह गरेका छन् ।
उनले भने, ‘नेपाल स्काउटमा पुरुष र महिला सम्बन्धी ‘ओजम’ र ‘वायग्स’ विभागहरु रहेका छन् । यसको उद्देश्य तत्तत् क्षेत्रमा सोही क्षेत्रको नेतृत्व विकास गर्नसक्ने नेतृत्वको विकास गर्नु हो । मलाई आशा छ, यो तालिमले महिला स्काउट लिडरहरुलाई पुरुष स्काउट लिडर सरह प्रतिस्पर्धी बनेर अगाडि आउन प्रेरणा दिने छ । तपाईं महिला लिडरहरु यसरी नै आफूलाई प्रतिस्पर्धी बनाएर अगाडि आउनु हुने छ ।’
आयोजक नेपाल स्काउटका अनुसार सात दिने उक्त तालिम नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय लिडर ट्रेनरहरु समेत उपस्थित रहेको अन्तर्राष्ट्रिय स्तरको तालिम सम्पन्न भएको हो । तालिम नेपाल स्काउट तथा युनिसेफको सहकार्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा वागमती प्रदेश संयोजक शिवराम अर्याल, तदर्थ समिति विजेन्द्र ध्वजु, लिडर ट्रेनर तथा ओजम कन्सल्ट्यान्ट देवराज घिमिरे, ककनी तालिम केन्द्र संयोजक केशररत्न बज्राचार्य, आठौँ सर्टिफिकेट तालिमका लागि कोर्स लिडर सुचिता सैँजु, चौथो डिप्लोमा तालिमका लागि कोर्स लिडर रुक्मिणी श्रेष्ठ सहित विदेशबाट आएका लिडर ट्रेनरहरु उपस्थित रहेका थिए ।
सहभागी स्काउट लिडरहरुका साथमा राष्ट्रिय संयोजक भण्डारी सहितको टोली विदेशी तालिम प्रदाता समेत सहभागी तालिमका प्रशिक्षार्थीहरु
०००
प्रतिक्रिया दिनुहोस्