नेपाली समय: ०१:५०:३१ बिहान
वि.सं २०८१ मंसिर २३   आइतबार

पेट्रोलियम उत्खनन हुने दिन नजिकिदैः तेस्रो चरणको काम गर्न चिनियाँ टोली नेपाल आउँदै

निर्माण सञ्चार, ४ चैत, दैलेख। नेपालमै पेट्रोलियम पदार्थ उत्खनन सम्भव हुने दिन अब धेरै टाढा रहेको छैन । धमाधम काम अघि बढाउने हो भने केही महिनामै नेपालले आफ्नै मुलुकमा पेट्रोलियम उत्खनन गर्न सक्ने छ । 

जुन अन्तर्गतको तेस्रो चरणको काम गर्न नेपालमा चिनियाँ टोली आउँदै छ । यो चरणमा ड्रिलिङको अध्ययन गरिने छ । दैलेखी जिल्ला अधिकारीहरुका अनुसार चिनियाँ टोली यही महिना दैलेख आउने भएको हो। 

कोरोना महामारीका कारण केही समय रोकिएको पेट्रोलियम पदार्थ उत्खनन तथा अन्वेषणको कामले अब तीव्रता पाउने भएको हो ।

काम सुरु कहिलेबाटः कुन चरणमा पुग्यो ?

उक्त जिल्लामा गत ०७६ असोजदेखि पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गतको पहिलो चरणको काम सुरु भएको थियो । जुन सकिएको छ। 

यसबीचमा थप दोस्रो चरणको पनि काम सम्पन्न भएको स्रोत बताउँछ । अब तेस्रो चरणमा गरिने ड्रिलिङको पूर्वतयारीका लागि चिनियाँ टोली नेपाल आउन लागेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा गणेशनाथ त्रिपाठीले बताएका हुन् । 

चीनको टोलीले चैत १९ सम्म आउने भएको छ। 

चीनको टोलीले सम्बन्धित स्थलमा गएर ड्रिलिङका लागि भौगोलिक अवस्था, सडकको पहुँचलगायतका कुरामा अध्ययन गरेपछि विज्ञ टोली आएर चार किलोमिटर जमिन मुनी ड्रिलिङको काम गर्ने खानी तथा भूगर्भ विभागले जनाएको छ।

काम कहिलेसम्म हुन्छ ?

टोलीले दुईदेखि तीन महिनासम्म ड्रिलिङको काम सकाएर दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननका विषयमा गरिएको सम्झौताअनुसार यहाँको अवस्थाका बारेमा नेपाल सरकारलाई प्रतिवेदन बुझाउने छ।

सरकारसँग भएको सम्झौताअनुसार पहिलो चरणको काम दशैँ अगाडि सकिएको थियो । तर बाँकी काम तयारी अवस्थामै कोरोना महामारी शुरु भएकाले पेट्रोलियम पदार्थ उत्खननको काम रोकिएको थियो। 

नेपाल सरकारसँगको सम्झौताअनुसार चीन सरकारको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सेस्मिक, जियोलोजिकल, म्याग्नेटो टेल्युरिक, जिओ केमिकल स्याम्पलिङ गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सकाएको डा त्रिपाठी बतउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्ने चीन सरकारसँग सहमति भएको थियो। 

सहमतिअनुसार नेपाल सरकार खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चीन सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम खानी अन्वेषण उत्खनन गर्ने सम्झौता भएको थियो। 

दैलेखमा सदिऔँदेखि ज्वाला बल्दै आएका श्री स्थान, नाबिस्थान, पादुका, तल्लो डुङ्गेश्वरलगायतका क्षेत्रलाई आधार मानी चीनको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन टोलीले काम गर्दै आएको छ।


०००



प्रकाशित: २०७७ चैत्र ४
March 17th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार