नेपाली समय: ०१:५३:१८ बिहान
वि.सं २०७८ कार्तिक ८   सोमवार

भैरहवा विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिखलाई दिने तयारी

निर्माण सञ्चार, पौष १, काठमाडौं । निर्माणाधीन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सरकारले  सञ्चालनको जिम्मा जर्मनीको ‘म्युनिख’ विमानस्थललाई दिने प्रक्रिया अघि बढाएको छ ।

नेपाल सरकार– जर्मन सरकार मार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनको दोस्रो ठूलो विमानस्थल ‘म्युनिख’ लाई दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । 

पर्यटन मन्त्रालय स्रोतका अनुसार पुस दोस्रो सातासम्ममा प्रस्ताव तयार पारेर सम्झौता सहमतिका लागि मन्त्रिपरिषद् पठाउने तयारी छ । मन्त्रिपरिषद्को निर्णयसँगै दुईपक्षीय सम्झौता हुनेछ । 

एक वर्षअघिदेखि विभिन्न अनौपचारिक छलफल भइरहे पनि म्युनिखले तीन साताअघि मात्रै नेपाल सरकारलाई विस्तृत प्रस्ताव पठाउँदै पहिलो चरणमा चार वर्षको सञ्चालनको जिम्मा लिने र त्यसपछि अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने प्रस्ताव राखेको छ । 

सरकारले सोही प्रस्तावका आधारमा दुईपक्षीय छलफललाई तीव्रता दिएको छ । ‘म्युनिख’ले गत वर्ष माघमा नेपाललाई अनौपचारिक प्रस्ताव गरेको थियो । 
गत साउन पहिलो साता नेपाललाई औपचारिक पत्र लेख्दै भैरहवा विमानस्थल सञ्चालनको जिम्मा दिन आग्रहसहितको पत्र पठाएको थियो । 

म्युनिखको प्रस्तावलाई साउन अन्तिम साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषद्समक्ष राखेको थियो । त्यसमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेको छ । 

सैद्धान्तिक सहमतिसँगै मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको नेतृत्वले ‘म्युनिख’को टोलीसँग विभिन्न चरणमा वार्ता गरेको थियो । त्यसपछि मन्त्रालयले ‘म्युनिख’लाई विस्तृत प्रस्ताव पेस गर्न आग्रह गरेको थियो । 

आफैँ वा स्वदेशी कम्पनीले सञ्चालन गर्न भन्दा केही वर्ष विदेशी कम्पनीलाई व्यवस्थापनको जिम्मा दिँदा धेरै कुरा सिकिने नेपाली टोलीको बुझाइ छ । विदेशी कम्पनीले भित्र्याएको व्यवस्थापन कला र नयाँ प्रविधि उपयोग गर्दै पछि आफैं सञ्चालन गर्न सहज हुनेछ । 

प्रविधि भित्र्याउन र व्यवस्थापन हेर्न र सिक्नका लागि पनि पिपिपी मोडलमा जानुको विकल्प नभएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउँछन् । 

‘म्युनिखको प्रस्ताव सकारात्मक छ, उसको प्रस्तावमा अध्ययन भइरहेको छ,’ उनले भने । म्युनिखले नपाए पनि अन्य प्रस्ताव मागेर पनि भैरहवा विमानस्थल सञ्चालन पिपिपी मोडलमै जाने पोखरेलले जानकारी दिए । 

पोखरेल म्युनिखले पठाएको प्रस्ताव अध्ययन गर्न सरकारले बनाएको प्राविधिक समितिका सदस्यसमेत हुन् । समितिमा पर्यटन मन्त्रालय र अर्थमन्त्रालयका सदस्य छन् । 

म्युनिखको प्रस्तावमा अर्थमन्त्री डा। युवराज खतिवडादेखि प्रधानमन्त्री केपी शर्मा ओलीसम्म सकारात्मक रहेका छन् । अर्थ मन्त्रालयले भैरहवा विमानस्थल सञ्चालन सार्वजनिक निजी साझेदारी ९\(पिपिपी) मोडालिटीमा जान गत वर्ष मंसिरमा सहमति दिएको थियो । 

पहिलो चरणमा म्युनिखलाई ४ वर्ष व्यवस्थापनको जिम्मा 

सरकारले पहिलोपटक अन्तर्राष्ट्रिय संस्थालाई पूर्वाधारको जिम्मा दिन लागेकाले पहिलो चरणमा ४ वर्षका लागि व्यवस्थापनको जिम्मा म्युनिखलाई दिन लागिएको छ । 

तर, म्युनिखले अनिवार्य नवीकरण गर्नुपर्ने र कम्तीमा ३० वर्षका लागि सम्झौता गर्नुपर्ने सर्त राखेको छ । नेपालले भने ४ वर्ष अनुभवका आधारमा मात्रै थप नवीकरण गर्न सकिनेरनसकिने भन्ने निर्णय हुने प्रस्ताव गरेको छ ।

विमानस्थलमा अध्यागमन र सुरक्षाबाहेकको जिम्मा म्युनिखले पाउनेछ । त्यसमा सञ्चालन, व्यवस्थापन र वित्तीय व्यवस्थापनको जिम्मा पर्नेछ । 

दुईपक्षीय छलफलमा राजस्व बाँडफाँट र शुल्कको विषयमा सहमति नभए पनि अन्य विषयमा सहमतिनजिक पुगेको मन्त्रालय स्रोतले जानकारी दियो । 

राजस्व बाँडफाँटमा म्युनिखले ६० प्रतिशत राजस्व पाउनुपर्ने प्रस्ताव गरेको छ । तर, नेपालले आफूले ६० प्रतिशत पाउनुपर्ने अडान राखेको छ । 

यता म्युनिखले एयरलाइन्सलाई केही वर्ष छुट प्याकेज दिनुपर्ने भएकाले राजस्वमा ६० प्रतिशत हिस्सा माग गरेको छ । विमानस्थलमा ८० प्रतिशत नेपाली कर्मचारी, प्राविधिक र व्यावस्थापनका केही उच्च पदबाहेक अन्यमा नेपाली कर्मचारी हुनुपर्ने नेपालको प्रस्ताव छ । 

उक्त विषयमा म्युनिख सहमतिमा आइसकेको छ । सहमतिअनुसार अपरेसन र वित्तीय व्यवस्थापनको नेतृत्वमा भने म्युनिख आफँले नियुक्त गर्नेछ । 

विश्वकै उत्कृष्ट सातौँ नम्बरमा पर्ने म्युनिख विमानस्थल

विश्वका उत्कृष्ट विमानस्थलमध्ये सातौँ नम्बरमा रहेको जर्मनीको म्युनिख विमानस्थल विश्वका ठूला विमानस्थलमध्ये एक हो । 

जर्मनको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थलले गत वर्ष ४ करोड ६२ लाख यात्रुलाई सेवा दिएको थियो । ४ लाख १३ हजार उडान/अवतरण भएका थिए । 

यो  युरोपको १८ औँ ठूलो विमानस्थल हो । विश्वको ३८ औँ ठूलो विमानस्थलमा म्युनिख पर्छ । 

म्युनिख विमानस्थलको धावनमार्ग ४ हजार मिटर लामो छ । ६० मिटर चौडाइ रहेको छ । विमानस्थलको निर्माण भने सन् १९५४ मा भएको हो । 

दोस्रो चरणको विस्तार तथा दोस्रो धावनमार्ग सन् १९९३ मा तयार भएको थियो । सन् २०२५ सम्ममा तेस्रो धावनमार्ग तयार गर्ने योजना बनाएको छ । 

विमानस्थलको ६ तलाको पार्किङ छ । ३० हजार सवारी एकसाथ पार्किङ गर्न मिल्छ । विमानस्थलका चारवटा टर्मिनल भवन छन् । विमानस्थलभित्रै एक ठाउँबाट अर्को स्थानमा जान रेलवेको सुविधा छ । 

 

०००



प्रकाशित: २०७६ पौष १
December 17th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार