नेपाली समय: ११:४०:४२ राती
वि.सं २०७७ आश्विन १४   बुधवार

सप्तरीमा पहिलो पटक उच्च प्रविधियुक्त शीतभण्डारः किसानी उत्पादनले अब नोक्सानी बेहोर्नु नपर्ने ठोकुवा

निर्माण सञ्चार, ३० चैत, काठमाडौं । सप्तरीमा सरकार, सहकारी र सहकारीकर्मीको संयुक्त लगानीमा पहिलो पटक ठूलो उच्च प्रविधियुक्त शीतभण्डार निर्माण भइरहेको छ ।

निर्माणाधीन उक्त शीत भण्डार नेपालकै पहिलो शीतभण्डार हो । 

बर्सेनी सप्तरीका किसानहरुले आफूले उत्पादन गरेका तरकारी तथा फलफूलको उपयुक्त व्यवस्थापन, भण्डाारण नहुँदा नोक्सान व्यहोर्दै आइरहेका छन् । 

अब यो शीतभण्डार बनिसकेपछि स्थानीय कृषी उपजहरु खेर नजाने सहकारी अभियन्ताहरुको दाबी छ । निर्माणाधीन शीतभण्डार ३ हजार मेट्रिक टन क्षमताको रहेको छ जसमा उच्च प्रविधि जडान हुने छ ।

उक्त शीतभण्डार निर्माण सम्पन्न भैसकेपछि प्रदेश–२ का नगरपालिका, गाउँपालिकामा उत्पादित तरकारी तथा फलफूल र लसुन, प्याज, अदुवा लगायत कृषिउपजहरुको भण्डारण, व्यवस्थापन र वितरण सहजै गर्न सकिने सहकारी अभियन्ताहरु बताउँछन् ।

जिल्ला सहकारी संघ सप्तरीको ६ वर्षको निरन्तर प्रयासपछि यो शीतमण्डारले जीवन पाउँदै छ । 

यसको निर्माण ०७५ फागुन २ गतेबाट सुरु भएको हो । यसको निर्माण जिम्मा शर्मा/आशिष/ओम साइ राम जे.भी. निर्माण कम्पनी सातदोबाटोले पाएको छ । २७ करोड ४८ लाख लागतमा उक्त निर्माण कम्पनीले ठेक्का लिएको हो । 

शीतभण्डारको निर्माण कार्य ४९ प्रतिशत सम्पन्न भइसकेको संघका अध्यक्ष विनोद कुमार दत्तको भनाइ छ । 

सप्तरीको राजविराज नगरपालिका–१५ स्थित जिल्लाका विभिन्न विषयगत ९३ वटा सहकारी संस्थाहरु आबद्ध जिल्ला सहकारी संघ सप्तरीले जिल्लाका सहकारीहरुको गुणस्तरीय व्यवस्थापन गरी सदस्यहरुद्वारा उत्पादित कृषि उपजहरुको भण्डारण, बजारीकरण, सुरक्षण जस्ता कामको व्यवस्थापनमा यो शीतमण्डारको प्रयोग हुने अध्यक्ष दत्त बताउँछन् । 

आफ्ना कृषिक सहकारी सदस्य एवम् कृषकहरुको कृषि जीवनलाई सहयोग गर्ने उद्देश्यले यो भवन देउरी भरुवा भन्ने ठाउँमा बनिरहेको छ । जसको २१ हजार दुई सय वर्ग फिट (जग्गाको क्षेत्रफल) मा उक्त शीतभण्डार निर्माण भइरहेको छ । 

यसको क्षमता ३ हजार मेट्रिक टनसम्मको शीतभण्डारण गर्ने रहेको छ ।

उक्त शीतमण्डार निर्माणमा संघीय सरकारको ६० प्रतिशत अनुदान, सदस्य संस्थाहरुको २० प्रतिशत शेयर र स्थानीय तह एवं प्रदेश सरकारबाट २० प्रतिशत ऋण–शेयर–अनुदान लगानी रहेको छ ।

यो शीतभण्डार सहकारीमा आबद्ध किसान सदस्यहरुको भाग्य र भविश्यसँग जोडिएको सहकरी सदस्यहरु बताउँछन् ।

सप्तरीको शीतभण्डार निर्माणस्थल
यसले स्थानीय किसान तथा सहकारीकर्मी सहित मुलुकको उत्पादकत्व बृद्धि गरी दिगो उद्यमशीलता विकासमा टेवा पुराउने सहकारी अभियन्ताहरुको विश्वास छ ।

शीत भण्डारको निर्माण आउने ०७७ सालको जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । तर संघीय अनुदानतर्फ हालसम्म एक तिहाई अनुदानमात्र प्राप्त भएकाले रकम अभावमा तोकिएकै समयभित्र निर्माण सम्पन्न गर्न कठिनाइ हुने हो कि भन्ने चिन्ता सरोकारवालाहरुले लिएका छन् । 

उनीहरुले आफ्नो प्रदेश सरकारसँग दिइने भनिएको उक्त रकम छिटै र सहजै पाउनेबारे पनि अनुरोध गर्दै आइरहेका छन् ।

यो शीतभण्डारका ५ वटा च्याम्बर हुने छन् । 

कृषकहरुले उत्पादन गर्दै आएका तरकारी तथा फलफूल नेपालमा उचित भण्डारण हुन नसक्दा खेर गइरहेका अवस्थामा यो शीतमण्डार नमूना हुने कृषि उद्यमीहरुको पनि विश्वास छ ।

अध्यक्ष दत्त भन्छन्, ‘शीतभण्डार परिसरमा आइस प्लान्ट, प्रशासनिक भवन, प्लान्ट तथा विद्युतगृह, जेनेरेटर सेड, स्टाफ क्वाटर, गार्डकोठा रहने छ भने भवनको लम्बाई ४८ मिटर, चौडाई ४०.८५ मिटरर उचाई ९.५ मिटरको रहेको छ ।’

‘यो शीतभण्डार गृह नेपालका लागि यसर्थमा पनि नमूना बन्दै छ कि यसखाले भवन निर्माणको उद्देश्य सहकारी अभियानको वास्तविक मर्मलाई यसले अंगीकार गरेको छ,’ एक कृषक सदस्यले भने, ‘यसले आत्मनिर्भतालाई टेवा दिएको छ भने यसको निर्माणमा पनि सबैको सामूहिक सहभागिता रहेको छ ।’

यसले आत्मनिर्भर अर्थतन्त्रमा योगदान पु¥याउने र मुुलुकलाई किसानमुखी बनाउन सहयोग गर्ने छ ।

सरकार आफैले समेत बनाउन नसकेको यो नमूना कार्यले संघीय सरकार र प्रदेशहरुलाई समेत मुलुक बनाउने, कृषि र कृषकलाई न्याय दिने कामको सुरुआत गर्ने छ ।

निर्माण संवाददाता सरस्वती चौलागाईलाई आफ्नो धारणा राख्दै अध्यक्ष दत्तले भने, ‘यसले हाम्रा सदस्यहरुको जीवनमा वास्तवमै परिवर्तन ल्याउने छ । जीवनभर कृषि कर्म गरेर छोरी विवाह गराउन पनि नसक्ने कृषकलाई कम्तीमा कृषि कर्म र बजारसम्म जोडेर लागत उठाउने र मुनाफा आर्जन गर्ने दिशामा इँटा थप्ने छ ।’

यतिबेला अध्यक्ष दत्त संघीय सरकारबाट बाँकी अनुदान निकासा गराउनका लागि काठमाडौंमै दौडधूप गरिरहेका छन् ।

उनी सरकारबाट पाउने सहयोगप्रति विश्वस्त छन् । उनका अनुसार यस प्रकारको शीत भण्डार निर्माणले अन्य कृषिका पकट क्षेत्रहरुमा समेत उच्च क्षमताका शीतभण्डारण निर्माण कार्यमा थप प्रेरणा दिने छ ।

र, मुलुकलाई तरकारी, फलफुल र खाद्यान्नमा आत्मनिर्भर बनाउने छ भने खाद्य सुरक्षामा पनि टेवा दिने छ । विदेश जाने युवाहरुलाई समेत यस्ता कृषि पूर्वाधारहरु बन्दै गए भने मुलुकमै केही गर्ने जाँगर पलाउने उनको भनाइ छ ।


०००



प्रकाशित: २०७६ चैत्र ३०
April 12th 2020

सरस्वती चौलागाईं

सहकारी तथा बजार सम्बन्धित हुनुहुन्छ