नेपाली समय: १०:१६:३० राती
वि.सं २०८१ माघ ७   सोमवार

८ महिनापछि खुल्यो मायादेवी मन्दिर परिसर (लुम्बिनी), पर्यटकको चहलपहल शुरु

निर्माण सञ्चार,०४ मंसिर, काठमाडौँ । मुलुकको प्रमुख पर्यटकीय स्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर करिब आठ महिनापछि पर्यटकका लागि खुला गरिएको छ । सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी पनि खुलेको हो ।  बुधबारबाट मन्दिर खोलिएसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

अब पर्यटकहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर, अशोक स्तम्भ, पुष्करिणी पोखरी, बगैँचा र विभिन्न देशका बिहारहरु घुम्न पाउनेछन् ।खुला गरिएको पहिलो दिन ६ सय जनाभन्दा बढी पर्यटकले मन्दिर परिसर अवलोकन गरेका छन् ।

लुम्बिनी खुला गरिएसँगै बुधबार साँझ लुम्बिनी होटेल संघको आयोजनामा होटेल व्यवसायीहरुले मायादेवी मन्दिर परिसरमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरेका छन् ।

मायादेवी मन्दिरसँगै रहेको अशोक स्तम्भ परिसरमा स्थानीय होटेल व्यवसायी र अन्य इच्छुकले अब हरेक दिन ५ बजेदेखि ७ बजेसम्म दीप प्रज्ज्वलनलाई निरन्तरता दिने लुम्बिनी होटेल संघका महासचिव लिलामणि शर्मा पौडेलले जनाए। 

‘आठ महिनासम्म मायादेवी मन्दिर दर्शन र लुम्बिनी घुम्न नपाएको अवस्थामा खुला भएको दिन नै आन्तरिक पर्यटकको चहलपहल देखियो,’ पौडेलले भने, ‘पर्यटक आउने मुख्य सिजनमै लुम्बिनी नखुल्दा व्यवसायी चिन्तित थिए, अब आन्तरिक पर्यटकको आगमन बढ्ने अपेक्षा छ ।’

मायादेवी मन्दिर परिसरमा प्रवेश गर्नुअघि हरेक पर्यटकको तापक्रम मापन गरिने र अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने लुम्बिनी विकास कोषका वरिष्ठ अधिकृत एवं प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए । ‘अहिले मायादेवी मन्दिर परिसर, पवित्र उद्यान क्षेत्रका सबै ठाउँ र मन्दिर तथा बिहारहरु खुला गरिएको छ, अब छिट्टै मायादेवी मन्दिरभित्र पनि जान मिल्ने गरी खुला हुने छ,’ राईले भने, ‘हामीले लकडाउनको अवधिलाई सदुपयोग गर्दै लुम्बिनीलाई थप सौन्दर्यीकरण गरेका छौं ।’

महिलबारस्थित ५ नम्बर प्रवेशद्वारबाट मायादेवी मन्दिर पुग्ने पैदलमार्गमा रंगीन इँटा बिछ्याएर आकर्षक बनाइएको र मायादेवी मन्दिर परिसरमा घाँस, दुबो काटेर चिटिक्क बनाइएको राईले बताए ।

विश्वव्यापी कोरोना महामारीका कारण बुद्ध जन्मस्थल लुम्बिनी बन्द थियो । आन्तरिक पर्यटक समेत नआएपछि लुम्बिनीका होटेल व्यवसायीसहित ११ वटा संघसंस्थाले मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै ज्ञापनपत्रमार्फत लुम्बिनी विकास कोषलाई आग्रह गरेका थिए ।

कोरोना भाइरस महामारी बढेयता आर्थिक व्यावसायिक वातावरण प्रभावित रहँदा यहाँका होटल तथा रेन्टुरेन्ट व्यवसायीले ८० करोडभन्दा बढी नोक्सान बेहोरेको बताएका छन् । लुम्बिनी क्षेत्रमा सानाठुला गरेर ८० वटा होटल छन् । होटलमा १ अर्ब ५० करोडभन्दा बढी लगानी छ । लुम्बिनीमा स्वदेशीदेखि विदेशी गरी बर्सेनि १६ लाख हाराहारीमा श्रद्धालु र पर्यटक आउने गरेका छन् । सन् २०१९ मा १ सय १५ मुलुकका पर्यटक यहाँ आएका थिए ।

०००



प्रकाशित: २०७७ मंसिर ४
November 19th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार