तीव्र गतिमा बुद्धिजीवी परिषद्ः ४५ दिनमै ७४ जिल्ला सम्मेलन, संगठनसँगै चुनावी घोषणापत्र निर्माणको अगुवाइ
निर्माण सञ्चार, १६ चैत, ०७८, काठमाडौं ।
नेपाल बुद्धिजीवी परिषद् आफ्नो स्थापनापछिका यात्राहरुमा इतिहासमै तीव्र गतिमा अघि बढिरहेको छ । गत फागुनको पहिलो हप्ताबाट संगठन निर्माणमा जिल्लाव्यापी मैदानमा उत्रिएको परिषद्ले डेढ महिनामै देशव्यापी रुपमा जिल्ला अधिवेशनहरु सम्पन्न गर्दै आसन्न स्थानीय तह निर्वाचनका लागि समेत चुनावी घोषणा पत्रको खाका बनाउन लागिपरेको हो ।
‘यस पटक हामी जुरुक्कै उठ्यौं,’ एक सन्दर्भमा परिषद् अध्यक्ष तथा राष्ट्रिय योजना आयोग पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाले भने, ‘काम भनेको थोरैले नै गर्ने हो । केही दर्जन साथीहरु यसो गरौँ भनेर उठेका थियौँ, देशव्यापी रुपमा परिषद्को रेलगाडी दौडिहाल्यो ।’
योसँगै परिषद् आफू निकट पार्टी नेकपा एमालेका लागि आसन्न स्थानीय तह निर्वाचनको घोषणा पत्रको प्रारुप बनाउन जुटिरहेको अध्यक्ष डा देवकोटाले बताए । उनका अनुसार स्थानीय निकायको आफ्नो आवश्यकता, औकात र बुद्धिले भ्याएसम्मका मौलिक कार्यक्रमहरु समेत राख्न सकिने गरी घोषणा पत्रको खाका बनाइकन पार्टीलाई दिइसकेको छ ।
परिषद्ले यही २० गते आफ्नो १०औं राष्ट्रिय अधिवेशन गर्दै छ । त्यसको पूर्वतयारीकै रुपमा देशव्यापी संगठन निर्माण तथा पुनर्गठनमा लागेको हो । महासचिव इन्जिनियर गजेन्द्र थपलियाका अनुसार राष्ट्रिय अधिवेशनको तयारीले अन्तिम चरणमा पुगेको छ भने देशैव्यापी रुपमा प्रतिनिधिहरुको पनि लगभग टुंगो लागिसकेको अवस्था छ ।
मुलुकका ७७ जिल्ला मध्ये ७४ जिल्लामा परिषद्को आफ्नै उपस्थितिमा जिल्ला सम्मेलनहरु भएका हुन् भने बाँकी ३ वटा जिल्लामा आयोजक समिति बनिसकेको र त्यहाँबाट पनि १० राष्ट्रिय अधिवेशनमा प्रतिनिधित्व हुने महासचिव थपलियाको भनाइ छ ।
नेकपा कालीन अवधिमा निस्क्रिय प्रायः परिषद् एमालेको १० महाधिवेशनसँगै जुरमुराएको थियो । महाधिवेशनको पूर्वसन्ध्यामा परिषद्ले देशका सातै प्रदेशमा नीतिगत बहस सञ्चालन गरेर चर्चा कमाएको थियो ।
राजधानी काठमाडौंको टोखा नगरपालिकामा हुने अधिवेशनको एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने त्यसको ठिक अघिल्लो दिन महासचिव शंकर पोखरेल ‘समृद्धिका लागि बुद्धिजीवी’ शीर्षकमा विचार गोष्ठीमा सरिक हुने आयोजक परिषद्को भनाइ छ ।
परिषद् अनुसार २१ गते वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा बन्द सत्र सहित कार्यक्रमको समापन गर्ने छन् । योसँगै परिषद्ले स्थानीय चुनाव लक्षित प्रशिक्षक प्रशिक्षण सञ्चालन गरी देशव्यापी रुपमा आफ्ना बुद्धिजीवीहरु परिचालन समेत गर्ने कार्यक्रम रहेको बताएको छ । यसै बिच परिषद्को केन्द्रीय सञ्चार विभागलाई पनि देशव्यापी बनाउने उद्देश्यले बागमती प्रदेशमा सञ्चारकर्मीसँग साक्षात्कार कार्यक्रमहरु भएका छन् । ०००
प्रकाशित: २०७८ चैत्र १६
परिषद् अनुसार २१ गते वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा बन्द सत्र सहित कार्यक्रमको समापन गर्ने छन् । योसँगै परिषद्ले स्थानीय चुनाव लक्षित प्रशिक्षक प्रशिक्षण सञ्चालन गरी देशव्यापी रुपमा आफ्ना बुद्धिजीवीहरु परिचालन समेत गर्ने कार्यक्रम रहेको बताएको छ । यसै बिच परिषद्को केन्द्रीय सञ्चार विभागलाई पनि देशव्यापी बनाउने उद्देश्यले बागमती प्रदेशमा सञ्चारकर्मीसँग साक्षात्कार कार्यक्रमहरु भएका छन् । ०००
प्रकाशित: २०७८ चैत्र १६
March 30th 2022
प्रतिक्रिया दिनुहोस्