नेपाली समय: ११:२३:४१ बिहान
वि.सं २०७६ मंसिर २९   आइतबार

एनटिए प्रमुख खनाललाई पिनद्वारा बधाईः खनाल भन्छन्, ‘अब पाँचौं पुस्ताको सेवा दिने सोच छ’

निर्माण सञ्चार, मंगलबार, १४ साउन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त प्रमुख पुरुषोत्तम खनाललाई प्रगतिशील इन्जिनियर्स एसोसिएसन (पिन) ले बधाई दिएको छ ।

पिनका तर्फबाट केन्द्रीय प्रचार विभाग प्रमुख कृष्ण सापकोटा सहित इन्जिनियर सञ्जीव रोकाहा तथा युवा संघ नेपालको नेतृत्व सहभागी टोलीले खनाललाई सोमबार कार्यकक्षमै भेटेर बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको हो ।

सरकाराले दिगम्बर झाले छाडेपछि रिक्त रहेको उक्त पदमा लामो समयदेखि एनटिएमै कार्यरत खनाललाई प्रमुखको जिम्मेवारी दिएको हो ।
नवनियुक्त खनाल करिब २ दशकदेखि दूरसञ्चार प्राधिकरणमै कार्यरत व्यक्ति हुन् । प्रशासनिक क्षेत्रमा रहेका उनलाई प्राविधिक क्षेत्रमा समेत दख्खल रहेको उनको भनाइ छ ।

भेटका क्रममा एनटिए प्रमुख खनालले आगामी दिनमा इन्टरनेटको पाँचौँ पुस्ताको सेवा दिने गरी प्राधिकरणले सोच बनाइरहेको बताए ।

उनले फोर जिबीकै प्रयोगलाई हेरेर सन् २०२० पछि विश्वमै प्रयोगमा आउने तयारीमा रहेको पाँचौं पुस्ताको इन्टरनेट सेवा प्राधिकरणले पनि उपलब्ध गराउने र त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने तयारीमा सरकारले साथ दिने आशा व्यक्त गरे ।

पछिल्ला दिनहरुमा इन्टरनेट सेवा प्रदायक संस्थाहरु नेपालमा प्रतिस्पर्धात्मक रुपमा खुले पनि सेवाभित्र विभिन्न विकृति पनि झाँगिरहेकाले नेपालमा इन्टरनेट सुरक्षा चुनौती पनि बढिरहेको छ ।

एकातिर इन्टरनेट सेवा दक्षिण एसियामै नेपालमा महँगो छ भने निजी क्षेत्रका सेवा प्रदायकहरुबाट भरपर्दाे र विश्वसनीय सेवा अझै दिन नसकिरहेको यथार्थ हो ।

उपभोक्तालाई विभिन्न प्रलोभन देखाएर एउटै प्याकेज दर्जनौंलाई बिक्री गर्दै आएका छन् भने मूल्यमा पनि एकरुपता छैन ।
इन्टरनेट सेवा प्रदायकहरुलाई नियन्त्रण र सन्तुलनमा लिने अझै पनि उपयुक्त कानुन नरहेकै देखिन्छ ।

अर्काेतिर विदेशी कम्पनीहरु जस्तै एनसेलले प्रदान गर्दै आइरहेको सेवामा पनि विभिन्न खाले ठगी विद्यमान रहेको अवस्था छ ।
उसले त नेपालमा राजश्व समेत नतिरेर अन्तर्राष्ट्रिय स्तरको ठगी गरिरहेको उपभोक्ताहरुको आवाज छ ।

तर, इन्जिनियरिङ क्षेत्रका प्रतिनिधिहरुको उक्त भेटमा भने नवनियुक्त प्रमुख खनालले इन्टरनेट सेवा प्रदायक संस्थाहरुले उपभोत्तालाई दिने सेवामा गुणस्तरीयता कायम गर्न नसके क्षतीपूर्ति दिने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार आउने केही दिनमै प्राधिकरणले व्यवस्थित तथा प्रभावकारी ढंगबाट सेवा विस्तार गरिने छ । सरकारले बोकेको डिजिटल नेपालको अभियानलाई सार्थकता दिने गरी प्राधिकरणले काम गर्ने छ ।

विभिन्न सर्च इन्जिन तथा सामाजिक सञ्जालहरुबाट प्रवाहित भइरहेका असामाजिक तथा अनैतिक ‘भल्गार’ साइट वा लिंकहरुलाई समेत आउने दिनमा नियन्त्रण गर्ने बाटो प्राधिकरणले अख्तियार गर्ने छ ।

बधाई ज्ञापन गर्दै इन्जिनियर कृष्ण सापकोटा सहितको इन्जिनियर टोली, तस्वीर निर्माण मिडिया
खनालले भने, ‘मुलुकको सामाजिक मूल्य, सांस्कृतिक एकता र अखण्डतामा आँच आउने किसिमका र गैरनैतिक मूल्यका सामाग्रीहरु नियन्त्रण गर्ने प्राधिकरणको योजना रहेको छ ।’

पछिल्ला दिनमा विभिन्न विवादका बाबजुद खनाल प्रमुखमा नियुक्त भएका हुन् । 


०००
To see front face coverage, click here
 



प्रकाशित: २०७६ साउन १४
July 30th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार