नेपाली समय: ११:५३:१९ राती
वि.सं २०७७ आश्विन १४   बुधवार

शिक्षण अस्पतालमा सुत्केरी भएकी बाह्रबिसेकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु, कारण आउँदै

निर्माण सञ्चार, ३ जेठ, काठमाडौं । आजको ठीक ९ दिनअघि काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी बाह्रबिसे स्थायी निवासी एक महिलाको उपचार क्रममा काभ्रेस्थित धुलिखेल अस्पतालमा मृत्यु भएको छ।

‘उनी सुत्केरी पछि बाह्रबिसे घरै फर्किएकी थिइन्’, परिवार स्रोत भन्छ, ‘सास फेर्न गाह्रो भएपछि फेरि अस्पताल ल्याएको थियौं ।’

२९ वर्षकी ती महिलामा श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो। जसको शुक्रबार बेलुका धुलिखेल अस्पतालमा निधन भएको हो।

काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सुत्केरीको मृत्यु भए पनि के कारणले भन्ने नखुलेको बताएका छन्।

अस्पतालले उनको मृत्युमाथि कोरोना लक्षण अनुमान गरे पनि परीक्षणले पुष्टि हुन बाँकी रहेको बताएको छ ।

श्वासप्रश्वासको समस्या देखिएको भन्दै अस्पतालले नै कोरोनाभाइरसको आशंकामा पिसिआर परीक्षण गर्न टेकु पठाइएको छ । रिपोर्ट भरे साँझसम्म आउने अनुमान गरिएको छ । 

तर, अस्पतालका प्रवक्ता सुमनराज ताम्राकारले भने श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल ल्याउँदै गर्दा बाटोमै सुत्केरीको निधन भइसकेको दाबी गरेका छन् । 

उनले भने, ‘सुत्केरीलाई अस्पताल ल्याइउँदा नै उहाँको निधन भइसकेको हाम्रो रिपोर्ट छ । ‘श्वासप्रश्वासको समस्या भएपछि उहाँलाई अस्पताल ल्याइएको थियो। अस्पताल ल्याइनुअघि बाटोमै उहाँको मृत्यु भएको हो ।’

अस्पतालले औपचारिक घोषणा मात्रै गरेको अस्पताल स्रोतको भनाइ छ । यतिबेला सुत्केरीको शव अस्पतालमै रहेको छ ।

धुलिखेल अस्पतालले उनको रिपोर्ट नआई के कारणले मृत्यु भयो भन्ने यकिन नहुने बताएको छ ।

 

०००

 

 



प्रकाशित: २०७७ जेठ ३
May 16th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार