नेपाली समय: ०४:०३:३४ अपरान्ह
वि.सं २०७९ आषाढ २२   बुधवार

बुद्धिजीवीहरुको चारदिने राष्ट्रिय अधिवेशनको तयारी पूरा, ओलीले उद्घाटन गर्ने, ५ सय प्रतिनिधि सहभागी हुने

निर्माण सञ्चार, १८ चैत, ०७८, काठमाडौं ।

नेपाल बुद्धिजीवी परिषद्को १० औँ राष्ट्रिय अधिवेशन काठमाडौंको टोखामा हुने भएको छ । करिब ५ सय प्रतिनिधिहरु सहभागी हुने उक्त अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । 

  • ३ दिनसम्म टोखामै क्याम्प जमाउँदै बुद्धिजीवी, केके छन् कार्यक्रम ?
अधिवेशनको तयारी पूरा भएको परिषद् अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाले जानकारी दिएका हुन् ।

राजधानीस्थित होटेल हार्दिकमा आयोजित सञ्चार साक्षात्कार कार्यक्रममा बोल्दै डा देवकोटाले अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै स्थानीय तहको विकास के कसरी गर्न सकिन्छ भन्ने विभिन्न थिमहरुमा कार्यपत्र सहितका गोष्ठीहरुमा प्रतिनिधिहरु व्यस्त हुने पनि जानकारी दिए । उनले भने, ‘स्थानीय तहको निर्वाचन मुखमै आइसकेको छ । अरुहरु चुनाव जित्ने हिसाब किताब गर्दैछन् तर हामी बुद्धिजीवी मार्फत् देशैभरका जनप्रतिनिधिहरुलाई स्थानीय तहमा गर्ने विकास सम्बन्धी खाका दिएर पठाउने छौँ ।’

डा देवकोटा अनुसार चुनाव पछि स्थानीय सरकारहरु जनताको सेवामा मात्र नभई समृद्ध मुलुक बनाउन विभिन्न विकास निर्माणमा सरिक हुने छन् । त्यसैले यो अधिवेशनमा हरेक जिल्लाबाट आएका बुद्धिजीवीहरुलाई स्थानीय तहको विकास निर्माण सम्बन्धी तालिम दिने योजना बुद्धिजीवी परिषद्ले बनाएको छ । 

बुद्धिजीवी परिषद् केही महिनादेखि नै स्थानीय तहका जनप्रतिनिधिहरुका घोषणापत्रको आधार निर्माणमा संलग्न छन् । केही दिन अघिमात्रै ललितपुरस्थित होटल हिमायलमा आयोजित प्राविधिक सम्मेलन मार्फत् एमाले अध्यक्ष ओलीले देशैभरका करिब ६ सय बुद्धिजीवी तथा जनप्रतिनिधिहरुलाई स्थानीय चुनाव तथा प्रतिबद्धता सम्बन्धी भर्चुअल सम्बोधन समेत गरेका थिए । 

यस पटकको अधिवेशनमा देशैभरका बुद्धिजीवीहरु ३ दिनसम्मै टोखामा क्याम्प कसेर बस्ने भएका छन् । पहिलो दिन ‘समृद्धिका लागि बुद्धिजीवी’ शीर्षकमा हुने गोष्ठीमा एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने दोस्रो दिन अर्थात् चैत २० गते चाहिँ अधिवेशनको उद्घाटन ओलीले गर्ने छन् । 

तेस्रो दिन बन्द सत्र चल्ने छ भने चौथो दिन प्रतिनिधहरुलाई स्थानीय तह चुनाव सम्बन्धी प्रतिबद्धता पत्र निर्माण केन्द्रित तालिमहरु दिइने छ । 

यस्तो छ बुद्धिजीवीहरुको ४ दिने कार्यक्रम तालिका 

पहिलो दिन– ‘समृद्धिका लागि बुद्धिजीवी’ शीर्षकमा विचार गोष्ठी
प्रमुख अतिथि– महसाचिव शंकर पोखरेल

२०७८ चैत १९ गते, स्थान– लर्ड प्यालेस, टोखा, समय – दिनको २ः०० बजे 

दोस्रो दिन– १०औं राष्ट्रिय अधिवेशनको उद्घाटन समारोह

प्रमुख अतिथि– केपी शर्मा ओली, अध्यक्ष, नेकपा एमाले तथा पूर्वप्रधानमन्त्री
२०७८ चैत २० गते, स्थान– लर्ड प्यालेस, टोखा, समय–बिहान १०ः०० बजे 

तेस्रो दिन ः १०औँ राष्ट्रिय अधिवेशनको बन्द सत्रको समारोह

प्रमुख अतिथि ः ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्ष, नेकपा एमाले
२०७८ चैत २१ गते, स्थान ः लर्ड प्यालेस, टोखा, समय ः बेलुकी ०४ः०० बजे 

चौथो दिन– स्थानीय तह निर्वाचनको प्रतिबद्धतापत्र सम्बन्धी प्रशिक्षक प्रशिक्षण (अभिमुखीकरण कार्यक्रम)
सहभागी– जिल्लाबाट प्रतिबद्धता पत्र निर्माणका लागि छानिएका प्रतिनिधि बुद्धिजीवीहरु

२०७८ चैत २२ गते, स्थान– रोयल दरबार ब्याङ्केट, नारायणगोपाल चोक, चक्रपथ, समय– बिहान ११ः०० बजे 


०००
 


०००
 



प्रकाशित: २०७८ चैत्र १८
April 1st 2022

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार