नेपाली समय: ०४:१२:५९ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

अबका दिनमा के गर्छ युवा परिषद्– ‘युवा उद्यमका लागि ‘क्याटालिस्ट’को भूमिका खेल्छ’ ढुंगेल

निर्माण सञ्चार, १६ जेठ, काठमाडौं । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्षका रुपमा माधव ढुंगेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । र, आजै परिषद्को कार्यालयल सानो ठिमी भक्तपुर पुगेर एक विशेष समारोहबीच उनले पदभार ग्रहण समेत गरेका छन् ।

उनलाई युवा तथा खेलकुद मन्त्री जगत्बहादुर विश्वकर्माले मन्त्रालयमा सपथ गराएका हुन् । परिषद्का लागि ढुंगेलको यो दोस्रो कार्यकालको जिम्मेवारी हो । 

सपथ लगत्तैको सम्बोधन क्रममा कार्यकारी उपाध्यक्ष ढुंगेलले अबका दिनमा परिषद्ले युवाहरुलाई स्वरोजगार, उद्यमशीलता, नेतृत्व विकास, युवा वैज्ञानिक निर्माण तथा स्वयम्सेवी कार्यमा युवा परिचालन गर्ने मुख्य पाँच कार्यभार परिषद्का अगाडि रहेको बताए ।

उनले भने, ‘सम्भवतः सरकारले मलाई नै यो जिम्मेवारी पुनः दिनुका पछाडि राज्यको उद्देश्य मुताबिक प्रारम्भिक तहका कामहरु भएका तर अब पूरा गर्न बाँकी कामका लागि अघिल्लो अनुभव पनि काम लाग्ने ठानेरै यो जिम्मेवारी दिइएको हो भन्ने मलाई लागेको छ ।’

उनले आफ्ना अगाडि १० वर्षे युवा लक्षित भिजन र कोरोना महामारीले सिर्जना गरेको युवा बेरोजगारिता आदि समस्यामा परिषद्को काम जोड्ने बताए ।

उनका अनुसार अबका दिनमा युवा परिषद्ले युवा जनशक्ति व्यवस्थापनका लागि राज्यलाई सहयोगी भूमिका खेल्ने हो । र, स्वरोजगार तथा युवा उद्यमका दिशामा क्याटेलिस्टको भूमिका खेल्ने हो ।

यस अघिको चार वर्षमा युवा परिषद्लाई जिरो तहदेखि देशव्यापी संस्थाका रुपमा स्थापित गर्न सकेका ढुंगेलले युवाहरुका मुद्दा, माग, चरित्र र आवश्यकताबारे कार्यक्रमिक रुपमा सरकार, योजना आयोगलाई समेत कन्भिन्स गर्न सकेका रुपमा विज्ञहरु अथ्र्याउँछन् । प्रारम्भिक फेज भएर सोचे जति परिणाम नदेखिए पनि युवा मुद्दाको आधारशीला बने तय भइसकेको उनीहरुको बुझाइ छ । 

उनले हरेक वडामा एक वडा १० युवा, एक उद्यम नीति लिए । पछि यसलाई नै हरेक पालिकामा एक युवा समिति, एक उद्यम जस्तो नीति लिएर प्रदेशदेखि नगर तथा गाउँपालिकासम्म परिषद् स्थापन गरी स्थनीय तहबाटै युवा मुद्दाहरु सम्बोधन गर्न मूर्त परिणाम दिने बताए । 

युवा स्वरोजगार जस्ता विभिन्न युवामुखी सरकारी निकायहरुको औचित्य माथि नै प्रश्न उठिरहेकै बेला ढुंगेलले परिषद् स्थापनाका प्रारम्भिक वर्षहरुमा यही मुद्दा बोकेर सुरुदेखि नै अर्थमन्त्रालय, योजना आयोग जस्ता निकायलाई कन्भिन्स गरेका थिए ।

युवा विद्यार्थी आन्दोलनको पृष्ठभूमिबाट आएकै कारण ढुंगेलले विभिन्न अवसरमा युवा स्वयम्सेवीहरु समेत परिचालन गर्दै आइरहेका छन् । 

परिषद्ले अघिल्लो कार्यकालमै वैदेशिक रोजगारीबाट फर्किएकाहरुको देशव्यापी सञ्जाल ‘रिटर्नी माइग्रेन्ट’ संस्था मार्फत् विदेशबाट फर्किएका युवाहरुलाई विभिन्न वित्तीय संस्थामा जोड्दै उद्यमशीलतामा जोड्ने काम गरेको छ । 

यस बीचमा प्रदेश नम्बर–१ मा युवा उद्यमशील तालिमका लागि इन्कुबेसन सेन्टर बन्ने गरी सम्झौता भइसकेको छ भने काठमाडौं विश्वविद्यालयसँग जोडिएर युव वैज्ञानिक कार्यशाला भवन बन्ने तयारीमा छ । 

संघीय संरचना अनुसार युवा परिषद् सम्बन्धी ऐन अहिले पनि संसदमा गएको छैन । उक्त ऐनले हरेक पालिकादेखि जिल्ला, प्रदेशसम्मका संरचनाहरु तयार गर्ने नयाँ खाका दिने उपाध्यक्ष ढुंगेलको भनाइ छ । 

आउने यो वर्षभित्र परिषद्को ऐनले पूर्णता पायो भने परिषद् प्रदेश तथा स्थानीय पालिका तहमा समेत संरचना खडा हुने छ । त्यसो भएमा चाहिँ परिषद्ले परिणाममुखी काम गर्न सक्ने उपाध्यक्ष ढुंगेलको बुझाइ छ । 

कोरोना पछि सम्भवतः १५ लाख वा हाराहारीमा युवाहरु स्वदेश फर्किने अनुमान छ । ती युवाहरुलाई ‘स्टार्ट अप’ कर्जा सहुलियत दिने कुरामा आज अर्थमन्त्रालले बजेट मार्फत् नै सम्बोधन गरिसकेको अवस्था छ । जबकि, यही मुद्दा बोकेर ३ वर्ष अघि ढुंगेल सिंहदरबारका कोठाकोठा दौडिएका देखिन्थे । 

विद्यार्थी संगठनहरु सहित सर्टिफिकेट धितो राखेर उद्यमशील कर्जा पाउने लगायत मुद्दामा उनले सिर्जनात्मक भूमिका खेलेका छन् । 


युवा आन्दोलनको माग बमोजिम नेपाल सरकारले राष्ट्रिय युवा परिषद् गठन गरेको हो । यसले पाँच पिलर अन्तर्गत १० वर्षे युवा रणनीति बोकेर काम गरिरहेको छ । 

सपथ समारोहमा बधाई तथा शुभकामना दिदै मन्त्रालयका सचिव रामप्रसाद थपलियाले अघिल्लो कार्यकालमा सफलता पूर्वक राज्यले दिएको भूमिका अपेक्षाकृत उचाइमा पुराउन सफल भएकै कारण ढुंगेललाई सरकारले यो जिम्मेवारीमा पुनः बहाली गरेको बताए । 

उनले भने, ‘अघिल्लो कार्यकालमा उहाँ (ढुंगेल) ले परिषद्लाई जुन प्रारम्भिक अवस्थाबाटै उठाउनु भयो । देशव्यापी रुपमा परिषद्लाई स्थापित गर्नुभयो । त्यति मात्र नभई युवाका मुद्दा, सरकारले नीतिगत रुपमा तोकेका युवा लक्षित कार्यक्रमहरुलाई सफलतापूर्वक समन्वय गर्न सक्नुभयो । युवा मुद्दाहरु स्थापित गर्र्ने काममा केही महत्त्वपूर्ण इनिसिएसन समेत परिषद्ले सकेको उहाँकै नेतृत्वमा हो भन्ने हामीलाई पनि लागेको छ । र, सरकारले पुनः यो जिम्मेवारी दिनुमा उहाँको त्यो अनुभवले अबका दिनमा राज्यले सोचेजस्तै युवा जगत्मा थप उचाइ लिने आशा पनि लिएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्यही भूमिकालाई मूल्यांकन गर्दै ढुंगेललाई जिम्मेवारीमा दोहोराएको हुन सक्ने सचिव थपलियको भनाइ छ । 

परिषद्को पहिलो कार्यकालको जिम्मेवारी पनि कार्यकारी उपाध्यक्षका रुपमा ढुंगेलले नै पाएका थिए । पहिलो कार्यकाल गत फागुन १९ गतेबाट पूरा भएपछि यो ३ महिना यता उक्त पद रिक्त थियो । 

मन्त्रिपरिषद्को गएको १२ गतेको निर्णयले उनलाई पुनः सोही जिम्मेवारी दिइएको थियो ।

०००

 



प्रकाशित: २०७७ जेठ १६
May 29th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार