नेपाली समय: ०४:२१:११ बिहान
वि.सं २०७६ मंसिर ४   बुधवार

जिरीमा शुक्रबारदेखि सडक महोत्सव

निर्माण सञ्चार, १ कात्तिक, ०७६, काठमाडौं । सुन्दर पर्यटकीय नगरी दोलखाको जिरीमा शुक्रबारदेखि सडक महोत्सव सुरू भएको छ। भिजिट नेपाल २०२० लाई लक्षित गर्दै पर्यटन क्षेत्रको विकास गर्न महोत्सवको आयोजना गरिएको हो ।

जिरी नगरपालिकाले यो नगरलाई ‘क्लिन जिरी, ग्रिन जिरी र अर्गानिक जिरी’ भन्ने नारा बोकेर लामो समयदेखि अभियान चलाइरहेको छ । जिरी नगरपालिकासहित अन्य सामाजिक संघसंस्थाको सहयोगमा युवा सञ्जाल जिरीले महोत्सव आयोजनामा गरेको हो। महोत्सवको उद्घाटन गर्न पर्यटनमन्त्री योगेश भट्टराई आउने मूल आयोजक समितिले जनाएको छ ।

तीन दिनसम्म चल्ने महोत्सवमा स्थानीय परिकार र उत्पादन बिक्री, कला र संस्कृति प्रदर्शनका साथै जिरीवरपरका पर्यटकीय क्षेत्रको भ्रमण गराइनेछ ।आयोजक संस्थाका अध्यक्ष केन्द्रज्योती खड्काका अनुसार परिकार खुल्ला सडकमै खाने साथै सडकमै रमाउने र नाँचगान गराउने कार्यक्रम आयोजकले राखेको छ।

महोत्सवमा जिरीका चिज, छुर्पी, चिया, आलु, ढिडा, आलुको रिल्दुक, कोदोको पोल्दोकजस्ता स्थानीय परिकार पर्यटकलाई खुवाउने तयारी छ । युवा सञ्जाल जिरीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक  केन्द्रज्योति खड्काले जिरी हरहिसाबले पर्यटकका लागि उपयुक्त र रोमाञ्चक छ भन्ने सन्देश प्रवाह गरिने बताए । अध्यक्ष खड्काका अनुसार महोत्सवमा सडक क्षेत्रमा १६ वटा स्टल निर्माण भएका छन् । ती स्टलमा फरक–फरक परिकार तयार हुनेछन् ।

प्राकृतिक हिसाबले सुन्दर जिरी बजार वर्षौँदेखि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । नेपाल भ्रमण वर्षका अवसरमा अझ धेरै पर्यटकको गन्तव्य बनाउन विभिन्न मेला महोत्सव आयोजना गर्ने जिरी नगरपालिकाले उद्देश्य लिएको छ ।

नगरप्रमुख टंकबहादुर जिरेलले जिरीको मुख्य स्रोत पर्यटन भएकाले पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर काम भइरहेको बताए । नगरप्रमुख जिरेलले प्रत्येक वडामा पर्यटन पार्क निर्माण भइसकेको र कतिपयमा धमाधम भइरहेको जानकारी दिए । महोत्सवमा १० हजार पर्यटक आउने आशा आयोजकले राखेको छ।

 

 

000



प्रकाशित: २०७६ कार्तिक १
October 18th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार