
जनकपुरधामलाई क्यासलेस शहर बनाउने अभियान शुरु
निर्माण सञ्चार, १७ माघ, काठमाडौं । नेपालको पहिलो क्यासलेस शहर जनकपुरधामलाई बनाउने अभियानको सुरु भएको छ ।
धार्मिक तथा पर्यटकीय स्थल जनकपुरधामलाई पनि विश्वका विकसित शहरहरु जस्तै क्यासलेस रुपमा विकसित गर्ने अभियानको निमित्त पैसा कार्डको औपचारिक सुरुवात भएसँगै उक्त अभियान शुरु हुन लागेको हो ।
उक्त अभियानको लागि आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई डिजिटल सोलुसन लिमिटेड र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामवीच साझेदारी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
जनकपुरमा हालै आयोजित एक विशेष कार्यक्रमकाबीच ‘आइएमई पे’का तर्फबाट सीइओ विकास कुमार नाहाटा र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामका तर्फबाट टिम लिडर निर्मल दाहाल सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापछि आइएमई डिजिटल सोलुसनले जनस्तरसम्म वित्तीय पहुंच पुर्याउनका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गर्नेछ । उक्त कार्यक्रमहरु जनकपुरलाई क्यासलेस बनाउन केन्द्रित रहनेछ ।
कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई क्यासलेस शहरको रुपमा विकसित गर्नका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको बताए ।
आइएमईको सीईओ सुमन पोखरेलले बदलिँदो समयमा क्यासलेस आजको आवश्यकता रहेको बताए । उनले जनकपुरधाम क्षेत्रमा यसका लागि चुनौती रहे पनि ठूलो सम्भावना रहेको बताए ।
पोखरेलले यसकालागि सम्बन्धित सबै निकायबाट सहयोगको अपेक्षा समेत गरेका थिए ।
त्यसैगरी, आइएमई डिजिटल सोलुसनका सीईओ विकास कुमार नाहाटाले मानिसहरुलाई डिजिटल वित्तिय प्रणालीमा समाहित गर्न सकियो भने नोट र सिक्का जस्ता भौतिक रुपमा भुक्तानी गर्नुपर्ने झन्झटबाट मुक्त गर्न सकिने छ ।
यो वित्तीय समावेशीकरणले मानिसहरुलाई बैंक खातामा परम्परागत फारम बिनानै बैंकिगमा जडान गर्न मद्दत गर्दछ । आइएमई पैसा कार्ड जनकपुरवासीको जनजीवनको अभिन्न अङ्ग बन्ने र यसले जनकपुरलाई क्यासलेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।
०००
प्रकाशित: २०७६ माघ १७
प्रकाशित: २०७६ माघ १७
January 31st 2020
प्रतिक्रिया दिनुहोस्