नेपाली समय: ०७:५२:५६ बिहान
वि.सं २०७७ आषाढ २८   आइतबार

ठमेल जोगाउनेबारे सरकारले खै सोचेको ? घरधनी र बैंकले कस्न नछाडेपछि पलायन हुँदै ठमेलका व्यवसायी

निर्माण सञ्चार, ४ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को प्रहारले सबैभन्दा नराम्ररी थला पर्दैछ मुलुकको पर्यटन उद्योग । गएको चैत ११ बाट सुरु भएको लकडाउन असार पहिलो हप्तासम्म आउँदा नेपालका पर्यटन उद्योगका केन्द्र भनेर चिनिएका पोखरा र ठमेलका व्यवसायी पलायनको नराम्रो चक्र सुरु भएको छ । 

पोखराका होटल तथा पर्यटन व्यवसायीहरु त पलायनको नराम्रो चपेटामा फसिसकेका छन् । कतिपयले त आत्महत्या पनि गर्न थालेका छन् । 


यता ठमेल पनि त्यही समस्याबाट ग्रसित बन्दै गइरहेको छ । राज्यले मुलुकको पर्यटन उद्योग बचाइरहनेबारे तत्काल नसोच्ने हो भने भोलिका दिनमा ठमेल ठमेलकै रुपमा नहरन सक्छ । यो ब्रान्ड गुम्नु भनेको मुलुकको नियमित आर्थिक प्रणालीमा अर्काे नयाँ धक्का लाग्नु हो । 

ठमेल, मुलुकको राजधानीको केन्द्रमा रहेको पर्यटनको आकर्षक केन्द्र मात्र होइन, यो इतिहास र विरासत पनि हो । नेपालको पर्यटन उद्योगको एउटा स्थापित ब्रान्ड, जसले मुलुकलाई पर्यटन उद्योगको आधार मात्रै दिँदैन, राष्ट्रिय अन्तर्राष्ट्रिय नेटवर्कहरुको केन्द्रका रुपमा लगभग सबैथोक दिन्छ । 

भोकाले मागेरै भएपनि पेट पाल्न सक्ने, अन्य सीप नभएकाले बोलेरै मात्रै भएपनि व्यापारी बन्नेदेखि सीप, सोच र सच्चाइ भएकाहरु त नामुद पर्यटन उद्यमीहरु जन्माउने लगानीकर्ताहरुको ‘हब’ पनि हो ठमले । 

अब त्यो ठमेल त्यही रुपमा फर्कन सक्ला ? 

जसले राज्यलाई जुन स्केलको रेभिन्यु दिन्थ्यो, जुन तहको चलायमानता अर्थतन्त्रका दिने गथ्र्यो करिब ४ महिनादेखिको लकडाउनले यतिबेला ठमेल मसान घाट तुल्य बनेको छ । 

अहँ, यहाँ कुनै कारोबार त के अब कारोबारीहरु राति राति भागेर घर छाड्न थालेका छन् भने कतिपय त मरौं कि बाँचौं भन्ने ठाउँमा पुगेको अवस्था छ । 

यस्तो अवस्थामा राज्यले के सोचिरहेको छ ? ठमेलका उद्यमीहरुले यही प्रश्न सोधिरहेका छन् ।

६ हजार बढी व्यवसायीहरु रहेको ठमेलबाट साँढे २ सय जति व्यापारीहरुले पसल, सटरहरु छाडेर भागिसकेका छन् भने बैंकमा जायजेथा राखेर होटल व्यवसायदेखि पर्यटनका अन्य विभिन्न उद्योगमा हात हालेका उद्यमीहरु बैंकको ब्याज र घरभेटीले पैसा कस्न थालेपछि मर्नु कि बाँच्नुको अवस्थामा पुगेको स्थानीय व्यवसायी बताउँछन् ।

कोरोना महामारीको नराम्रो प्रहार खेपिरहेका मुलुकका सबै उद्योगले सरकारसँग नयाँ वर्षको बजेटसँग जुन आशा राखेका थिए, राहतका कुनै पनि प्रभावकारी प्याकेज नआएपछि लगभग सबै उद्योगहरु निराश छन् । 

ठमेलको पर्यटन हब पनि हतप्रभ बनेको छ । मानौं ठमेलको सातो यसरी जानेवाला छ, कि ऊ अब तंग्रन नसक्ने जसरी नेपालको पर्यटन हबको इतिहासबाट लोप हुनेवाला छ ।

एनआइसी एसिया जस्ता खुंखार सुदखोरी बैंकले हिजो आज भटाभट घरजग्गा लिलाम गरिरहेका छन् । मानौं कहिले कोरोना आउला र मानिसहरुका घरजग्गा लिलामी गरौंला भनी कुरेर बसेको थियो यो बैंक !

भन्ने जस्तो गरी व्यवसायीका घरजग्गा लिलामीको सूचना निकाल्न थालेपछि व्यवसायीको हालत आत्महत्या गर्ने परिस्थितिसम्म नपुराउला भन्न सकिन्छ र ?

यसैबीच सरकारले ब्याजदर तथा केही राहत भने पनि राष्ट्र बैंकबाट उचित पहलकदमी नभएको देखिन्छ । राबैंकले सोबारे कुनै परिपत्र नगरेको भन्दै कमर्सियल बैंकहरु व्यवसायीहरुसँग पुरानै दरको चर्काे ब्याज कसिरहेका छन् भने घरभेटीहरु पानी, बत्ती, इन्टरनेट सबैको पैसा भकुर्न लागिरहेका छन् । 

‘यसले गर्दा व्यवसायीहरु रातारात पसलै छाडेर पलायन भएका हुन्,’ एक स्थानीय व्यवसायीले भने । 

टानका पूर्व कोषाध्यक्ष समेत रहेका युवा होटल तथा ट्रेकिङ उद्यमी रामकृष्ण तिमल्सिनाका अनुुसार यतिबेला सरकारले स्पष्ट खाका नदिँदा बैंकहरुले पनि सरकारले दिने भनेको ५ प्रतिशतको राहत बैंकहरुले आफूलाई ‘थाह नभएको’ भन्न थालेका छन् । 

उनले भने, ‘सरकार अझै गम्भीर बनेन भने हामी त पलायन हुन्छौं हुन्छौं । केही नपाए गाउँमा गएर माटो कोरेर खाउँला तर, मुलुकको अर्थतन्त्रको सहयात्री बनेको ठमेल अब कहिलै उठ्नै नसक्ने गरी रसातलमा धसिने छ ।’

उनी जस्तै लगभग ३ दर्जन ठूला होटेल उद्योगमा पाइला चालेका युवा उद्यमीहरुको आजको समस्या भनेकै बैंकको कर्जा हो । तर, यही बेला सरकारले कर तिर्नबारे तिनथरी कुरा गरेपछि व्यवसायीहरु झन् मर्कामा छन् । 

उनीहरु भन्छन्, ‘हामीले घरभेटीको पेट पालौं कि, कामदारको पालौं कि सरकारको ढुकुटी भरौं ? यी सबैलाई पनि थाह होला, कोरोनाले हाम्रो बिल्लीबाठ भएको छ । होटेल बन्द, उद्योग सुख्खा टाट भएको छ । हाम्रै पेट रित्तो हुन थालेको छ । अब भन्नुस्, हामी कर तिरौं कि घरभेटीलाई भाडा तिर्ने कि, सरकारलाई कर ?’

सरकारले केही खासमा यो उद्योगलाई राहत हुने कुनै पनि निश्चित कुरा नगरेको भन्दै ठमलेका पर्यटन व्यवसायीहरु आउने केही दिनमै सडक आन्दोलनमा उत्रने चेतावनी दिइरहेका छन् । 

यसै बीच केही उद्यमीले सुरु गरे नयाँ पहल

यसैबीच घरधनी र पर्यटन व्यासायीका बीचमा सम्बन्ध सुमधुर बनाउने र घर भाडा लगायतका समस्या समाधान गर्न भन्दै स्थानीय ठमेल पर्यटन विकास परिषद तथा स्थानीय पर्यटन उद्यमीहरुको पहलमा नयाँ कदम चालिएको छ । 

उनीहरुले तथ्यांक र सुझाव संकलन सुरु गरेका छन् । केही दिनभित्रै सर्वपक्षीय भेला गरेर नयाँ निष्कर्ष निकाल्न गइरहेको स्थानीय पर्यटन उद्यमी तथा उदीयमान पर्यटन नेतृत्व पुण्यराम लगेजुले बताए । 

पर्यटन विकासको ‘कर्नर स्टोन’ ठमेलमा भइरहेका याबत समस्या समाधान गर्न भन्दै हिजै मात्र ठमेल पर्यटन विकास परिषद्ले पहल थालेको लगेजुले बताए । 

उनका अनुसार परिषद्ले घरधनी र पर्यटन ब्यबसायीबिच समन्वय गराई समस्या समाधानको प्रयास थालेको हो ।

यसका लागि परिषद्का उपाध्यक्ष भवीश्वर शर्माको संयोजकत्वमा ९ सदस्यिय ‘घरभाडा समायोजन समिति’ गठन गरेको हो । 

समितिका सदस्यहरुमा बद्री तिमिल्सिना ,पुण्यराम लगेजु, अशोक थापा, दिनेश श्रेष्ठ, राजन श्रेष्ठ, रुपेश गुरुङ, कर्मा घले र केशव बस्नेत आदि रहेका छन ।

समितिले हालको अवस्थामा घर भाडा समायोजन, बैंकको ब्याज मिनाहा, किस्ता तिर्ने समय बृद्धि, बिद्युतको महसुल मिनाहा, इन्टरनेट सेवा शुल्क छुट गर्न व्यवसायी र घर धनीहरुसँग छलफल गरी साझा धारणा बनाउने छ । 

घरभेटीहरुले पनि मारिसकेको गाईलाई किर्नाले डस्न नछाडे जसरी व्यवसायीबाट पैसा मात्र असुल्ने नीति लिए भने यसले परिणाम नराम्रो आउन सक्ने भन्दै युवा पर्यटन व्यवसायीहरुको दबाब पछि बल्लतल्ल समितिले यो कदम चालेको हो । 

यस अघि कोरोना आरम्भ हुँदै टिटिडिसी सदस्य लगेजुले कर तथा भाडाबारे नयाँ किसिमको पहलकदमी गर्न प्रस्ताव राखेका थिए । 

ठमेलस्थित युवा पर्यटन उद्यमी क्रमशः पुण्यराम लागेजु तथा रामकृष्ण तिमल्सिना
अध्यक्ष सहितका केही पदाधिकारीहरुको ‘अल्पदृष्टि’का कारण भविष्यमा आइपर्न सक्ने संकटबारे त्यतिबेला केही सोच्नै सकेन । 

तर, आज समस्या आइपरेपछि उनीहरु पनि आत्तिएको टिटिडिसीको एक सदस्यले बताए । 

अब युवा उद्यमीहरु सहित भई, यस समितिले पर्यटन व्यावसायी र घरधनीहरुको सुझाव र तथ्यांक संकलन सुरु गर्ने छ । र, उचित समाधानका लागि पहल गर्ने छ । 

कोरोना सबै मिलेर परास्त गर्न सकिने प्रकोप भएकाले नभएका बेला सबैले सबैको खल्ती टक्टक्याएर सबैका समस्या समाधान गर्ने बाटो लिनु पर्छ । 

नत्र न घरभेटी त के सरकारले कसैले पनि भाडा न त कर नै पाउँछन् । दुवै पक्षले होलो खुकुलो गरी व्यवसायीलाई प्रोत्साहन गर्न सके मात्र भोलिको अर्थतन्त्रका सारथिका रुपमा उद्यमीहरुले सरकार र सिंगो अर्थतन्त्रलाई टेवा पुराउन सक्छन् ।

अन्यथा न घरभेटीले भाडा पाउँछन् न त सरकारले उद्यमी पाउला । 

यदि आजका दिनसम्म रगत हाड घोटेर उद्यमी बनिसकेको राष्ट्रिय पुँजी उत्पादक जनशक्तिहरु पलायन भए भने मुलुकले अर्काे नराम्रो क्षति व्यहोर्नु पर्ने देखिन्छ ।

यसप्रति सम्बन्धित सबैलाई यथासम्भव चेतना होस् !

 

०००

 

 



प्रकाशित: २०७७ आषाढ ४
June 18th 2020

नवराज खतिवडा

खतिवडा निर्माण मिडियाका लागि सम्पादक हुन्