नेपाली समय: ०३:०३:०४ बिहान
वि.सं २०८३ आषाढ १६   मंगलवार

विद्यालय तहमा पुनः संस्कृत पठनपाठन हुनेः पाठ्यक्रम तयार

निर्माण सञ्चार, २४ वैशाख, काठमाडौं । पाठ्यक्रम विकास केन्द्र सानोठिमीले स्थानीय विषयका रुपमा संस्कृत विषयको  पाठ्यपुस्तक तयार पारेको छ । केन्द्रले कक्षा १ का लागि स्थानीय विषयको रुपमा  ‘अस्माकम् संस्कृतम्’ को पाठ्यपुस्तक तयार पारेको हो ।

  • आउँदो वर्ष कक्षा २, ३ र ६ मा नयाँ पाठ्यक्रम लागू गरिने र ती तहहरुका लागि पनि संस्कृत भाषाका पाठ्यपुस्तक तयार गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए
यसअघि विद्यालयतहमा संस्कृत अनिवार्य विषयको रुपमा अध्यापन हुने गर्दथ्यो । पछि ऐच्छिक बनाइएपनि लामो समय टिक्न पाएन ।अहिले आएर पुनः केन्द्रले साधारण विद्यालयमा पनि कक्षा १ देखिनै पढ्न पाइनेगरी पाठ्यक्रम निर्माण गरेको हो ।

अहिले यसलाई अनिवार्य नभई स्थानीय विषयका रुपमा तयार पारिएको केन्द्रका निर्देशक टुकराज अधिकारीले जानकारी दिए ।

राष्ट्रिय पाठ्यक्रम प्रारुप लागू गर्ने क्रममा कक्षा १ को पाठ्यपुस्तक तयारीबाटै केन्द्रले शुरुको चरणलाई कार्यान्वयनमा ल्याएको हो । साथै, भाषा आयोगले पनि संस्कृत विषयलाई पाठ्यक्रममा राख्न सरकारलाई सिफारिश गरेको थियो ।

आयोगको सिफारिशलाई समेत आधार मान्दै राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले गत माघ २ गते संस्कृतलाई स्थानीय विषयका रुपमा पाठ्यक्रम तथा पाठ्यपुस्तक बनाई लागू गर्ने निर्णय गरेको थियो ।

संस्कृतमा कक्षा १–८ सम्मका लागि पाठ्यक्रम तयार भइसकेको निर्देशक अधिकारीले जानकारी दिए ।

आउँदो वर्ष कक्षा २, ३ र ६ मा नयाँ पाठ्यक्रम लागू गरिने र ती तहहरुका लागि पनि संस्कृत भाषाका पाठ्यपुस्तक तयार गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

अधिकारीले भने– ‘अब विद्यालयहरुले स्थानीय विषयका रुपमा कक्षा १ बाटै संस्कृत पढाउन सक्नेछन् ।’

जम्मा १६६ पृष्ठ रहेको अस्माकम् संस्कृतम् पुस्तकमा सरस्वती वन्दना, वर्णज्ञानम्, मम परिवारः, मम दिनचर्या, मम समुदायः, अस्माकम् विद्यालयः, अस्माकम् पर्यावरणम्, मम रचना, मम संस्कृतिः सञ्चारप्रविधिः बाह्यसम्पर्कः च लगायत पाठ रहेका छन् ।


०००

स्रोतः एजुकेसनपाटी



प्रकाशित: २०७७ बैशाख २४
May 6th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार