नेपाली समय: ०३:२८:५५ अपरान्ह
वि.सं २०७७ कार्तिक ५   बुधवार

‘नयाँ भिजन’ सहित नगर विकास कोषमा कृष्ण सापकोटाः कोषको कायाकल्प हुने आशा

निर्माण सञ्चार, १३ साउन, काठमाडौं । दुई दशकदेखि इन्जिनियरिङ क्षेत्रमा सक्रिय पूर्वाधार विकास परामर्शदाता (इन्जिनियर) कृष्ण सापकोटालाई सरकारले नगर विकास कोषको कार्यकारी निर्देशकको जिम्मेवारी सुम्पेको छ ।

मंगलबार इन्जिनियर सापकोटालाई सरकारले सो पदमा नियुक्त गरेको हो । 

सहरी विकास मन्त्रालय अन्तर्गत विगत ३२ वर्षदेखि नगर विकासमा होमिएको कोषलाई सरकारले नगर विकास निगमका रुपमा अघि बढाउन प्रस्ताव समेत गरेको अवस्था छ । 

भूकम्प पछि स्थापित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सिइओको भूमिकामा जानु अघि इन्जिनियर सुशील ज्ञवालीले यही कोषको नेतृत्व सम्हालेका थिए । उनको समयमा कोषले एउटा उचाइ प्राप्त गर्न सकेको थियो ।

त्यसपछि कोषले सोचेजस्तो प्रभावकारी भूमिका खेल्न नसकेको टिप्पणी भइरहेकै बेला कोषको साख समेत माथि उठाउने ‘नयाँ भिजन’ प्रस्तुत गरेका इन्जिनियर सापकोटा विभिन्न प्रतिस्पर्धीबाट उत्कृष्ट छनोट भएका हुन् ।

उक्त कार्यकारी निर्देशकको पद पूर्तिका लागि मन्त्रालयले २०७७ वैशाख २४ मा दरखास्त आह्वान गरेको थियो ।

प्रतिस्पर्धामा १२ उम्मेदवार सहभागी थिए । तिनीहरुको अनुभव, व्यावसायिक कार्ययोजनाको मूल्याङ्कन तथा प्रतिस्पर्धीहरुका बीचमा विभिन्न चरणमा व्यावसायिक योजना प्रस्तुतीकरण र अन्तर्वार्ता समेत गरिएको थियो । 

व्यावसायिक योजना प्रस्तुतीकरण असार १०, ११, १२ र १४ गते सम्पन्न भएका थिए । जुन व्यावसायिक योजना प्रस्तुतीकरणमा इन्जिनियर सापकोटाले अबको कोष कस्तो हुनेछ भन्ने स्पष्ट भिजन दिन सफल भएका थिए । 

मूल्यांकनका ती सबै फेजहरुबाट प्राप्ता अंकहरुमा सबैभन्दा उत्कृष्ट ठहरिएका इन्जिनियर सापकोटा हालसम्म नेपालको इन्जिनियर परामर्श क्षेत्रमा क्रियाशील एउटै मात्र परामर्शदाता इन्जिनियरिङ संस्था स्क्याफमा उपाध्यक्षका रुपमा क्रियाशील समेत थिए । 

हालको नवलपुर जिल्ला, गैडाकोट नगरपालिका वडा–२ मा जन्मेका सापकोटाको नेतृत्वदायी क्षमता स्क्याफ (Society Of Consulting Architectural And Engineering Firms, Nepal) बाट निखारिएको हो । उनले यस संस्थामा साधारण सदस्यबाट महासचिव हुँदै कार्यकारी भूमिकामा प्रभावकारी नेतृत्व दिन सकेको देखिन्छ ।

कोषको निर्देशकको पदपूर्ति समितिले गरेको सिफारिस बमोजिम नगर विकास कोषको सञ्चालक समितिले मंगलबार उनको नाम अनुमोदन गरेको थियो । उनी आउने चार वर्षका लागि कोषको निर्देशकका रुपमा रहने छन् । 

नवनियुक्त निर्देशक इन्जिनियर सापकोटामा पूर्वाधार विकास निर्माण क्षेत्रमा परामर्शदाताको अब्बल क्षमता रहेको सो क्षेत्रका विशेषज्ञहरुको बुझाइ छ । 

उनले विभिन्न सहरी तथा ग्रामीण पूर्वाधारहरुको योजना निर्माण, डिजाइन, सुपरीवेक्षण तथा व्यवस्थापन आदिको सफल नेतृत्व दिइसकेका छन् । 

आकर्षक व्यक्तित्वका धनी इन्जिनियर सापकोटा व्यवस्थापकीय क्षमताका भएका व्यक्तिका रुपमा समेत स्क्याफमा परिचित छन् । 

सरकारले स्थापना गरे अनुसार कोष अन्तर्गत नगरपालिका क्षेत्रको पूर्वाधार विकास तथा निर्माण प्राथमिक कार्य अन्तर्गत पर्दछ । नेपाल पछिल्ला दिनमा नगरै नगरको देश बन्दै गइरहेको छ । र, आजको युगले मागेजस्तो ‘एडभान्स्ड’ नगर बनाउन कोष मुख्य गरी केन्द्रित हुने गरेको छ । 

कोषले नगरभित्रका सडक पूर्वाधारदेखि बसपार्क, पार्क, व्यवस्थित बजार व्यवस्थापन, नगरपालिका प्रशासकीय भवन, विद्यालय भवन, अस्पताल भवन, खानेपानी, व्यापारिक भवन जस्ता झन्डै डेढ हजार आयोजनाहरुमा लगानी गर्दै आइरहेको छ ।

कोषको आजसम्मको सञ्चालन अभ्यास हेर्दा कोष नेपाल सरकार, विश्व बैङ्क, एशियाली विकास बैङ्क, जर्मन विकाश बैङ्क, जिआइजेड, युएनसिडिएफ इयु डेलिगेसन टु नेपाल जस्ता अन्तर्राष्ट्रिय दातृ निकायसँग विकास साझेदारको वित्तिय तथा प्राविधिक स्रोतबाट वित्तीय तथा प्राविधिक सहयोग परिचालन गर्दै सञ्चालन हुँदै आएको  छ ।

परिवर्तित परिस्थिति अनुसार सरकारले सोचेको नगर विकासको सपनालाई आकार दिन इन्जिनियर सपाकोटा सफल हुने आशा गर्न सकिन्छ ।

नियुक्ती हुँदै गर्दाको तस्वीर
०००



प्रकाशित: २०७७ साउन १३
July 28th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार