नेपाली समय: ०१:२८:११ बिहान
वि.सं २०७७ आश्विन १४   बुधवार

जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा अब कुनै पनि शूल्क नलाग्ने

निर्माण सञ्चार,१४ भदौ, काठमाडौं । अब कुनै पनि  बैंकको एटीएमबाट अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा  शूल्क नलाग्ने भएको छ । बैंकहरुले कोरोनापछि जारी लकडाउनको अवधिमा जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको थियो ।

तर लकडाउन अन्त्य भएसँगै साउन १ देखि केही बैंकले पुनः शुल्क लिन थालिएको थियो। अब भने एउटा बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा कुनै शुल्क नलाग्नेगरी नीतिगत व्यवस्था भएको छ। कोरोना भाइरसको जोखिम बढ्दै गएपछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तिय संस्था संघले सयुक्त विज्ञप्ती जारी गरी यस्तो निर्णय गरेका हुन् ।

यसअघि फरक नेटवर्कका नाममा बैंकले एकअर्काको कार्ड फरक एटिएममा प्रयोग गर्दा निश्चित शुल्क लिँदै आएका थिए।

तर राष्ट्र बैंकले विद्युतीय भुक्तानी कार्ड सञ्चालनबारे नीतिगत सम्बोधन गर्दै अब अन्तर एटिएम कारोबारमा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

अबका दिनमा जारी गरिएको कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अघि नै ग्राहकलाई एसएमएसमार्फत सूचना दिनुपर्ने छ । तर, त्यसरी सूचना दिँदा एटीएम कार्ड नवीकरणवापत लाग्ने शुल्कसमेत उल्लेख गर्नुपर्ने बताइएको छ ।

त्यस्तै सबै कार्ड चिपयुक्त हुनुपर्ने व्यवस्था गरिएको छ। एटिएम काउन्टरमा आवश्यक सहयोग चाहिएमा सम्बन्धित कर्मचारीको नाम र मोबाइल नम्बर तथा सम्बन्धित संस्थाको नाम, ठेगाना र टेलीफोन नम्बर ग्राहकले प्रष्टसँग देख्ने र बुझ्ने गरी नेपाली र अंग्रेजी भाषामा लेख्नुपर्ने व्यवस्था गरिएको छ।

कार्ड अड्किने, पैसा नआउनेजस्ता एटिएम कारोबारसम्वन्धी समस्या ग्राहकले तत्काल जानकारी गराउन सक्नेछन् भने बैंकहरुले समाधानका लागि तुरुन्त पहल गर्न सक्ने छन्।


दैनिक एटिएम कार्डबाट झिक्न पाइने रकमको सीमा सम्वन्धमा भने कुनै परिवर्तन गरिएको छैन। एक पटकमा २५ हजार र दैनिक १ लाख रुपैयाँसम्म पैसा झिक्न पाउने व्यवस्था यथावत राखिएको छ।

यो वर्ष मोबाइल तथा इन्टरनेट बैंकिङ कारोबारको सीमामा भने कुनै संशोधन गरिएको छैन । अहिलेलाई एटीएम सेवालाई निशुल्क गरिएमा अब डिजिटल भुक्तानीलाई समेत निशुल्क बनाउने राष्ट्र बैंक योजना रहेको छ ।


०००
 



प्रकाशित: २०७७ भाद्र १४
August 30th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार