नेपाली समय: ११:५७:२१ राती
वि.सं २०७६ मंसिर २०   शुक्रवार

‘इच्छुक’ पत्रकारिता पुरस्कार पाएसँगै थापाको घोषणाः ‘डिबेट्स अन प्रेस फ्रिडम’को नेपाली अनुवादमा खर्चने छु’

मंगलबार, १४ जेठ, निर्माण सञ्चार, काठमाडौं । कृष्णसेन ‘इच्छुक’ जसको नाम नेपाली बाम आन्दोलनको अभिन्न अंगका रुपमा स्थापित छ । पत्रकारिता, जनपक्षीय आवाजको प्रतिनिधित्व गर्नेदेखि जनपक्षीय साहित्य सिर्जनासम्म ‘इच्छुक’ प्रेरणापुञ्ज बनेर स्थापित छन् । एउटा बलशाली नक्षत्र !

तत्कालीन माओवादी सशस्त्र ‘द्वन्द्व’ का बेला जनताका नाउँमा उत्सर्गका लागि होमिएकाहरु कयौंको जीवन फिर्ता ल्याउन सक्ने गरी कलम चलाएका ‘इच्छुक’ को कलम आजका दिनमा प्रेस स्वतन्त्रताको जुन बहस चलिरहेको छ, त्यो दिशामा समेत एउटा सशक्त पाठ हुन सक्छ, सरकार र प्रेस जगत्का लागि ।

यो सत्य बुझेका सूर्य थापाले सोही पुनित कर्ममा उनको नाउँबाट प्राप्त पुरस्कार सदुपयोग गर्ने घोषणा गरेका छन् ।

जनताका पक्षमा आवाज बुलन्द गरेकै नाउँमा कृष्णसेन ‘इच्छुक’ तत्कालीन तानाशाही सरकारको निशानामा थिए । जतिबेला काठमाडौंका गल्ली गल्लीमा ‘कहाँ छ कृष्णसेन ? को हो इच्छुक’ भनेर प्रहरी र सेनाले छापा मार्ने गर्थे, खोज्ने गर्थे ।

गोलीका विरुद्ध कलमको निशाना कति बलशाली हुन्छ भन्ने प्रतीक बनेका इच्छुकले कयौंको जीवन फिर्ता ल्याउन सफल रहे पनि दमनकारी सत्ताको पञ्जाबाट आफ्नो जीवन भने फर्काउन वा जोगाउन सकेनन् । अन्तिम सास रहेसम्म जनताको आजको मुक्तिको विहानीका लागि हिजोको कालारात्रिमा कलमद्वारा पौंठेजोरी खेल्ने नक्षत्रका रुपमा उनले आफ्नो जीवन उत्सर्ग गरेका थिए ।

तिनै सपूतका नाउँको पुरस्कार आज हिजोका पत्रकार, आजका विचारक तथा नेकपाका युवा नेता सूर्य थापाले पाएका छन् । आजको यो बिहानीका लागि विशेषगरी बामपन्थी पत्रकार, साहित्यकार, चिन्तक र विचारकहरु कृष्णसेन ‘इच्छुक’ प्रति ऋणी छन् । 

ऋण तिर्ने थापाको संकल्प 

त्यही ऋण तिर्ने घोषणा युवा नेता थापाले गरेका छन् । कसरी ?

पुरस्कार पाएलगत्तै थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘भूमि विकास आधारभूत विद्यालयमा पुरस्कारको ५० हजारमध्येबाट १० हजार र आफ्नो तर्फबाट १५ हजार गरी हाललाई २५ हजार रूपियाँको अक्षयकोष खडा गरी इच्छुकको स्मृतिमा जेहेन्दार विद्यार्थीलाई सहयोग गरिनेछ ।’

‘इच्छुक’ को कलम आजका दिनमा प्रेस स्वतन्त्रताको जुन बहस चलिरहेको छ, त्यो दिशामा समेत एउटा सशक्त पाठ हुन सक्छ, सरकार र प्रेस जगत्का लागि । यो सत्य बुझेका सूर्य थापाले सोही पुनित कर्ममा उनको नाउँबाट प्राप्त पुरस्कार सदुपयोग गर्ने घोषणा गरेका छन् ।

प्यूठान जन्मी हुर्केका थापाले इच्छुक जन्मेको धर्तीकै पूजा गर्ने अठोट लिएका हुन् ।

उनले उक्त अक्षयकोषमा सहयोगी मनहरु जोसुकैले पनि सहयोग गर्न सकिने धारणा समेत अघि सारेका छन् । यसलाई उनले ‘थालनी मात्र गरिएको’ बताएका छन् ।
प्राप्त उक्त पुरस्कारको बाँकी रकम कार्ल मार्क्सले सन् १८४२ मा लेखेको प्रसिद्ध रचना ‘डिवेट्स अन प्रेस फ्रिडम’ को नेपाली अनुवादमा खर्चने घोषणा गरेका छन् ।

उनका अनुसार जुन पुस्तकको नेपाली भाषामा अनुवाद भइरहेको छ ।

सरकारले प्रेस नियन्त्रण गर्ने विधेयक ल्याइरहेको र नेपालको आमसञ्चार सरकारप्रति रिसिरहेकै बेला पूर्व पत्रकार समेत रहेका थापाले आजको बहसमा इँटा थप्न उक्त पुस्तकको नेपाली अनुवाद चाँडै बजारमा ल्याउने अठोट लिएका छन् ।

दिइयो

सहिद कृष्णसेन ‘इच्छुक’ को १७औँ स्मृति दिवसका अवसरमा यस वर्षको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ थापालाई प्रदान गरिएको थियो ।

सोमबार प्रेस सङ्गठन नेपालले आयोजना गरेको विशेष कार्यक्रमका बीचमा थापालाई नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ पुरस्कार दिएका थिए ।
पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ । उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आइरहेको छ । 

बुधबार साप्ताहिकका पूर्वसम्पादकसमेत रहेका थापाले पुरस्कार पाएलगत्तै उक्त पुनित कर्मका लागि कृष्णसेन ‘इच्छुक’ पत्रकारिता पुरस्कारको रकम लगानी गर्ने घोषणा गरेका थिए ।

उक्त पुरस्कार विसं २०६३ बाट हरेक वर्ष प्रदान गरिँदै आइरहेको छ ।

कृष्णसेन ‘इच्छुक’

विसं २०५९ जेठ १३ गते प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला ‘इच्छुक’ को हत्या गरिएको थियो । विसं २०१३ कात्तिकमा भारतको देहरादूनमा जन्मिएका ‘इच्छुक’ जनादेश साप्ताहिकको सम्पादक थिए ।

सोही कार्यक्रममा ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ पनि वितरण गरिएको थियो । २५ हजार रुपियाँ राशिको सो पुरस्कार चन्द्रमान श्रेष्ठलाई प्रदान गरिएको हो ।

उक्त पुरस्कार बलराम थापाको संयोजकत्वमा गठित सिफारिस समितिले सिफारिस गरेका व्यक्तित्वहरुलाई प्रदान गरिएको हो । सिफारिस समितिका सइन्द्र राई, देविका घर्तीमगर, मनोज घर्तीमगर र टेकराज थामी समेत रहेका थिए ।

०००



प्रकाशित: २०७६ जेठ १४
May 28th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार