नेपाली समय: ०४:१७:०४ अपरान्ह
वि.सं २०७६ मंसिर २०   शुक्रवार

उद्योगमन्त्री भट्टले भने–‘अभिभावकको भूमिकामा निजी क्षेत्रसँग सहकार्य गर्न तयार छौं’

निर्माण सञ्चार, १६ मंसिर, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उद्योग व्यवसाय क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय अभिभावकको भूमिकामा सहकार्य गर्न तयार रहेको बताएका छन्।

नेपाल उद्योग परिसंघमा आइतबार उद्योगी व्यवसायीहरुसँग छलफल गर्दै मन्त्री भट्टले कुल ग्राहस्थ उत्पादनमा उत्पादनशील क्षेत्रको योगदान बढाउन परिसंघसहित निजी क्षेत्रसँग मिलेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

निर्यात व्यापारमा वस्तुहरूको प्राथमिकीकरण तथा विविधीकरण गर्न समेत मन्त्रालयले सहकार्य गर्ने उनले बताए। कम्पनी दर्ता प्रक्रियालाई सहज बनाउने काम सुरू भइसकेको उनको भनाइ थियो । 

परिसंघका अध्यक्ष सतिशकुमार मोरले निर्यात व्यापारमा उत्साह देखिएको बताउँदै थप प्रवर्द्धनात्मक नीति तथा कार्यक्रम ल्याउन आग्रह गरे।

नेपालबाट निकासी हुने वस्तुहरू मध्य सीमित वस्तुलाई मात्र निकासीमा अनुदानको व्यवस्था रहेकोमा मूल्य अभिवृद्धिको आधारमा नेपालबाट निर्यात हुने सम्पूर्ण वस्तुहरूमा निकासी अनुदान दिने व्यवस्था मिलाउन उनले आग्रह गरे।

मोरले औद्योगिक व्यवसाय लगायत अन्य ऐनले उद्योग तथा व्यवसायलाई दिएको सुविधा आर्थिक ऐनबाट कटौती नगर्ने व्यवस्था मिलाउन र नेपाल व्यापार एकीकृत रणनीतिलाई प्रतिस्पर्धी क्षमताका आधारमा पुनरावलोकनका लागि आग्रह गरे।

 सोही अवसरमा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले कानूनहरूलाई उद्योगमैत्री रूपमा सुधार गर्नुपर्ने बताए ।

 

 

000



प्रकाशित: २०७६ मंसिर १६
December 2nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार