र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी युवती उपचार सुरु नहुँदै मृत्युः ‘उनमा ब्लडक्यान्सर रहेछ’ !
निर्माण सञ्चार, १४ वैशाख, वीरगन्ज । र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) पोजेटिभ देखिएकी तर ब्लडक्यान्सरको रोगी रहेकी एक वीरगन्जकी एक युवतीको मृत्यु भएको छ ।
युवतीको वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको हो । उनको शव यतिबेला अस्पतालमै रहेको छ ।
वीरगन्ज–१० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो ।
अस्पताल आउने बित्तिकै आरडिटी परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ ।
अस्पताल स्रोतका अनुसार उनलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको हो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार उनी ब्लड क्यान्सरको बिरामी थिइन् ।
उनलाई स्वास्थ्यमा समस्या देखिएपछि ०७६ चैत ५ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो । अस्पतालमा जाँचपछि ब्लड क्यान्सर भएको प्रमाणित गर्दै प्रारम्भिक उपचारपछि चैत ९ गते डिस्चार्ज गरिएको थियो ।
तर, विभिन्न केही अस्पतालमा पटक पटक उपचार गरिएको थियो । परिवारजनका अनुसार ती युवतीको इङ्गेजमेन्ट (टीकाटालो) भइसकेको अवस्था थियो । तर, बिबाह हुन बाँकी थियो ।
उनको मृत्युपछि उनका सबै परिवार सदस्यहरुलाई होम क्वारेन्टाइनमा बस्न स्थानीय पालिका र सुरक्षा निकायले आग्रह गरेको छ ।
प्रकाशित: २०७७ बैशाख १४
युवतीको ब्लड क्यान्सरले मृत्यु !
ती युवतीको ब्लड क्यान्सरले मृत्यु भएको पुष्टि भएको छ । युवतीको र्यापिड डाइग्नोस्टिक टेस्टमा तीन पटक कोरोनाको एन्टिबडी देखिए पनि पिसिआर परीक्षणको नतिजा भने नेगेटिभ आएको छ। हेटौंडास्थित प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा युवतीमा कोरोना नेगेटिभ देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदककुमार उपाध्यायले जानकारी दिएका हुन्। युवती केही समयदेखि ब्लड क्यान्सरको बिरामी थिइन्। उनी वैशाख ४ गते चितवनको भरतपुर क्यान्सर अस्पताल भर्ना भएर ९ गते डिस्चार्ज भएकी थिइन्। त्यसपछि पनि श्वासप्रश्वासमा समस्या आएकाले युवतीलाई वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले कोरोनासँग मिल्ने लक्षण देखिएको भन्दै र्यापिड टेस्ट गरेको थियो। ०००प्रकाशित: २०७७ बैशाख १४
April 26th 2020
प्रतिक्रिया दिनुहोस्