नेपाली समय: ११:३२:१५ राती
वि.सं २०७७ आश्विन १४   बुधवार

६३औं राष्ट्रिय सहकारी दिवसबाट सुरु भयो ‘कोरोना नियन्त्रण सहकारी केन्द्र’

निर्माण सञ्चार, २० चैत, ०७६, काठमाडौं । विश्वमहामारी बनेको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि सहकारी क्षेत्रले पनि पहल लिएको छ । 

६३औं सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघले काठमाडौंमा आयोजित विशेष समारोहबाट यस अभियानको शुभारम्भ गरेको छ ।

केन्द्रको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यायले बिहीबार विधिबत उद्घाटन गरेकी हुन् ।

महासंघको अगुवाइमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना भएको आयोजकको भनाइ छ । 

सहकारी अभियन्ताहरुका अनुसार वर्तमान समयमा कोरोना भाइरसको रोकथाम तथा उपचारमा राज्यलाई सहयोग पुर्याउने उद्देश्यले यो केन्द्रको स्थापना गरिएको हो ।

यसले सहकारी क्षेत्रको छुट्टै अस्तित्व र कोरोना नियन्त्रणका लागि विशेष पहल गरेको इतिहास बन्ने छ ।  सहकारी अभियानकोतर्फबाट कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापनाले देशका सबै सहकारीहरुलाई कोरोना विरुद्ध एकताबद्ध हुन प्रेरणा पनि मिलेको आयोजकको भनाइ छ ।

कोरोना नियन्त्रण सहकारी केन्द्र संचालन एक व्यवस्थापन समिति मार्फत् सञ्चालन हुने छ । चैत २० गते जुन दिन ६३ औं सहकारी दिवस हो, त्यही दिनबाट यो केन्द्र संचालनमा ल्याइएको छ ।


व्यवस्थापन समितिका संयोजक तथा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले मनमोहन मेमोरियल अस्पतालले प्राविधिक तथा प्रशासनिक सहयोग गर्ने गरी सो केन्द्रले काम सुरु भएको जानकारी गराइन् । 


केन्द्रमा कार्य गर्ने चिकित्सक र स्वास्थकर्मीलाई मन्त्री अर्यालले भेन्टिलेटर, पिपिई लगायत विभिन्न स्वास्थ्य उपकरण समेत प्रदान गरेकी छन् । 

यस अन्तर्गत पहिलो चरणमा २५ लाखको सामाग्री व्यवस्थापन गरिएको छ । 

मन्त्री अर्यालले सहकारी अभियान संकटमा राज्यलाई सहयोग गर्न तयार छ भन्ने सन्देश दिने गरी सहकारी महासंघले गरेको कामको प्रशंसा गरेकी छन् ।

कार्यक्रममा उपस्थित प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेले कोरोना उपचार केन्द्र स्थापना गरेर सहकारीले महत्त्वपूर्ण सन्देश दिएको बताए ।

महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले कोभिड–१९को रोकथाम नभएसम्म यो केन्द्र संचालनमा रहेन र यसलाई अभियानबाट सहयोग जुटाएर नमुना केन्द्रका रुपमा संचालन गरिने जानकारी दिइन् ।

कोरोना नियन्त्रण सहकारी व्यवस्थापन समितिका सदस्यहरुमा केवी उप्रेती, खेमबहादुर पाठक, नारायण देवकोटा,सुरेन्द्र भण्डारी, परितोष पौडेल, माधव दुलाल, ज्ञानबहादुर तामाङ र केदार खड्का रहेका छन् । 

यस पटकको सहकारी दिवसको नारा ‘मर्यादित श्रम र पयर्टनका लागि सहकारी’ भन्ने रहेको छ । 

सरकार सहित सहकारी अभियान मिलेर भव्य रुपमा गरिने भनेको कार्यक्रम कोरोना भाइरस महाममारीका कारण कार्यक्रम स्थगित गरी केन्द्र स्थापनाका रुपमा मनाइएको आयोजकको भनाइ छ ।

०१३ साल चैत २० गतेबाट बखान ऋण सहकारी संस्था स्थापना भई नेपालमा सहकारी सुरु भएको दिनको स्मरणमा हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।


०००


 



प्रकाशित: २०७६ चैत्र २०
April 2nd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार