नेपाली समय: ०९:१७:११ राती
वि.सं २०७७ साउन २४   शनिवार

अब दार्जुलाबासी दिन फर्किने भएः सदरमुकाम जान भारत टेक्नै नपर्ने गरी सेनाले सडक खन्दै

निर्माण सञ्चार, ९ जेठ, काठमाडौं । नेपाली जनता भएर पनि दार्चुलाबासी जनताहरु सीमा नाका जस्तो ठाउँमा लामो समयदेखि सीमा कुरुवा तर भारतीयको डरभरमा बस्दै आउनु परेको यथार्थ सबै सामू छर्लंग छ ।

यतिसम्म कि, उनीहरु आफ्नो सदरमुकाम जान पनि भारतीय भूमि हुँदै जानु पर्छ । जहाँसम्म पुग्न आफ्नै भूमिभित्रको न बाटो न यातायात सुविधा नै छ ।

नेपाल सरकारले लिम्पियाधुरा समेत समेटेर नयाँ नक्सा जारी गरेसँगै अब यहाँ नेपाली सेनाले सडक बनाउने भएको छ । 

दार्चुलाको घाँटीबगर क्षेत्रमा बाटो बनाउन नेपाली सेनाको एक टोली होलिकोप्टर सहित त्यहाँ पुगेको छ। 

नेपाल सरकारको गत वैशाख १४ गतेको मन्त्रिपरिषदको निर्णयबमोजिम महाकाली करिडोर अन्तर्गतको दार्चुला टिंकर सडक योजना बनाउने जिम्मा नेपाली सेनाले पाएको छ । 

सेना सडक बनाउन त्यहाँ पुगेको हो। 

यस अन्तर्गत दार्चुला टिंकर सडक योजना रहेको छ । जसको उत्तरतर्फको ८७ किलोमिटर सडक खण्ड सेनाले बनाउने छ । 

तत्कालका लागि भने नेपाली सेनाले दार्चुलाको व्यास गाउँपालिका २ को घाँटीबगर इलाकामा ४५० मिटर बाटो निर्माण गर्ने सैनिक स्रोतले जानकारी दियो ।

२ मिटर फराकिलो बाटो बन्ने भएपछि स्थानीय दंग छन् । केही दिनभित्रै उक्त सडक बनिसक्ने छ । यो सडक बनेपछि स्थानीयहरु अब आफ्नो घर वा सदरमुका जान पनि पहिलेजस्तो भारत हुँदै जानुपर्ने बाध्यताबाट मुक्त हुने भएका छन् ।

सो ४५० मिटर बाटो निर्माण गर्न भन्दै नेपाली सेनाको सेक्सन प्लस फौज हिजो बिहीबार मात्रै दार्चुलाको थी भन्ने स्थानमा पुगेको हो । 

सेनाका अनुसार हिजैबाट त्यहाँ निर्माण सामाग्री पुगेको छ । अब सडक निर्माणको काम पनि सुरु गरिसकेको छ । 

बाटो बनेपछि छाङरुङ र टिंकरका १८२ घरका १२ सय परिवार सदरमुकाम आउजाउ गर्न भारतीय भूमि हुँदै आउजाउ गर्ने दिन सकिने छन् । 

यो क्षेत्र चीन र भारतको सीमा नाकामा पर्छ । दार्चुला जिल्लाको व्यास गाउँपालिका १ मा पर्ने छाङरुङ र टिंकर गाउँका करिब १८२ घर परिवारका १२ सय जना स्थानीयलाई जिल्ला सदरमुकाम खलंगा आवतजावत गर्न पनि बाटो खुल्ने भएको हो । 

केही समय अघि व्यास २ को मौरी भीरमा ठूलो चट्टान र घाँटीबगरमा पहिरो गएपछि आवतजावत गर्न समस्या भएको एक स्थानीयले भने ।

यसबारे सेनाले पनि विज्ञप्ति जारी गरी काम सुरुआत भएको जनाएको छ । उसले भनेको छ, ‘स्थानीय बासिन्दाले हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्दै आइरहेका छन्। अब सेनाले अबिलम्ब उक्त बाटो निर्माण तथा मर्मत गर्ने छ । स्थानीयलाई पनि विकासको मूलधारको अनुभूति हुने छ ।’

०००



प्रकाशित: २०७७ जेठ ९
May 22nd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार