नेपाली समय: ११:४९:०० राती
वि.सं २०७६ कार्तिक २   शनिवार

दशैं र इन्जिनियरिङ क्षेत्रः यो दशैंले गुणस्तरीय पूर्वाधार निर्माणको सन्देश दिन सकोस्

निर्माण सञ्चार, २० असोज, काठमाडौं । कुनै पनि देशको विकासमा त्यस देशका जनताको सांस्कृतिक चेतनाको पनि ठूलो भूमिका रहने गर्छ भन्छन् नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष प्रा. डा त्रिरत्न बज्राचार्य ।

हुन पनि समाजशास्त्रीय सांस्कृतिक अध्ययनले यस्ता धेरै उदाहरणहरु दिएका छन् । यो कुरा नेपालको सडक विकासमा हेर्दा पनि छर्लङ्ग हुन्छ । 

सडक तथा पूर्वाधार निर्माण किन कमजोर बनिरहेका छन् त भन्ने प्रश्नको उत्तर खोज्दै जाँदा त्यो काम लिनेहरुको ‘वर्क कल्चर’ नै यस्तो रहेछ भन्ने ठाउँमा पुगिन्छ ।

एउटा चिफ गेस्टका लागि एक हजार मानिसले २ घण्टा कुर्नु भनेको २ हजार घण्टा ‘लस’ अर्थात् घाटा पर्नु हो भन्ने नेपाली संस्कृतिले अझै पनि बुझिसकेको छैन । २ हजार घण्टा बेकार जानु भनेको झन्डै ८४ दिन बेकार जानु हो । यो भनेको करिब ३ महिना बेकार हुनु हो । 
कुनै पनि मुलुकको एउटा नेताले मानिसहरुलाई कुराए बापत यति धेरै घाटा परिरहेको हुन्छ भन्ने संस्कृति नबदलिएसम्म मुलुक अघि बढ्दैन

किनकि, सरकारी काम जिम्मा लिने निर्माण व्यवसायी वा सरोकारवाला पक्षको विकासे संस्कृति नै त्यतिकै ‘ड्यामेज’ भएकाले उनीहरुले जिम्मामा लिएका कामहरु पनि ‘ड्यामेज’ हुने गरेको अध्ययनले देखाएको छ ।

यहाँ कामको परिणाम किन बिग्रने गर्छ त भन्दा काम गर्ने संस्कृति नै बिगार्ने खालको छ भन्ने स्पष्ट हुन्छ । काम लिन झगडा गर्ने, मोबिलाइजेसन लिएर अन्यत्रै लगानी गर्ने, काम समयमा नगर्ने र भेरिएसन दाबी गर्ने जस्ता कुरा अक्सर निर्माण क्षेत्रमा सुनिने गर्छन् ।

  • बहसः दशैं र विकास संस्कृति

यो के हो त ? वास्तवमा यो नै ‘कल्चर’ हो । कल्चर अर्थात् संस्कृति ।

विकास र संस्कृति कसरी अन्तरसम्बन्धित छन् भन्ने कुरामा अर्काे उदाहरण पनि लिन सकिन्छ । विकसित देश, अमेरिका, जापान वा युरोपमा मानिसहरुको दैनन्दिन अल्पविकसित वा विकासोन्मुख देशको भन्दा फरक पाइन्छ । 

ती जनताहरु समयमै र भनेजसरी नै काम गर्छन् । किनकि, त्यहाँ ‘वर्किङ कल्चर’ नै हाम्रोमा भन्दा फरक छ । परिणाममुखी छ ।

उनीहरु समयलाई ‘टाइम इज मनी, वर्थ देन अदर थिङ’ भन्छन् । कामको समयमा उनीहरु कुरा गर्दैनन् । चिनेको साथी देखे पनि नबोली हिँडेका हुन्छन् । किनकि एक सेकेन्ड पनि उनीहरुका लागि महत्त्वपूर्ण हुन्छ ।

तर, हामीकहाँ एक वर्षभित्र सकिसक्नु पर्ने काम आउने ४ वर्षमा पनि सकिदैन । सम्झौता गर्दा एउटा गर्छ काम अर्कै गर्छ ! के यो संस्कृति हैन ?

कल्चरले मानिसहरुको ‘माइन्ड सेट’ पनि फरक बनाउने गर्छ । विकसित देशका मानिसको ‘माइन्ड सेट’ कामको परिणाम कसरी उत्कृष्ट देखाउने भन्नेमा हुन्छ भने अविकसित मुलुकका मान्छेको भने काम लिन चाहिँ जे पनि गर्ने परिणाम दिनमा भने इमानदार नहुने पाइएको छ । 

यो ‘माइन्ड सेट’ केले निर्धारण गरेको हुन्छ त ? भन्दा संस्कृतिले नै मानिसहरुको सोच निर्माणमा अहं भूमिका खेलेको हुन्छ ।

त्यसैले चाडबाड मनाउने दिनहरु मात्रै संस्कृति होइनन् भन्ने बुझ्नु पर्ने पूर्वाधार निर्माण तथा परामर्श जगत्को भोगाइ छ ।

नेपाली नेताहरु र समय संस्कृति 

त्यस्तै, विकासे कल्चरको कुरा गर्दा नेपाली नेताहरुको ‘समय संस्कृति’लाई पनि हेर्न सकिन्छ । कुनै कार्यक्रम छ र त्यहाँ कुनै मन्त्री वा प्रधानमन्त्रीलाई बोलाएको छ भने उसले २, अढाइ घण्टा ढिला गरेर आइदिन्छ । जबकि उसका लागि हजारौं मानिस कुरिरहनु पर्ने परम्परा अझै पनि व्याप्त छ । 

एउटा चिफ गेस्टका लागि एक हजार मानिसले २ घण्टा कुर्नु भनेको २ हजार घण्टा ‘लस’ अर्थात् घाटा पर्नु हो भन्ने नेपाली संस्कृतिले अझै पनि बुझिसकेको छैन । २ हजार घण्टा बेकार जानु भनेको झन्डै ८४ दिन बेकार जानु हो । यो भनेको करिब ३ महिना बेकार हुनु हो । 
कुनै पनि मुलुकको एउटा नेताले मानिसहरुलाई कुराए बापत यति धेरै घाटा परिरहेको हुन्छ भन्ने संस्कृति नबदलिएसम्म मुलुक अघि बढ्दैन । 

अघि बढ्नु भनेको विकास हुनु भन्ने हो । यसरी विकास र संस्कृति अन्तरसम्बन्धित छन । विकास हुनका लागि संस्कृति पनि विकासे नै हुन जरुरी छ ।
०००
अध्यक्ष प्रा डा बज्राचार्य यतिबेला सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा बोकेको बताउँदै त्यसको सफलता र असफलता भन्नेमा संस्कृतिको पनि हात रहेको बताउँछन् ।

सरकारसँग जनताको अपेक्षा बढ्नु वा सरकार प्रति सामाजिक सञ्जाल आदिमा तिखो ‘कमेन्ट’ आउनु पनि उनीहरुको विकास प्रतिको तीव्र चाहना हो भन्ने बुझ्नु पर्ने उनको भनाइ छ ।
तर, यो विकास भन्ने सबै कुराको जड पूर्वाधार विकास नै हो । त्यसमा पनि निर्माण क्षेत्रको भूमिका अझै महत्त्वपूर्ण छ भन्छन् इन्जिनियर डा बज्राचार्य ।

यो दशैंले सम्पूर्ण इन्जिनियरिङ क्षेत्रलाई अझै दक्ष, अझै समृद्ध र अझै जिम्मेवार बनेर मुलुकले दिएको जिम्मेवारी वहन गर्न सक्ने क्षमता प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्छन् नेइए अध्यक्ष प्रा. डा बज्राचार्य ।

तस्वीरमा क्रमशः स्क्याफ महासचिव सापकोटा, काउन्सिल उपाध्यक्ष सिलवाल तथा नेइए अध्यक्ष प्रा डा बज्राचार्य
...

यस्तै धारणा राख्छन् नेपाल इन्जिनियर काउन्सिलका उपाध्यक्ष इन्जिनिय अर्णराज सिलवाल ।

उनले भने, ‘त्यसैले मुलुकको समृद्धि भनेको अब गुणस्तरीय पूर्वाधार निर्माणले निर्धारण गर्छ भने त्यो गुणस्तरीय निर्माण पनि गुणस्तरीय इन्जिनियरिङले निर्धारण गर्छ ।’

ती इन्जिनियरहरुको गुणस्तरीयतालाई ‘चेक एन्ड ब्यालेन्स’ गर्ने निकाय हो इन्जिनियर्स काउन्सिल ।

५० हजार हाराहारीमा यतिबेला मुलुकमा इन्जिनियरहरु छन् । तिनलाई योग्यताको लाइसेन्स दिने निकाय काउन्सिल अबका दिनमा लाइसेन्सलाई पनि विशिष्टीकृत गर्ने गरी अघि बढेको उपाध्यक्ष सिलवाल बताउँछन् । 

काउन्सिल आजका दिनमा प्रोफेसनल इन्जिनियरिङको स्तरीकरण पनि गर्दै अघि बढिरहेको छ । 

यो दशैंले सम्पूर्ण इन्जिनियरिङ क्षेत्रलाई अझै दक्ष, अझै समृद्ध र अझै जिम्मेवार बनेर मुलुकले दिएको जिम्मेवारी वहन गर्न सक्ने क्षमता प्रदान गरोस् र समृद्ध नेपाल बनाउने यात्रामा सहकार्य गर्ने प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्छन् काउन्सिल उपाध्यक्ष इन्जिनियर सिलवाल ।

...

राज्यले बजेट र काम दिन्छ । त्यो कामको आकार र भावी परिणाम दिने भनेकै इन्जिनियरिङ क्षेत्रले हो भन्छन् स्क्याफ (Society of Consulting Architectural & Engineering Firms (SCAEF) Nepal) महासचिव कृष्ण सापकोटा पनि ।

लामो समयदेखि गुणस्तरीय पूर्वाधार विना मुलुको स्थायी समृद्धि नहुने र त्यसका लागि पनि गुणस्तरीय प्राविधिक जनशक्ति विकासबारे बहस गर्दै आएका स्क्याफ महासचिव सापकोटा इन्जिनियरिङ स्टाफ कलेजको औचित्य पनि त्यही गुणस्तरीयता ग्यारेन्टी गराउन आवश्यक निकायका रुपमा लिन्छन् ।

सापकोटाका अनुसार मुलुकले लिएको समृद्ध नेपालको कडी पूर्वाधार विकास हो । यदि पूर्वाधार विकास बिना समृद्धि सम्भव छैन भने त्यसको पनि कडी गुणस्तरीय इन्जिनियरिङ वा परामर्श सेवा रहेको बताउँछन् ।

उनले भने, ‘त्यसैले नेपालको समृद्धिको अभिभारा पूरा गर्नै पर्ने दायित्व चाहिँ हामी इन्जिनियरिङ क्षेत्रकै काँधमा आएको हो । अरुले त कुरा गरेर उम्कन पनि पाउँछन् । तर, हामीले उचित बाटो नदेखाउने हो भने, दिगो र गुणस्तरीय पूर्वाधार निर्माण सम्भव छैन । त्यो दायित्वबाट पन्छने आलटाल गर्ने जस्ता छुट हामीलाई छैन ।’ 

उनका अनुसार नेपालमा अहिले पनि प्रगतिशील निर्माण संस्कृतिको अभाव छ । त्यो भनेको आआफ्नो फिल्ड अनुसारको उचित दक्षता हो । उचित दक्षता विना प्राविधिक क्षेत्रले गुणस्तरीय सेवा दिन सक्तैन । 

त्यस्तै, प्रगतिशील काम गर्ने संस्कृति नहुँदा नै मुलुकले पूर्वाधार निर्माणको उचित नतिजा हासिल गर्न सकेन । 

उनले अघि भने, ‘हामीले आज मनाइरहेको वडा दशैं र यस्तै चाडबाडहरुले नेपालीलाई पर्वहरु जस्तै ‘वर्किङ कल्चर’ पनि सिक्ने प्रेरणा मिलोस् । ताकि समृद्ध नेपालको आधार गुणस्तरीय र दिगो पूर्वाधार विकासका लागि निर्माण क्षेत्र र सरोकारवालाहरु सबैले नयाँ तरिकाले आफूलाई अघि बढाउन सकून् ।’

 

 

०००
 



प्रकाशित: २०७६ आश्विन २१
October 8th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार