नेपाली समय: ११:४६:१५ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

आइकाओ महासभामा मन्त्री भट्टराईको आह्वानः ‘नेपाल भ्रमण वर्ष २०२० मा सरिक हुन पाहुनाहरुलाई अनुरोध गर्दछु’

निर्माण सञ्चार, ९ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४० औं महासभामा सहभागी पाहुनाहरुलाई नेपाल भ्रमण वर्ष २०२० मा नेपाल आउन आह्वान गरेका छन् ।

क्यानडाको मड्रियल सहरमा दुई दिनदेखि जारी उक्त महासभामा मन्त्री भट्टराईले सन् २०२० मा नेपालले २० लाख बढी पर्यटकहरु भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष आयोजना गरेको जानकारी दिदै महासभामा सरिक अन्तर्राष्ट्रिय पाहुनाहरुलाई नेपाल भ्रमणका लागि निम्तो दिएका हुन् ।

आइकाओको रणनीतिक उद्देश्यप्रति नेपालको पूर्ण समर्थन रहेको विश्वास दिलाउन आइकाओको झण्डा सगरमाथा शिखरमा फहराएको उनले उल्लेख गरे

१९३ सदस्य राष्ट्र तथा एक हजार बढी हवाइ तथा पर्यटन क्षेत्रमा संलग्न संघ–संस्थाका प्रतिनिधिहरु सरिक उक्त महासभामा मन्त्री भट्टराईले पछिल्ला दिनमा नेपालमा हवाई दुर्घटना कम भएको जानकारी समेत दिए ।

पर्यटनमन्त्री भट्टराईले नेपालको विशिष्टिकृत भौगोलिक बनावट र छिटो परिवर्तन हुने मौसमी अवस्था भए पनि केही वर्षदेखि हवाई दुर्घटनाको दर कम भएको बताएका हुन् ।

सेप्टेम्बर २४ देखि सुरु भएको उक्त महासभा अक्टोबर ४ सम्म चल्ने छ । जसको नेपाल पनि सदस्य राष्ट्र हो ।  

युएईसँग हवाई सम्झौता हुने

महासभामै नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सँग हवाई सम्झौता गर्ने तयारी गरेको मन्त्री सचिवालयले जानकारी दिएको छ । यसैगरी अष्ट्रेलियासँग पनि नेपालले हवाई वार्ता गर्दै छ । महासभाको बैठकमा मन्त्री भट्टराईले बुधबार ८ असोज, ०७६ अर्थात् क्यानडाको समय अनुसार अपरान्ह १२ बजे सम्बोधन गरेका थिए ।

कालोसूचीबाट हटाउन सहकार्य जारी

उनले युरोपियन कमिसनको हवाई सुरक्षा सूचीबाट उन्मुक्ति पाउन युरोपियन सेफ्टी एजेन्सीसँग हातेमालो र सहकार्य गरिरहेको समेत जानकारी गराए । 

उनले नेपालले उड्डयन सुरक्षा निगरानी क्षमता अभिवृद्धिका लागि परिणामुखी प्रयास अगाडि बढाइरहेको पनि जानकारी दिए ।

मन्त्री भट्टराईले नेपालमा पर्यटन उद्योग एक प्राथमिकता प्राप्त उद्योग भएकाले हवाई सुरक्षालाई उच्चतम कार्य योजनामा राखिएको बताएका छन् ।

उनका अुनसार यतिबेला नेपाल हवाई सम्पर्क विस्तार गर्ने, मौजुदा विमानस्थलको स्तरोन्नती गर्ने र नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि नयाँ रणनीतिका साथ नेपाल अघि बढिरहेको छ । 

नेपाल आजका दिनमा नयाँ हवाई गन्तव्य समेत वृद्धि गरिरहेको छ ।

आइकाओको झण्डा सगरमाथामा 

महासभामा मन्त्री भट्टराईले गत महिना नेपालमा आयोजित एसिया प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६ औं सम्मेलनमा सहभागी भइदिएकोमा आइकाओका अध्यक्ष डाक्टर बर्नाड अल्यूलाई पनि धन्यवाद व्यक्त गरेका थिए भने आइकाओको रणनीतिक उद्देश्यप्रति नेपालको पूर्ण समर्थन रहेको विश्वास दिलाउन आइकाओको झण्डा सगरमाथा शिखरमा फहराएको उनले उल्लेख गरे ।

आइकाओको यो ७५ औं वर्ष पूरा भएको महासभा हो । जहाँ २ हजार पाँच सय बढी प्रतिनिधिहरु सहभागी छन् । सेप्टेम्बर २४ देखि शुरु भएको महासभा अक्टोबर ४ सम्म चल्ने छ ।

उक्त महासभामा नेपालको प्रतिनिधित्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरेका हुन् । उनका साथमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य, क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगाना, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल लगायत छन् । 

०००

 



प्रकाशित: २०७६ आश्विन ९
September 26th 2019

नवराज खतिवडा

खतिवडा निर्माण मिडियाका लागि सम्पादक हुन्