
कृषकमुखी पालिकाः बढी उत्पादन गर्ने १२५ कृषकलाई मिक्लाजुङ गाउँपालिकाको आर्थिक सम्मान
निर्माण सञ्चार, ४ चैत्र, २०७७ ।
पछिल्ला दिनमा नेपालमा पनि कृषकहरु सम्मानित हुन थालेका छन् । स्थानीय तहमा आएको कृषिको औद्योगीकरणको चेतनाको पछिल्लो कडी बनेको छ पाँचथरको मिक्लाजुङ गाउँपालिका ।
पालिकाले आफ्नो गाउँपालिकाभित्रका सबैभन्दा बढी उत्पादन गर्ने १२५ कृषकलाई एक लाख दरले पुरस्कार प्रदान गरेको हो ।
पालिकाको ९औं गाउँसभाको अवसरमा बढी उत्पादन गर्ने कृषकहरुलाई पुरस्कृत गरेको स्थानीय पालिकले जानकारी दिएको हो । उक्त पालिकाकाले यसअघि नै विभिन्न मापदण्ड तय गरी कृषकहरुलाई जानकारी गराएको थियो । सो मापदण्ड पूरा गरेका १२५ कृषकहरु पुरस्कृत भएका हुन् ।
कोरोना माहामारीबाट थलिएको कृषि उद्योगलाई पुनर्जीवन दिने उद्देश्यले पालिकाले यो अभियानको थालनी गरेको बताइएको छ । कृषिजन्य उपज उत्पादन वृद्धि गर्न कृषकलाई सम्मान तथा पुरस्कार वितरणसम्बन्धी कार्यविधि–२०७६ अनुसार मापदण्ड पुगेका कृषकलाई पुरस्कार प्रदान गरिएको हो ।
कृषकहरु मध्ये १२५ जनाले मापदण्ड पूरा गरेको पाइएको अध्ययनले देखाएपछि नगद पुरस्कारसहित सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले जानकारी दिए ।
कृषक प्रेरक कार्यक्रम
सो पालिकाले अघिल्लो आर्थिक वर्षमै ४० मुरीभन्दा धेरै धान फलाउने किसानले १ लाख, चार फुट अग्लो र २० फुट लम्बाइको थाङ्ग्रो मकै फलाउने किसानलाई पनि १ लाख अनुदान दिने घोषणा गरेको थियो ।
यतिबेला पालिकाकाले आफ्नो पालिका सरहदभित्र ३५ मनदेखि माथि आलु फलाउनेलाई प्रतिकेजी अनुदानको कार्यक्रम सुरु गरेको छ भने प्रतिकेजी २० रुपैयाँ अनुदान दिन थालेको छ ।
गाउँपालिकाले सूचना जारी गरेपछि किसानले आवेदन दिएका थिए । आवेदन प्राप्त भएपछि किसानको घरमै पुगेर अनुगमन गरिएको थियो ।
कुन कुन विधामा पाए कृषि पुरस्कार ?
पुरस्कृतमध्ये ५९ मकै उत्पादक कृषक छन् भने ६६ जना धान उत्पादक कृषक छन् । सबैभन्दा बढी मिक्लाजुङको वडा नं ८ का २७ कृषकले तोकिएको मात्रामा मकै उत्पादन गरेका छन् ।
मकै उत्पादकतर्फ वडा नं १ का तीन, वडा नं २ का चार, वडा नं ३ का १०, वडा नं ५ का तीन, वडा नं ६ का पाँच, वडा नं ७ का सात र वडा नं ८ का २७ कृषकले पुरस्कार पाएका हुन् ।
यस्तै धान उत्पादकतर्फ वडा नं २ का सात, वडा नं ३ का १४, वडा नं ४ का १४, वडा नं ५ का १८, वडा नं ६ का सात र वडा नं ७ का सात कृषकले पुरस्कार पाएको प्रमुख प्रशासकीय अधिकृत तिखत्रीको भनाइ छ ।
अघिल्लो वर्ष वैशाख अन्तिम साता बसेको गाउँकार्यपालिकाको बैठकले मापदण्ड पूरा गर्ने कृषकलाई पुरस्कार दिने निर्णय गरेको थियो ।
गाउँपालिकाको कृषक प्रोत्साहन नीतिले कृषकहरूमा उत्साह भरिएको मिक्लाजुङ–२ का कृषक रमेश अधिकारीको प्रतिक्रिया छ । पालिकाले यस्तो अभियान ल्याएपछि कृषकहरु खुशी भएका छन् । प्रेरित बनेका छन् ।
उक्त पुरस्कार १२५ जनालाई करिब एक करोड २५ लाख रुपियाँ दिइएको छ । जुन प्रत्यक्ष कृषकका हातमा पुगेको छ ।
०००
प्रकाशित: २०७७ चैत्र ४
प्रकाशित: २०७७ चैत्र ४
March 17th 2021
प्रतिक्रिया दिनुहोस्