नेपाली समय: ०३:००:५० बिहान
वि.सं २०८० मंसिर २१   बिहीवार

स्वास्थ्य मन्त्रीलाई युवा संघको ‘बधाई सन्देशः ‘देशैभरका अस्पतालको अवस्था हातमै हेर्न मिल्ने प्रविधिको विकास गर्नेदेखि ‘भ्याक्सिन भोलेन्टियर’ परिचालन गर्नेसम्म

निर्माण सञ्चार, २५ जेठ, ०७८, काठमाडौं

सत्तारुढ दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले कोभिड–१९ विरुद्धको खोपको प्रभावकारी परिचालन गर्ने उद्देश्य राखेर देशैभर ‘भ्याक्सिन भोलेन्टियर’ परिचालन गर्ने घोषणा गरेको छ । 

पहुँचका आधारमा तथा सुगम क्षेत्रमा मात्र कोभिड–१९ का खोपहरु केन्द्रित भइरहेको जनगुनासो बढिरहेको अवस्थामा संघले खोपको सर्वसुलभता र सामान्य नागरिका पहुँचमा समेत पुग्ने गरी देशैभर खोप प्रभाकारीताका लागि सहयोगी अभियान सञ्चालन गर्न लागेको हो ।

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई बधाई तथा शुभकामना दिँदै संघले यस्तो कार्यक्रमको घोषणा गरेको छ । ‘सरकारले खोपको वितरण गर्ने तर पहुँचका आधारमा मात्र खोप वितरण हुने हो भने सर्वसाधारण र दुर्गमका जनताले कहिले खोप पाउने हो त ?’ संघका अध्यक्ष किरण पौडेलको प्रश्न छ । 

उनले ‘भ्याक्सिन भोलेन्टियर’ अभियान सरकारको खोप वितरणको परिणाममुखी कामका लागि सहयोग गर्ने तथा त्यसमा भइरहेका विलम्ब सहितका विभिन्न अवरोध वा विकृति हटाउन समेत खबरदारी हुने बताएका छन् ।

अध्यक्ष पौडेलका अनुसार उक्त अभियान देशैभर वडावडा तहसम्म फैलाइने छ । एक वडा १० युवा स्वयम्सेवीका रुपमा कोभिड–१९ को खोप प्रभावकारी वितरणका लागि युवा स्वयम् सेवी परिचालन गर्न लागिएको उनले प्रस्ट्याए ।

‘देशैभरका अस्पतालको अवस्था र सेवाबारे हातहातमै सूचना पाउने प्रविधि चाहियो’ 

नवनियुक्त स्वास्थ्य मन्त्री तामाङ तथा युवा तथा खेलकुद मन्त्री एकवाल मियाँलाई स्वागत गर्न नयाँ बानेश्वरस्थित आफ्नै कार्यालयमा आयोजित विशेष कार्यक्रममा बोल्दै संघका अध्यक्ष पौडेलले ‘प्रविधिमैत्री स्वास्थ्य सेवा’ योजना समेत सुनाएका छन् ।

केही दिन अघि युवा संघ पदाधिकारी लगायत स्थानीय नेतृत्वले देशका केही जिल्लाहरुको भ्रमण गरेको थियो । भ्रमण क्रममा उनीहरुले देशका स्थानीय जनस्वास्थ्य चौकीदेखि बजारमा रहेका स्वास्थ्य संस्था तथा अस्पतालमाथि अध्ययन गरेको थियो ।

त्यही अध्ययनको निष्कर्ष सुनाउँदै सो बधाई तथा शुभकामना कार्यक्रममा संघका अध्यक्ष पौडेलले भने, ‘हामीले गरेको यस्तो अध्ययनले के देखायो भने अबको स्वास्थ्य सेवा आइटी प्रविधिमा आधारित हुन आवश्यक छ । ताकि देशैभरका अस्पतालहरुमा भइरहेको कोभिडको अवस्था, उपचारको क्षमता, आइसियू, भेन्टिलेर सेवादेखि एम्बुलेन्स सेवासम्मको अवस्था हातको मोबाइल खोलेर हेर्दा थाह पाउन सकियोस् ।’

जसले पनि सोझै अस्पतालको सूचनाप्रविधि युनिटमा सम्पर्क गरेर सेवा लिन सक्यो भने अक्सिजन नपाएर, आइसियु खोज्दाखोज्दै ज्यान जानेसम्मका अवस्थाहरुमा समेत सुधार आउन सक्ने अध्यक्ष पौडेलको दाबी छ ।

संघले उक्त कामका लागि स्वास्थ्य मन्त्रालयले छिटै नै कदम चालोस् भन्ने माग समेत गरेका छन् । उनका अनुसार मन्त्रालयमा रहने प्रविधि वा आइटीसम्बन्धी विभाग वा इकाइले यो कामको समन्वय गर्न सक्ने छ । 

उनको भनाइमा– आजको युग प्रविधिमैत्री युग हो । स्वास्थ्य क्षेत्रमा उपचारमा ठगिने याबत् समस्या, उपचारको शुल्क, अस्पतालको जनशक्ति, प्रविधि शक्ति, उसको सबै ल्याकतबारे सर्वसामान्यले पनि आफ्नो मोबाइल खोलेर सूचना पाउन सक्ने छन् । त्यसले गर्दा स्वास्थ्य सेवाभित्र भइरहेको अपरादर्शी कामहरु समेत पारदर्शी बन्न सहयोग पुग्ने छ ।

कोरोना महामारी कतिपय निजी अस्पतालहरुका लागि कमाउ धन्दा समेत बनिरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयले सोका लागि आवश्यक कर्मचारी सहितका स्वयम् सेवी संस्थाहरुको सहयोगमा देशव्यापी अनुगमन समेत गर्न संघले मन्त्री समक्ष माग गरेको छ ।

स्वास्थ्यमन्त्री तामाङ सकारात्मक

आफूलाई स्वागत, बधाई तथा शुभकाना दिन संघले आयोजना गरेको सो कार्यक्रममा सहभागी युवा स्वास्थ्य मन्त्री तामाङले आफ्नो राजनीतिक पृष्ठभूमि समेत युवा संघ नै रहेको समेत स्मरण गरेका थिए ।

उनले भने, ‘म युवासंघबाटै हुर्किएको मान्छे हुँ । तर देशका तमाम जनताहरुको मन्त्री हुँ, अन्य राजनीतिक दलका युवा संघसंस्थाको पनि म सहयोग चाहन्छु । मलाई युवाहरुसँग भरोसा छ । यहाँहरुले सिर्जनात्मक सहयोगको भूमिका खेल्नु पर्ने छ ।’

एक हिसाबले स्वास्थ्य मन्त्रालयको कामबारे भइरहेका अनर्गल प्रचारदेखि प्रभावकारितामा भइरहेका समस्या चिर्न समेत युवाहरुको भूमिकाको खाँचो रहेको भन्दै मन्त्री तामाङले थपे, ‘मुलुकलाई कोभिड–१९ मुक्त अभियानमा जुटेको हुनाले त्यसका लागि युवा सहयोगको हात बढाउन आएको हुँ, सोही अपेक्षा मैले राखेको छु ।’

मन्त्री तामाङले संघले दिएको सुझाव समय सापेक्ष भएको प्रतिक्रिया दिएका थिए । मन्त्रालय आफैले सोच्ने सोच समेत सुझावका रुपमा आएको भन्दै मन्त्री तामाङले प्रविधिमैत्री स्वास्थ्य सेवाबारे आफू सकारात्मक भएको समेत बताएका छन् । सोका लागि आफूले सक्नेसम्म गर्ने पनि उनको भनाइ छ ।

मंगलबारै मात्र युवा संघले आफ्नो कार्यालयमा नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री उमाशंकर अरगरिया समेत पुगेका थिए ।

संघले तीनवटै मन्त्रीहरुलाई ससम्मान बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको मात्र थिएन, बरु मन्त्रीहरुलाई प्रभावकारी र परिणाममुखी काम कसरी गर्न सकिन्छ भनी सुझाएको थियो । 

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष बचनबहादुर सिंह, महासचिव रमेश आचार्य लगायत उपाध्यक्षहरु, सचिव तथा विभागीय प्रमुख नेताहरुको उपस्थिति रहेको संघका महासचिव आचार्यले जानकारी दिए ।

 

 

 

०००



प्रकाशित: २०७८ जेठ २५
June 8th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार