नेपाली समय: ०१:५५:०६ अपरान्ह
वि.सं २०८१ फाल्गुण ४   आइतबार

अर्नामेन्ट सहकारीको साधारण सभा सम्पन्नः अध्यक्षमा साधुराम खतिवडा

निर्माण सञ्चार, ५ पुस ०७८, काठमाडौं

अर्नामेन्ट ऋण तथा बचत सहकारी संस्थाको पछिल्लो साधारण सभा सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिकाको नारायणटारमा रहेको उक्त सहकारीको अध्यक्षमा साधुराम खतिवडा निर्वाचित भएका छन् । 

अध्यक्ष खतिवडा अकाउन्ट तथा अडिटमा दख्खल युवा हुन् । उनी सहकारीका संस्थापक मध्येका एक पनि हुन् । 

नयाँ कार्यसमितिमा अधिकांश युवा अनुहार आएका छन् । निर्वाचित हुनेहरुमध्ये उपाध्यक्षमा– छबिलाल दुलाल चुनिएका छन् भने सचीवमा हरिभक्त चौलागाईं निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा– सूर्यप्रसाद खतिवडा चयन भएका छन् । उक्त कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको नवनिर्वाचित कोषाध्यक्ष खतिवडाले निर्माण सञ्चारलाई बताए । 

सहकारी स्थापना मार्फत् आफ्नो समुदाय र सदस्यहरुमा आर्थिक क्रान्ति नै ल्याउने भनी स्थापना भएको अर्नामेन्ट सहकारीले स्थापनापछिका यो अवधिमा निकै उचाइ हासिल गरेको छ । कोषाध्यक्ष खतिवडाका अनुसार यो सहकारी संस्था सिन्धुपाल्चोक जिल्लाको साबिक भोटेचौर गाउँपालिकाबाट काठमाडौं आई बसोबास गरेका कृषक दाजुभाइ दिदीबहिनीहरु मिलेर सुरु गरेका थिए । सुरुसुरुमा गास काटेर पनि सहकारी बनाउनु पर्छ भनी मरिमेटेका सहकारी सदस्यहरु आज सहकारीलाई अझै उचाइमा लैजानेबारे नयाँ भिजन साथ प्रस्तुत हुने कोषाध्यक्ष खतिवडाको भनाइ छ ।

पछिल्ला दिनमा केही व्यक्तिहरुको समूह नै मिलेर चलिरहेका सहकारीमा लगानी गर्ने र नेतृत्व हत्याउने विकृति बढिरहेको छ । त्यस्ता विकृतिले दुख गरेर सहकारी स्थापित गर्नेहरु विस्थापित हुने डरलाग्दो अवस्था हिजोआज देखिन थालेको सहकारी क्षेत्रका अगुवाहरुको गुनासो बढ्दो छ । यसरी समूहमा छिर्ने व्यक्तिहरु निश्चित रकम लगानी गरेकै भरमा नेतृत्व हत्याउने र सहकारीमा भएको पुँजी सेयर बजार वा जग्गा दलालीमा लगाउने गर्छन् ।

यसखाले विकृतिले पछिल्ला दिनमा राजधानी काठमाडौंमा खुलेका सहकारीहरुमा जोखिम बढ्न थालेको गुनासो बढिरहेको हो । 

अर्नामेन्ट सहकारीका नवनिर्वाचित कार्यसमिति सदस्यहरु भने यस्ता विकृतिसँग लड्न नै आफूहरु आएको बताउँछन् । नवनिर्वाचित कार्यसमिति सदस्यहरुले अवाञ्छित इच्छा राखेर नेतृत्व हत्याउन खोज्ने र सहकारीलाई दलालीकरण गर्नेहरु प्रति सचेत रहेको भन्दै आगामी दिनमा अझै सुदृढ भएर अघि बढ्ने संकल्प लिएको दाबी गरेका छन् ।

नवनिर्वाचित कार्यसमिति सदस्यहरु

०००



प्रकाशित: २०७८ पौष ५
December 20th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार