नेपाली समय: ०३:४१:१७ बिहान
वि.सं २०८३ आषाढ १६   मंगलवार

जाल्पादेवी माविले मनायो ६०औं वार्षिकोत्सवः प्रज्ञा र त्रिवीकै समयमा स्थापित विद्यालयहरुको कहिले हुन्छ स्तर विकास ?

निर्माण सञ्चार, २३ माघ, काठमाडौं । संसारमै विश्वविद्यालयहरुको जन्मको इतिहास हेर्दै जाने हो भने पूर्वमा तक्षशीला र नालन्दा विश्वविद्यालय सर्वाधिक चर्चामा आउँछन् ।

जसको अस्तित्व आजभन्दा करिब २७ सय वर्षअघि नै यो पूर्वीय भूमिमा थियो । यी दुई विश्वविद्यालय जहाँ प्राचिन मिश्र देशबाट समेत पढ्न आउने गर्थे । 

आजको पटना र पाकिस्तानमा (नालन्दा आजको पटना अर्थात् विहार र तक्षशिला आजको पाकिस्तान भूमिमा थिए) रहेका यी विश्वविद्यालयको अस्तित्व क्रमशः ईश्वीको छैटौं र एघारौं शताब्दीसम्म रहेको देखिन्छ ।

चिनियाँ यात्री हु एन साङले आफ्नो सातौं शताब्दीको भ्रमण दैनिकीमा नालान्दा विश्वविद्यालयमा दश हजार विद्यार्थी र २ हजार शिक्षकहरु रहेको समेत उल्लेख गरेका थिए । 

पछिल्ला छैठौंमा हुण आक्रमण र पछि मुशलमानहरुको आक्रमणको निशानामा परेपछि यी दुई विश्वविद्यालय पतन भए । आज खण्डहरका रुपमा पनि सुरक्षित छन् ।

यस्तै, आधुनिक विश्वमा विश्वविद्यालयको अस्तित्व खोजी गर्दा आजको युरोप, बेलायत जस्ता भूमिबाट विश्वविद्यालय विकास भएका छन् । अक्स्फोर्ड (११औं) र क्याम्ब्रिज (१३ औं) शताब्दीमा आरम्भ भएका थिए । आज विश्वमै निरन्तर चलिरहेका छन् । मोरक्को र इटालीमा क्रमशः ९ औं र १० शताब्दीमै विश्वविद्यालय चलेका थिए । 
...

शिक्षाको यति पुरानो थलो भएर पनि आजको पूर्वीय सभ्यता पश्चिमा ‘डोमिनेसन’को चपेटामा छ । शिक्षा भनेकै पश्चिमाहरुको भोगाइ र बुझाइ बाहेक आफ्नो भन्ने नै केही पनि दिन नसकिरहेको अवस्थामा छ ।

...

नेपालमा विश्वविद्यालय स्थापनाको इतिहास खोज्ने हो भने सारै कानिष्ठ उमेरको पाइन्छ । देशकै जेठो भनिएको त्रिभुवन विश्वविद्यालयको उमेर बल्ल ६ बसन्त पार गर्दै गरेको अवस्थामा छ ।

असार ११, २०१६ मा यसको जन्म भएको थियो । त्यो भन्दा २ वर्ष जेठो थियो नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना ।

यी दुवैको स्थापना महाकवि लक्ष्मी प्रसाद देवकोटाको पहलमा भएको थियो ।

राजधानीको केन्द्रमा स्थापित त्रिभुवन विश्वविद्यालयकै हाराहारीमा राजधानीको नाकैमा रहेको सिन्धुपाल्चोक स्थित साबिक भोटेचौर–८ मा श्रीजाल्पा देवी विद्यालय खुलेको थियो । 

जुन विद्यालयले आफ्नो हीरक जयन्ती भरखरै मनाएको छ ।

चहुर, टहरा, जुटका बोहोरा, कालो पाटी (स्लेट) र सेतो चकले लेखेर पढ्ने लामो युगको थोत्रो ढर्रा फाल्दै बल्लतल्ल यो विद्यालयले पक्की भवनहरु पाएको छ

६० वर्ष उमेर पार गरेको त्रिवि सरहकै जाल्पादेवी माविको योगदान मुलुककै सन्दर्भमा त्रिवि जतिकै त नहोला, तर, मुलुकका जेठा भनिएका यस्ता दर्जन विद्यालयहरुको विकासको अवस्था हेर्दा यति दुख लाग्छ कि, सरकार र नीति निर्माताहरुलाई सोध्नै पर्ने हुन्छ, जाल्पादेवी स्कुलहरुको चाहे जस्तो विकास कहिले हुन्छ सरकार ?
...
सिन्धुपाल्चोक जिल्लामा स्थापना भए मध्येका ज्येठ–५ भित्र पर्ने यस्ता कमै विद्यालय छन् जसले आफ्नो ६० औं वसन्त मनाउन पाएका छन् । 

६ दशक अघि स्थापना भएको यो विद्यालय यदि सरकारी सही नीति, नेतृत्व र व्यवस्थापन भएको भए मुलुकका अन्य सरकारी स्कुलकै जस्तो पछि पर्ने थिएन कि ! जसलाई हेरेर नेपालको शिक्षा नीति र शैक्षिक गुणस्तरलाई मापन गर्न कुनै अर्काे विद्यालय खोजी हिँड्नु पर्दैन ।

हीरक वर्षगाँठमा ८२ लाखमा निर्मित भवनको उद्घाटन

भरखरै राणा कालको कालो बादल हटेको तत्कालीन बहुदलीय प्रजातन्त्र काल नेपालकै इतिहासमा कोशेढुंगाको रुपमा स्थापित हुन पुग्यो । राणाहरुले आफ्ना लागि दरबार हाइस्कुल (१९११ विसं) खोले पनि मुलुकका कुना कुनामा विद्यालय त के कखरा सम्म पनि पढ्न पाइन्नथ्यो ।

१७ सालको कु अगावै नेपालमा केही विद्यालयहरु खुले । तिनै थोरैमध्येको भाग्यशाली विद्यालय थियो श्री जाल्पा देवी ।

स्थानीय जनताहरु, जसले आफूले अक्षर सिक्न पाएनन्, शिक्षाको उज्यालो ज्योतिबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने सपना बोकेका किसान अभिभावहरुको श्रम र पसिनाले जन्मेको यो विद्यालय २०५५ सालमा मात्र आएर माध्यमिक (१० कक्षासम्म) मा विकास भएको थियो ।

आज यसले १२ कक्षासम्म पढाउने गर्छ ।

चहुर, टहरा, जुटका बोहोरा, कालो पाटी (स्लेट) र सेतो चकले लेखेर पढ्ने लामो युगको थोत्रो ढर्रा फाल्दै बल्लतल्ल यो विद्यालयले पक्की भवनहरु पाएको छ । 

त्यसो त २०७२ सालको भूकम्पका कारण बनेका शैक्षिक भवनहरु आपतकालीन ‘सेल्टर’का लागि समेत हुने गरी बनाउने भनिएपछि हरेक भेगिय विद्यालयमा कम्तीमा एउटा पक्की भवन आपतकालीन अवस्थामा शरण लिन सकिने गरी पनि स्कुल पुनर्निर्माण भएका छन् ।

त्यस्तै मध्ये यो जाल्पा स्कुलले पनि पछिल्ला दिनमा केही पक्की भवनहरु पाएको छ । जसमध्ये २०, माघमा ६ कोठे पक्की भवनको उद्घाटन भएको विद्यालयका प्रधानाध्यापक गोविन्द चौलागाईले जानकारी दिए ।

जिल्लास्थित डिएलपिआइयुको सहयोगमा स्थानीय विद्यालय व्यवस्थापन समितिकै नेतृत्वमा बनेको यो भवनको लागत ८२ लाख रुपियाँ रहेको विद्यालयको भनाइ छ ।

‘यतिसम्म जोहो गरेर बनायौं कि यसबाट हामीले झन्डै १३ लाख रुपियाँ बचत पनि गर्न सफल भएका छौं,’ प्रअ चौलागाईले भने ।

तोकिएकै समयमा ठेक्का तोकिए भन्दा कम लागतमा पुनर्निर्माण भएका थोरै मध्येको यो पनि त्यस्तो नमूना निर्माण हो, जसको उद्घाटन सोही क्षेत्रका सांसद तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले गरेका थिए ।
 
विद्यालयको विकास नेपालमा बोडिङहरुको विकाससँगै सुकेर गएको तितो यथार्थका बीचमा जाल्पादेवीले पछिल्ला दिनमा उल्लेख्य रुपमा शैक्षिक जनशक्ति उत्पादन गर्ने प्रयत्न गरिरहेको छ ।

विद्यालय व्यवस्थापन समिति अनुसार ४६ औं अविभावक दिवस मनाएको विद्यालयले विद्यार्थी पुनर्मिलन र भवन हस्तान्तरण समेत गरेको थियो ।

क्षेत्रमै सबैभन्दा ठूलो प्राङगण रहेको जाल्पादेवीको उक्त वार्षिक समारोहमा हजारको हाराहारीमा शिक्षासेवी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सांसद तामाङ थिए भने विशेष अतिथिका रुपमा प्रदेश सांसद निमा लामा रहेका थिए ।

प्रमुख अतिथि सांसद तामाङले विद्यालयको स्तरोन्नति र प्रगतिका लागि आफूले सकेसम्मको सबै सहयोग गर्ने वचन दिएका छन् ।

 

०००



प्रकाशित: २०७६ माघ २३
February 6th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार