नेपाली समय: १०:२७:२० राती
वि.सं २०८३ भाद्र २   मंगलवार

भ्रमण वर्षको तयारी तीब्रः पर्यटन बोर्डले दियो ३५ करोड

निर्माण सञ्चार, १२ असोज, काठमाडौं । सरकारले सन् २०२० लाई भ्रमण वर्षकोरुपमा मनाउने घोषणा गरेको छ। २०२० आउन अब धेरै समय पनि बाँकी छैन। भ्रमण वर्षको तयारीमा पनि सरकारले तीब्रता दिएको छ। विभिन्न क्षेत्रमा प्रचारप्रसारको काम पनि भइरहेको छ। 

भ्रमण वर्षका लागि नेपाल पर्यटन बोर्डले ३५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।  इस अघि १० लाखको चेक हस्तान्तरण गरेको बोर्डले भ्रमण वर्ष लक्षित प्रत्यक्ष रूपमा पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रमका लागि थप २५ करोड रुपैयाँ विनियोजन गरेको हो। 

बोर्डले पर्यटन प्रवद्र्धनको काम गर्ने भएकाले भ्रमण वर्षको लक्ष्य पूरा गर्ने गरी आवश्यक कार्यक्रम तय गरेको र सोहीअनुसार अन्य पर्यटन प्रवद्र्धनको कार्यक्रममा पनि भ्रमण वर्षलाई नै दृष्टिगत गरिने उल्लेख छ। 

पर्यटन बोर्डको बजेटमा एक प्रदेश एक गन्तव्यको अवधारणा अगाडि सारिएको छ। बोर्डले हरेक प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा उपयुक्त एक गन्तव्य छनोट गर्ने र पूर्वाधारसहितको प्रवद्र्धनका कार्यक्रम गर्ने भएको छ। बोर्डका अनुसार तीन वर्षभित्र सम्पन्न गर्ने गरी सबै प्रदेशमा एकएक वटा नयाँ गन्तव्यको पूर्वाधार बनाउने भएको छ।

यस्तो गन्तव्यको विकासका लागि एक करोडदेखि तीन करोड रुपैयाँसम्मको बजेट हरेक आर्थिक वर्ष विनियोजन हुनेछ। यसको कार्यान्वयन कार्यविधि दुई महिनाभित्र बनाइसक्ने उल्लेख छ।

साथै बोर्डले हरेक प्रदेशका पर्यटन प्रवद्र्धन गर्न करिब दुई करोड रुपैयाँका दरले रकम निकासासमेत गरेको छ। एउटा प्रदेशलाई एक पर्यटन गन्तव्यको अवधारणा अनुसार उक्त रकम वितरण गरेको उल्लेख छ। उक्त अवधारणाअन्तर्गत प्रत्येक गन्तव्यका उक्त रकम विनियोजन गरिएको छ। यसलाई अन्य निकायसमेत सहभागितामा कार्यान्वयन गर्ने बोर्डको लक्ष्य छ।

बोर्डले पर्यटन सम्पदा विकासमार्फत पर्यटकीय गन्तव्यको पूर्वाधार विकासमा नाममा १ नम्बर प्रदेशलाई दुई करोड ६२ लाख, दुई नम्बरलाई एक करोड ९८ लाख, ३ नम्बरलाई चार करोड, पाँच नम्बर प्रदेशलाई दुई करोड २३ लाख विनियोजन गरेको छ। कर्णाली प्रदेशलाई एक करोड ८३ लाख र सुदूरपश्चिम प्रदेशलाई एक करोड ५८ लाख रुपैयाँ विनियोजन गरेको छ।

गण्डकी प्रदेशमा भने बोर्डको छुट्टै कार्यालय भएकाले यसलाई अझै बढी प्राथमिकता दिएको छ। गण्डकी प्रदेशलाई ९ करोड ६० लाख रुपैयाँका बजेट नै तयार पारेर बजेट विनियोजन गरेको छ। 

 

 

000



प्रकाशित: २०७६ आश्विन १२
September 29th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार