
यमपञ्चकको तेस्रो दिन एकैदिन लक्ष्मी पूजा र कुकुर तिहार
निर्माण सञ्चार,२९ कात्तिक, काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।
आजै बिहान नदी, तलाउ वा धारामा गई स्नान गरेर सालका पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने गरिन्छ । यसरी नरक बगाएमा नरक जान नपर्ने शास्त्रीय मान्यता छ ।
लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ।
इमान्दारीपूर्वक घरको पहरेदारको रुपमा खटिने कुकुरलाई आज पूजा गरेर मिठा खानेकुरा खान दिएमा यमलोकको यात्रा गर्दा बाटोमा अवरोध नहुने धार्मिक विश्वास छ ।
आजै साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइन्छ । सन्ध्याकालमा लक्ष्मीपूजा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको आगमन होस्,’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा.गौतमले जानकारी दिए ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
०००
प्रकाशित: २०७७ कार्तिक २९
०००
प्रकाशित: २०७७ कार्तिक २९
November 14th 2020
प्रतिक्रिया दिनुहोस्