नेपाली समय: ०५:०९:४८ बिहान
वि.सं २०८० फाल्गुण १३   आइतबार

संस्कृत विश्वविद्यालय प्राध्यापक संघको सातौँ अधिवेशन सुरु

निर्माण सञ्चार, २९ मंसिर, २०८० ।

नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघको सातौँ राष्ट्रिय अधिवेशन आरम्भ भएको छ । राजधानी काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा शुक्रबार अर्थमन्त्री डा प्रकाश शरण महतले अधिवेशनको उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा महतले संस्कृत शिक्षाको महत्त्व दिनप्रतिदिन बढिरहेको र विश्वस्तरबाटै संस्कृतको खोजी गर्नथालेपछि मात्र नेपालीहरुले संस्कृत शिक्षा पनि महत्त्वपूर्ण रहेछ भनी सम्मान गर्ने वातावरण बढ्न थालेकोमा खुशी व्यक्त गरेका थिए । 

'संस्कृत भाषा र यसभित्र रहेको विशाल ज्ञानराशिलाई हामीले जनता सामक्ष पनि चिनाउनु पर्छ,’ अर्थमन्त्री महतले भने, ‘सारासंसारले यसको खोजिगरिरहेको छ तर हामीहरु संस्कृत कण्ठस्थ सुनाउनेमा मात्र सीमित भएका छौँ तर अर्थ थाह नभएको पनि हुन सक्छ ।’

संस्कृत शिक्षाको सर्वस्वीकार्यता बढे पनि नेपालमा यसको अपेक्षाकृत विकास हुन नसकेको उनको भनाइ थियो । संस्कृत शिक्षाको विकासका लागि नेपाल सरकारले सक्तो सहयोग गर्ने उनले बताए । 
 
ने.सं.वि. नेपालकै पहिलो संस्कृत विश्वविद्यालय हो । २०३३ सालमा महाविद्यालयका रुपबाट विकसित हुँदै २०४३ सालमा यसको विधिवत् स्थापना भएको थियो । यो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयपछिको दोस्रो तथा पूर्वीय वाङमयमाथि अध्ययन गराउने दक्षिण एसियाकै प्रतिष्ठित विश्वविद्यालयका नाउँमा चिनिन्छ । यस विश्वविद्यालयले उत्पादन गरेका विज्ञहरु आज बेलायत, जर्मनी, भारत, चीनदेखि विश्वका प्रतिष्ठित विश्वविद्यालयहरुमा अध्यापन तथा अनुसन्धानमा संलग्न छन् । 

विश्वविद्यालयहरु खोल्ने होड चलिरहेजस्तो देखिने नेपालमा पुराना विश्वविद्यालको संरक्षण र सम्बद्र्धन तर्फ भने सरकारको पर्याप्त ध्यान नगएको विज्ञहरुको गुनासो छ । मुलुकमा यतिबेला डेढ दर्जन बढी विश्वविद्यालय सञ्चालनमा छन् । तर, प्राचीन संस्कृत भाषा, सभ्यता र त्यससम्बद्ध विशाल वाङमयको अध्ययन गराउने संस्कृत विश्वविद्यालयलाई युग सुहाउँदो अध्ययन तथा अनुसन्धानका लागि युग सुहाउँदो सुविधा सम्पन्न गराउने तर्फ पनि नेपाल सरकारको ध्यान जाओस् भन्ने प्राध्यापकहरुको माग रहेको छ । 

देशैभरबाट करिब एक सय बढी प्राध्यापक प्रतिनिधिहरु सहभागी हुने यो सम्मेलनले अबको ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । आयोजक ने.सं.वि. प्राध्यापक संघ अनुसार यो अधिवेशनको उद्घाटन सत्र सकिएको भोलिपल्ट शनिबारको बन्दसत्र प्रदर्शनमार्गस्थित वाल्मीकि विद्यापीठमा हुने छ । देशैभरका विश्वविद्यालयहरुमा सहमतीय संस्कृति अनुरुप नेतृत्व चयन थालिरहेका प्राध्यापक नेताहरु संस्कृत विश्वविद्यालयमा पनि त्यसको अभ्यास हुने बताउँछन् । 

 



प्रकाशित: २०८० मंसिर २९
December 15th 2023

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार