नेपाली समय: ०३:४४:४८ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

एसइई परीक्षा तोकिएकै मितिमाः नयाँ भर्ना नलिन शिक्षामन्त्रालयको यस्तो छ अपिल

निर्माण सञ्चार, ४ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को बढ्दो जोखिम र सन्‍त्रासलाई मध्यनजर गर्दै सरकारले शैक्षिक सत्र २०७७ को निम्ति तत्काल नयाँ भर्ना नलिन सबै विद्यालयलाई अपिल गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञप्ति नै जारी गर्दै यस्तो अपिल गरेका हुन् । तर, चालू वर्षको एसइई परीक्षा भने तोकिएकै मितिमा सम्पन्न गर्न भनिएको छ । तर, परीक्षा सकिएलगत्तै नयाँ भर्ना नखुलाउन भनिएको छ ।

‘विश्वव्यापी फैलिँदै गएको कोरोना भाइरसको संत्रासका कारण आवश्यक सतर्कता अपनाउन चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्म परीक्षा सञ्‍चालन गरिसक्न अनुरोध गरिएको थियो,’ मन्त्री पोखरेलले मंगलबार अपिलपत्र जारी गर्दै भनेका छन्, ‘यो परीक्षा समाप्त भएपछि अर्को शैक्षिक सत्र सुरु नहुन्जेलसम्म करिब तीन हप्ता देशभरका करिब ७० लाख विद्यालय जाने उमेरका बाललिकाहरु घर परिवारमा नै रहने छन्। बालबालिकालाई घर बाहिर नजान, विद्यालयमा सांस्कृतिक कार्यक्रम, अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाको नाममा भीडभाड वा आम भेला नगर्न सबैमा अनुरोध छ।’

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत ६ गतेबाट सुरु भई १७ गते सकिने छ।

‘एसईई परीक्षा पूर्वनिर्धारित समय तालिकाअनुसार नै पर्याप्त सावधानी अपनाएर सञ्‍चालन एवं व्यवस्थापन गर्ने गराउने प्रबन्ध गरिएको छ ।’ परीक्षाको तयारी पूरा भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरिसकिएको छ।’

अभिभावक लगायत सम्बन्धित पक्षलाई शिक्षामन्त्रीले परीक्षा अवधिभरि कुनै पनि परीक्षा केन्द्रमा अनावश्यक भीडभाड नगर्न समेत अपिल गरेका छन् ।

अपिलपत्रमा भनिएको छ, ‘परीक्षालाई मर्यादित, भयरहित वातावरणमा सम्पन्न गर्न विद्यार्थी, शिक्षक, अभिभावक, सुरक्षाकर्मी, सरकारी निकाय, आमसञ्चार माध्यम तथा पत्रकारजगत, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालामा हार्दिक अपिल गर्दछु।’


०००



प्रकाशित: २०७६ चैत्र ४
March 17th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार