नेपाली समय: ०१:२९:२५ बिहान
वि.सं २०७८ कार्तिक ८   सोमवार

३६ महिनाको सम्झौता पुल बन्यो २४ महिनामैः समय अगावै काम सक्ने कन्ट्र्याक्टरलाई खै त सम्मान ?

निर्माण सञ्चार, १२ पुस, दाङ । निर्माण उद्योगको पछिल्लो समस्या हो समयमै काम सम्पन्न नहुने । समयमै काम नसकेको भन्दै सरकारले कन्ट्र्याक्टरको घाँटी अचेट्ने र कन्ट्र्याक्टरहरु सडकमा ओर्लने समस्या विकासको नियती नै बनेको अवस्थामा कालिका रसुवा जेभी (ज्वाइन्ट भेन्चर) ले दाङमा करार अवधि अगावै पुल निर्माण गरेको छ ।

उक्त जेभीमा रहेको रसुवा कन्ट्रक्सनले ३६ महिनाका लागि करार भएको पुल निर्माण कार्य २४ महिनामै पुरा गरेर नमूना निर्माण कार्य गरेको हो ।

हुन त यही जेभी अन्तर्गत केही स्थानका काम भने तोकिएको समयभन्दा महिनौं पछि पनि नभएका होइनन्, तर यहाँ भने रसुवाले करार अवधि भन्दा आधा कम महिनामै निर्माण सम्पन्न गरेको छ ।

तुलसीपुर घोराही सडकखण्ड अन्तर्गत ग्वारखोला यतिबेला एउटा पक्किी पुल सम्पन्न भएको छ । लामो समय यो बाटोमा पुल नहुँदा मौसमी बाढीले गाडी र मान्छे समेत बगाउने डर बोकेको यो खोलामा पुल बनेपछि यहाँको जनजीवनमा समेत सकारात्मक सन्देश गएको छ ।

पुल २ सय २० मिटर लामो छ । यसको चौडाइ १०.५ मिटर रहेको छ ।

उक्त पुलको ०७४ असार ११ गते ३ वर्षभित्र काम सम्पन्न गर्ने भन्दै सम्झौता भएको रसुवा निर्माण कम्पनीका एक अधिकारीले बताए ।

यो पुलको ०७४ माघ २२ गतेबाट निर्माण कार्य सुरु भएको थियो । फिल्डमा काम गर्दै गरेका जेभी प्रतिनिधि सिनेटमान श्रेष्ठ भन्छन्, ‘यो काम चाहिँ हामीले चाहेजसरी नै समय अगावै सक्यौं । किनभने, यहाँ कसैले व्यवधान पनि गरेन । भनेकै बेला चाहेजस्तै निर्माण सामग्री पनि पाइयो । ज्यामी पनि पाइयो ।’

यतिबेला पुल सञ्चालनमा आइसकेको छ । पुस पहिलो सातादेखि नै पुल सञ्चालनमा आएको हो । काम सुरु गरेको २४ महिना पूरा नहुँदै पुल निर्माणको काम सकिएको थियो ।

श्रेष्ठका अनुसार उक्त पुलको ०७७ असार मसान्त भित्र निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । उनले निर्माण कार्य सकिए लगत्तै प्रगति विवरण सडक विभाग पुल महाशाखालाई बुझाइसकेको बताए ।

तुलसीपुर घोराही सडकखण्डको ग्वारखोलामा करार अवधि अगावै निर्माण सम्पन्न पुल । 
उक्त पुल सडक विभाग पुल महाशाखा सेक्टर नं ३ नेपालगञ्ज अन्तर्गत पर्दछ । यसको लागत २८ करोड ३८ लाख रुपियाँ रहेको छ । 

रसुवा नेपालमा समयमै काम सम्पन्न गर्ने क वर्गको स्तरीय निर्माण कम्पनी भित्र नै पर्ने गरेको छ । यसले ग्वारखोलामै कपडादेवी–मानपुर जोड्ने पुल पनि यही वर्ष नै निर्माण सकेको छ । यो पुल पनि सम्झौता भन्दा १४ महिना अगावै सम्पन्न भएको हो ।

दाङ जिल्लामा तोकिएको समय अगावै पुल निर्माण सम्पन्न भए मध्ये यी २ वटा पुल चाहिँ समयमै बनेका हुन् । तर, दुर्भाग्यको कुरा के छ भने यही सडक खण्ड अन्तर्गत ६ वर्षदेखि सम्झौता भएर पनि अधुरै रहेका पुलको संख्या झन्डै आधा दर्जन जति छन् । निर्माण सुरु भएर पनि आसपासका सडक र पुलहरु अझै बनिसकेका छैनन् ।

 

०००



प्रकाशित: २०७६ पौष १२
December 28th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार