नेपाली समय: ०३:०७:३० बिहान
वि.सं २०७६ कार्तिक ३०   शनिवार

स्क्याफ–२९–औं वार्षिकोत्सवः दिगो पूर्वाधार विकासका लागि तेस्रो अन्तर्राष्ट्रिय संगोष्ठी, ‘नलिज सेयरिङ’को स्वर्णिम अवसर बन्ने

निर्माण सञ्चार, ८ कात्तिक, काठमाडौं ।  सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस् (SCAEF/स्क्याफ) ले आफ्नो २९ औं स्थापना वार्षिक दिवसको अवसरमा तेस्रो अन्तर्राष्ट्रिय संगोष्ठी गर्ने भएको छ ।

  • यस पटक राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सहभागीः मंसिर २–४ मा काठमाडौंमा हुने
आउने मंसिर २ देखि ४ गते अर्थात् नोभेम्बर महिनाको १८ देखि २० तारिख गरी ३ दिनसम्म चल्ने इन्जिनियर तथा पूर्वाधार विकास परामर्शदाताहरुको सो अन्तर्राष्ट्रिय संगोष्ठीमा स्वदेश र विदेशका गरी दर्जन बढी पत्रहरुमाथि विशेष छलफल हुने छ ।

उक्त संगोष्ठी नीतिगत, अभ्यासगत अनुभव, ज्ञान, सीप, प्रविधिबारे नवीनतम जानकारीका साथै पूर्वाधार विकासको क्षेत्रमा लगानी भित्र्याउन सहायक सिद्ध हुने आयोजकको दाबी छ ।

३ दिनसम्म नै राजधानी काठमाडौंमै हुने उक्त संगोष्ठीको उद्घाटन र समापन विशेष समारोह हुने छ, जहाँ पूर्वाधार विकासका लागि ‘लाइन मिनिस्ट्री’का रुपमा चिनिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, त्यस आबद्ध विभिन्न विभागहरु, ऊर्जा, सिँचाइ आदि पूर्वाधार विकास सम्बद्ध मन्त्रालय, त्यस सम्बद्ध विभागीय अधिकारीहरु, विकासविद्, इन्जिनियर, परामर्शदाता, इन्जिनियरिङ क्षेत्र र विश्वविद्यालयमा पूर्वाधार सम्बद्ध अनुसन्धानरत विद्यार्थीहरु समेत सहभागी हुने छन् ।

पुनर्निर्माणको अनुभव सहित सहभागी हुँदैछ पुनर्निर्माण प्राधिकरण सहभागी

‘सुन्दर भविष्यका लागि दिगो पूर्वाधार विकास’ नारामा गर्न लागिएको उक्त अन्तर्राष्ट्रिय संगोष्ठीको आयोजकमा स्क्याफ सहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पनि रहेको छ । 

गोरखा भूकम्पपछि जन्मिएको पुनर्निर्माण प्राधिकरण स्क्याफको ३ दशकको यात्रामा यो पटक भने आयोजकसँगै हातोमालो गरिरहेको छ ।
भूकम्प पछिको पुनर्निर्माणमा होमिएको पुनर्निर्माण प्राधिकरण यस अन्तर्राष्ट्रिय संगोष्ठीबाट दिगो तथा बलियो पुनर्निर्माणको मुद्दामा सहकार्य गर्न लागेको हो । 

नेपाल जस्तो भूकम्पीय जोखिमयुक्त मुलुकको पुनर्निर्माण अन्तर्राष्ट्रिय मुलुकको पुनर्निर्माणसँग केही हकमा उन्नत समेत रहेको दाबी गर्दै आएको प्राधिकरण यस अन्तर्राष्ट्रिय संगोष्ठीमा अनुभवको दोहोरो आदाना प्रदान गर्नेमा आशावादी देखिन्छ ।

पुनर्निर्माणबारे तीतो मीठो अनुभव सुनाउँदै पूर्वतयारी वैठकमा प्राधिकरण अधिकारी डा चन्द्र श्रेष्ठले उपत्यकामा भन्दा मोफसलमा कामले गति लिएको बताए ।

स्थापनाको चौथो वर्ष पूरा गर्नै लाग्दा उपत्यकामा भन्दा मोफसलका निजी तथा सरकारी आवासहरुको पुनर्निर्माणमा चाखलाग्दो गरी काम गरेको छ । जहाँ झन्डै ७० प्रतिशत पुनर्निर्माणका कामहरु सम्पन्न भइसकेका छन् । 

तर, राजधानी र उपत्यकामा भने सो गतिमा काम हुन सकेको छैन । अझै पनि सम्पदा क्षेत्र तथा पुरानो बस्ती सहरका घरहरु टेको लगाएकै अवस्थामा छन् ।

यसको कारण सुनाउँदै प्राधिकरणले यो अनुभव अन्तर्राष्ट्रिय स्तरमा आदान प्रदान गर्न लायक घटना समेत रहेको बताए । जसबाट विभिन्न नयाँ अवधारणा विकास गर्न मद्दत पुग्ने प्राधिकरणको अपेक्षा छ ।

आफ्नो सम्मेलनबारे पूर्व तयारी वैठक गर्दै स्क्याफ अध्यक्ष राजेश थापाले संगोष्ठीको अन्तिम तयारी भइरहेको जानकारी दिए ।

स्क्याफले यस अघि दुई वटा यस्तै अन्तर्राष्ट्रिय स्तरको सम्मेलन सम्पन्न गरिसकेको छ । सबैभन्दा पहिलो सन् १९९८ मा आयोजना भएको थियो भने दोस्रो अन्तर्राष्ट्रिय संगोष्ठी २००९ मा नेपालमै आयोजना भएको थियो । यो संगोष्ठी तेस्रो हो ।

झन्डै १० वर्षको अन्तरालमा हुँदै आएको यस खाले अन्तर्राष्ट्रिय संगोष्ठीले नेपाल र विदेशका बीचमा पूर्वाधार विकास परामर्श क्षेत्रभित्र आपसी विकास साझेदारी गर्न, अनुभव आदान प्रदान गर्न, भातृत्व विकास गर्नुका साथै सीप, प्रविधि हस्तान्तरण गर्नमा पनि सहयोगी सिद्ध भएको स्क्याफ कार्यकारिणी सदस्य समेत रहेको वरिष्ठ पूर्वाधारविद् इन्जिनियर ठाकुर प्रसाद शर्माले बताए ।

कार्यक्रमको भव्य तयारीमा जुटेको स्क्याफले यस संगोष्ठीमा नेपालमा रहेको निर्माण उद्योग सम्बद्ध सबै निकायलाई ‘नलिज पार्टनर’का रुपमा ग्रहण गरेको महासचिव कृष्ण सापकोटाले जानकारी दिए ।

महासचिव सापकोटा अनुसार उक्त सम्मेलनमा विदेश र स्वदेश गरी ५ सय बढी सहभागी हुने अपेक्षा छ । 

पछिल्ला दिनमा नेपालले अन्तर्राष्ट्रिय स्तरमै लगानीको वातावरण सकारात्मक बनेको सन्देश दिन सफल भएको छ । लगानी बोर्डले लिने इनिसिएटिभदेखि एकल विन्दु सेवासम्मका कामहरु सहज रुपमा हुन थालेको सरकारले दाबी गर्दै आइरहेको छ ।

अक्टोबर २४ अर्थात् विश्व बैंक समूहले १७ वर्षदेखि प्रकाशन गर्दै आएको ‘डुइङ बिजनेस प्रतिवेदन’ ले नेपालले लगानीका लागि वातावरण सुधार गरेको बताएको छ ।

विश्वका १९० मुलुकका सरकार तथा निजी लगानीकर्ताहरुको मुलुक भित्रको लगानीको वातावरणको मूल्यांकन सम्बन्धी प्रतिवदेन सार्वजनिक भएको दिन हो । 

जुन दिन स्क्याफले आफ्नो संगोष्ठीको पूर्वतयारीबारे पार्टनर एजेन्सीहरुसँग विशेष वैठक गरिरहेको थियो, सोही दिन प्रकाशित उक्त प्रतिवेदनले नेपालमा यतिबेला लगानीका लागि वातावरण बन्दै गएको बताएको हो ।

विश्व बैंक समूहले आफ्ना सदस्य राष्ट्रहरूमा रहेको व्यवसाय सञ्चालनको सहज अवस्था मापन र मूल्यांकन गर्दै विश्वव्यापी रूपमा ‘डुइङ बिजनेस प्रतिवेदन’ मा नेपाल लगानी सूचकांकका दृष्टिले विभिन्न १६ वटा स्थानमा सुधार गर्दै १९० मुलुकहरूमध्ये आफूलाई ९४औँ स्थानमा उभ्याउन सफल भएको मूल्यांकन सार्वजनिक गरेको अवस्था छ ।

यही अवस्थामा स्क्याफले आयोजना गर्न लागेको उक्त अन्तर्राष्ट्रिय सम्मेलन पूर्वाधार विकासका दृष्टिले लगानी सम्मेलन सरह रहने स्क्याफ महासचिव सापकोटा बताउँछन् ।

अर्काेतिर आउने सन् २०२२ सम्ममा नेपाल संयुक्त राष्ट्र संघले निर्धारण गरेको मध्यम स्तरको विकासमा फड्को मारिसक्नु पर्ने दबाब छ । सरकार र उसको राष्ट्रिय योजना आयोग पनि सोही अनुरुप कायृक्रमहरु लिएर अघि बढ्न चाहेको देखिन्छ ।

महासचिव सापकोटाले नेपालमा अन्तर्राष्ट्रिय स्तरका उच्च गुणस्तरीय परामर्शदाता नआइरहेको अवस्थामा यो संगोष्ठी सन्देशमूलक हुने बताए ।

‘नेपाल अब उच्च गुणस्तरीय परामर्शदाताहरुको सीप, दक्षता, पुँजी र प्रविधि लगानी गर्ने आकर्षणको उचित समय विन्दुमा आइपुगेको छ है भन्ने सन्देश दिनु पनि हो, त्यसैले यो अन्तर्राष्ट्रिय संगोष्ठीलाई हामीले भव्य बनाउने छौं,’ महासचिव सापकोटाले भने ।

नेपाल पछिल्ला दिनमा दुई उदीयमान आर्थिक राष्ट्र चीन र भारतका बीचमा ‘कूटनीतिक सौदा’ समेत गर्न सक्ने स्थानमा आइपुगेको देखिएको छ ।

पूर्व–दक्षिणतिरबाट भारतले रेल–वे विस्तार गरिरहेको छ भने उत्तरतिरबाट चीनसँग नेपालले रेल–वेदेखि सुरुङ मार्गसम्मका परियोजनाहरु अघि बढाइरहेको अवस्था छ ।

तर, यी सबै परियोजना समृद्ध नेपाल र सुखी नेपाली बनाउने संकल्प बोकेको सरकारका लागि दक्ष प्राविधिक र परामर्शदाता इन्जिनियरिङ क्षेत्रको संलग्नता विना सफल नहुने महासचिव सापकोटा बताउँछन् ।

‘नेपाल इतिहासमै पूर्वाधार विकासका दृष्टिले स्वर्णिम कालखण्डका रुपमा अघि बढिरहेको बेला हामीले यसलाई क्यास गर्न सक्नु पर्छ भन्ने हामी चाहन्छौं र नेपालको पूर्वाधार क्षेत्रमा लागिरहेको ठूलो इन्जिनियरिङ पंक्तिको कुशलतापूर्वक नेतृत्व समेत गर्न चाहन्छौं, ताकि दिगो विकासद्वारा मुलुक समृद्ध बन्न सकोस् र भावी नेपाली जनताका लागि धरातल तयार हुन सकोस्,’ सापकोटा बताउँछन् ।

सो कार्यक्रममा राष्ट्रिय योजना आयोगदेखि स्थानीय प्रदेश सरकारका अधिकारीहरुसम्म सहभागी हुने छन् ।

कार्यक्रमको सहआयोजकका रुपमा नेपाल निर्माण व्यवसायी महासंघ समेत रहने छ भने नेपाल इन्जिनियर्स एसोसिएसनदेखि पूर्वाधार सम्बद्ध इन्जिनियरिङ क्षेत्रहरु यसका सहभागी सहयात्रीहरु रहने छन् ।

उक्त संगोष्ठीमा छिमेकी मुलुक भारत, चीन, बंगलादेश, श्रीलंका सहित युरोप र अमेरिकी परामर्शदाताहरु समेत सहभागी हुने छन् ।
 

 

 

 

०००
 



प्रकाशित: २०७६ कार्तिक ८
October 25th 2019

नवराज खतिवडा

खतिवडा निर्माण मिडियाका लागि सम्पादक हुन्