नेपाली समय: ०२:५७:२५ बिहान
वि.सं २०७७ साउन २०   मंगलवार

‘भूमि मिचिनु असह्य पीडाको विषय हो’, सुदूरपश्चिम सरकारको मागः ‘कालापानीमा तत्काल उच्चस्तरीय अनुगमन गरियोस्’

निर्माण सञ्चार, २९ वैशाख, धनगढी । विभिन्न संसदीय समितिहरुमा समेत जोडदार माग गरिए अनुरुप सुदूरपश्चिम प्रदेश सरकारले पनि नेपाली सीमा लिपुलेक कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गर्न संघीय सरकारसँग माग गरेको छ । 

भारतले नेपाली भूमिमा सडक निर्माण गरेको कुरा उठेपछि मुख्यमन्त्री भट्टले उच्चस्तरीय अनुगमन गरी वास्तविकता ल्याउन माग गरेका हुन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले सार्वभौम राष्ट्रका जनताका लागि भूमि मिचिनु असैह्य पीडाको विषय रहेको भन्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारीसँग बुझ्दा नेपाली भूमिमा सडक बनाएको भन्ने पुष्टि भएको पनि बताए । 


उनले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषदले पहिले नै सो सीमा क्षेत्रमा सुरक्षा पोष्ट स्थापना गर्न कूटनीतिक पहल गर्न भनेको पनि बताएका छन् । मुख्यमन्त्री भट्टका अनुसार, उक्त स्थलमा नेपाली जनताले नेपालकै भूमि भएर ओहोरदोहोर गर्न मिल्नेगरी पैदल मार्ग निर्माण गर्न र कूटनीतिक पहलबाट समस्याको हल गर्न पनि पाउनु पर्ने माग गर्दै संघीय सरकारसँग अनुरोध गरेको छ ।

मुख्यमन्त्री भट्टले त्यस कामका लागि प्रदेश सरकारले पनि बजेटमा सहकार्य गर्ने बताए ।

सुदूरपश्चिम प्रदेश दार्चुलाको लिपुलेक मिचिएको विषय उठाएर खबरदारी गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् । राष्ट्रियताको यो विषयमा संयमित भएर एकजुट हुनुपर्ने उनको भनाइ छ । 

यता गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले कालापानी क्षेत्रमा प्रहरी चौकी र पोस्ट राख्न पहल गरिसकेको पनि बताएका छन् ।

 

०००
 



प्रकाशित: २०७७ बैशाख २९
May 11th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार