नेपाली समय: ०३:२६:४० अपरान्ह
वि.सं २०८३ बैशाख ८   मंगलवार

सेयर बजारमा निरन्तर नयाँ रेकर्ड

निर्माण सञ्चार, २७ पुष,काठमाडौँ ।  केही महिनादेखि लगातार उकालो लागेको नेपालको सेयर बजार परिसूचक नेप्सेले आइतबार हालसम्मकै ऐतिहासिक उचाइमा पुगेर नयाँ किर्तिमान रेकर्ड राखेको छ ।  यो अहिलेसम्मकै उच्च कारोबार अंक हो। आइतबार सेयर बजार परिसूचक पहिलोपटक २२०० बिन्दुभन्दा माथि गएर इतिहासकै उच्च २२३५.७२ बिन्दुमा बन्द भएको छ ।

करिब ८ वर्षअघि सेयर बजार बढेर ११७५ बिन्दुमा पुगेको थियो । त्यसपछि बजार फेरि बढेर साढे चार वर्षअघि १८८१.४५ बिन्दु पार गरेको थियो । हाल बजार परिसूचक बढे पनि नेप्से १८८१.४५ हुँदाको बेलाको सेयरको मूल्यसम्म नपुगेको स्टक ब्रोकर्स एशोसिएशन नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले जानकारी दिए। “सेयर बजार परिसूचक नेप्से इन्डेक्स बढेको छ तर सेयरको मूल्य बढ्न बाँकी छ,” रानाभाट भन्छन् । हाल सेयर बजार परिसूचक बढ्नुमा बैंकको सस्तो ब्याजदर तथा केही नीतिगत सुधारजस्ता विषयले भूमिका खेलेको पनि उनको भनाइ छ ।

आइतबार कारोबार रकम पनि बढेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबारको उच्च रेकर्ड तोड्दै आइतबार नेप्से ४१.२४ अंकले बढेर हालसम्मकै उच्च २२३५.७२ बिन्दुमा पुग्दा बजारमा २०७ कम्पनीको एक करोड ५० लाख बढी कित्ता सेयर ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ रुपैयाँमा किनबेच भएको छ । गत बिहीबार ५ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार जीबन बिमा उपसमूहबाहेक सबै उपसमुहका सूचक सकारात्मक रहेका छन् भने प्रभु बैंकको सबैभन्दा धेरै ४० करोड २९ लाख धेरै रकमको सेयर किनबेच भएको छ ।

०००



प्रकाशित: २०७७ पौष २७
January 11th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार