नेपाली समय: ०५:४२:५४ बिहान
वि.सं २०७९ जेठ १०   मंगलवार

निर्माण अवधि सकिएको १६ महिनापछि पुनः काम सुचारु गरिएको पाटन विमानस्थलको काम ठप्प

निर्माण सञ्चार, मंसिर २९, बैतडी । बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम गएको तीन दिनदेखि ठप्प भएको छ।

वर्षा तथा हिमपातले विमानस्थलमा भइरहेको कालोपत्रेको काम शुक्रबारदेखि पूर्णरूपमा ठप्प भएको निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले बताए । 

‘कालोपत्रे गर्नको लागि कम्तीमा पनि १० डिग्री सेल्सियस तापक्रम चाहिने हुँदा आवश्यक तापक्रमका लागि अझै दुई तीन दिन कुर्नुपर्ने देखिएको छ। उनले भने, ‘लामो समयपश्चात कालोपत्रेको काम सुरु भए पनि वर्षाले गर्दा झनै काम प्रभावित भएको छ ।’ 

 उनले भने, ‘निरन्तर काम भएको भए अबको २० दिनभित्रै कालोपत्रेको काम सकिने थियो।’

२०७३ साल चैतमा सम्झौता भएर विमानस्थल पुनर्निर्माणको काम सुरु भएको थियो । सुरुको सम्झौता अनुसार असारमा काम सक्नुपर्ने थियो ।

पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाई र २० मिटर चौँडाईको धावनमार्ग कालोपत्रे भइरहेको छ, भने ७० मिटर लम्बाई र ३० मिटर चौडाईको एप्रोन पनि कालोपत्रे भइरहेको थियो। 

करिब मूल्य अभिवृद्धि कर बाहेक ११ करोड २९ लाखको लागतमा काम भइरहेको हो।  

विमानस्थलमा कालोपत्रे सुरु भएपछि स्थानीयहरु खुसी भएका थिए, फेरी वर्षा र हिमपतलले काम ठप्प भएसंगै फेरी कामले पूर्णता पाउला या नपाउला भन्ने सोचले स्थानिय निराश देखिएका छन् ।  

२०३२ सालमा  निर्माण थालिएको र २०३५ सालदेखि हवाई सेवा सुरु भएको यो विमानस्थल २०५२ सालदेखि बन्द भएको थियो ।

त्यतिबेला पहाडी जिल्लाहरुमा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । 

२०५८ सालमा तत्कालिन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएका थिए।

यस विमानस्थल सुचारु भएमा दार्चुलाको अपी हिमाल, बझाङको साइपाल हिमाल, बैतडी र डडेल्धुराका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटकहरु भित्र्याउन सजिलो हुने स्थानीयबासी लोकेन्द्र प्रसाद पन्तले बताए। 

पाटन विमानस्थल कालोपत्रे भई सञ्चालनमा आएमा भ्रमण बर्ष २०२० लाई समेत सहयोग पुग्नेछ। बैतडीमा सात बैनी भगवतीका मन्दिर, सात भाई केदारका मन्दिर र पातालभुवनेश्वर धाम  लगायतका पर्यटकीय तीर्थस्थल रहेका छन्।  

 

 

०००



प्रकाशित: २०७६ मंसिर २९
December 15th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार