नेपाली समय: ०३:०८:५९ बिहान
वि.सं २०७७ साउन २०   मंगलवार

नेपालगञ्जमा थप ७ जनामा पुष्टि भयो कोरोना संक्रमणः नेपालमा पुग्यो ८२

निर्माण सञ्चार, २३ वैशाख, काठमाडौं । सोमबार बिहान ११ बजेदेखि २५ गतेसम्मका लागि कफ्र्यु घोषणा गरिएको बाँकेको नेपालगञ्जमा फेरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेटिएका नयाँ सातै जना बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । जसमा ४ महिला र ३ पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणबाट ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो ।

तर, उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य छ ।

ठिक अस्ति आइतबार बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए । 

एकाएक संक्रमितहरुको संख्या बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

भेरी अस्पतालले दिएको जानकारी अनुसार बाँकेमा हालसम्म ५ सय ९३ व्यक्तिको आरडिटी परीक्षण गरिएको छ । जहाँ पिसिआर विधिबाट ३ सय ५८ को जाँचका लागि स्वाब संकलन गरिएको छ । 

जसमध्ये सोमबारसम्म ३९ को रिपोर्ट आउन बाँकी छ । 

यो क्षेत्रमा एकाएक संक्रमितहरु बढेपछि ट्रयाकिङ्गका लागि बुटवल र काठमाडौंबाट पनि थप टोली पुगेको छ । 

मंगलबार भने यहाँ भेटिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ्ग र स्वाब संकलन सुरु हुने भएको छ ।

साथै, बाँकेसँग सिमाना जोडिएको कर्णाली प्रदेशले पनि आइतबार राति १२ बजेदेखि नाका सिल गरेको छ । 

संक्रमितहरु आफ्नो प्रदेशमा प्रवेश गर्ने डरले कोरोना संक्रमण रोकथामका लागि सबै नाका बन्द गरिएको कर्णाली प्रदेश सरकारले जनाएको छ । 

कर्णाली प्रदेश सरकार अनुसार यो प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएको छैन ।

नेपाल सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको आजसम्म यथाबत छ । 

पछिल्लो पटक थपिएको लकडाउनको म्याद वैशाख २५ गते सकिनु अगावै सरकार थप गर्ने वा फरक मोडालिटीमा जानेबारे छलफल गरिरहेको छ ।


०००

पढौं सम्बन्धित समाचार

सोमबारदेखि २५ गतेसम्म नेपालगञ्जमा कर्फ्यू !

कर्णाली सरकारको निर्णयः रातको १२ बजेदेखि सबै नाका सिल, ग्रुप आइसोलेसन गर्दै आयोजना निर्माण पनि गराउने

मस्चिद मदरसामा कोरोनाः नयाँ ६ जना संक्रमित भेटिएसँगै नेपालमा पुगे ७५

कोरोना किन रोकिएनः नेपालगञ्जमा थप ५ पुरुष र ४ महिलामा संक्रमण पुष्टिः पुगे ६९

रुपन्देही र बाँकेमा भेटिए २ कोरोना संक्रमितः नेपालमा पुगे ५९

कोरोना संक्रमण बढ्दोः एकैदिन देखिए नयाँ ३, कोरोना संक्रमित पुगे ५७

क्वारेन्टाइन बसेर फर्किएकै पुरुषमा कोरोना पुष्टिः रौतहटमा नयाँ २ मा संक्रमण, संक्रमित पुगे ५४

 



प्रकाशित: २०७७ बैशाख २३
May 5th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार